मोबाइल इन्टरनेटको हिस्सा मात्र ४२ प्रतिशत पुग्यो, फिक्स्ड ब्रोडब्यान्डको देखिएन चहलपहल

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कमा नेपालभर ब्रोडब्यान्डको पहुँच ५४ प्रतिशत पुगेको छ, जसमा फिक्स्ड ब्रोडब्यान्ड वायर्डको १० दशमलव ९२ प्रतिशत पुगेको छ भने वायरलेसतर्फ एक दशमलव २७ छ । त्यस्तै सबैभन्दा बढी मोबाइल ब्रोडब्यान्डतर्फ ४२ दशमलव ३१ प्रतिशत रहेको एनटीएले जानकारी दिएको छ ।

पछिल्लो समय मोबाइल ब्रोडब्यान्ड इन्टरनेटले गति लिँदै गएको छ । एक वर्षसम्मको अवधिमा मोबाइलमार्फत इन्टरनेट चलाउनेको पहुँच, फिक्स्ड ब्रोडब्यान्डको तुलनामा तीन गुणाले बढेको छ ।

नेपालमा अहिलेसम्म तीन सेवाप्रदायकले मात्र फोरजी सेवा उपलब्ध गराएका छन् । त्यसमध्ये नेपाल टेलिकम, एनसेलको बढी हिस्सा छ । गाउँगाउँमा फोरजीभन्दा थ्रीजीको पहुँच उल्लेख्य रुखमा छन्, जसकारण नेपालमा मोबाइलमार्फत इन्टरनेट चलाउने बढ्दै गएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कमा नेपालभर ब्रोडब्यान्डको पहुँच ५४ प्रतिशत पुगेको छ, जसमा फिक्स्ड ब्रोडब्यान्ड वायर्डको १० दशमलव ९२ प्रतिशत पुगेको छ भने वायरलेसतर्फ एक दशमलव २७ छ । त्यस्तै सबैभन्दा बढी मोबाइल ब्रोडब्यान्डतर्फ ४२ दशमलव ३१ प्रतिशत रहेको एनटीएले जानकारी दिएको छ ।

अहिले नेपालभरबाट ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने एक करोड ५९ लाख चार सय ४५ छन् । यसमध्ये फिक्स्ड ब्रोडब्यान्ड सेवामा एडीएसएल, केबल र लेन्समार्फत इन्टरनेट प्रयोग गर्ने ३१ लाख ९९ हजार पाँच सय ८४ पुगेका छन् । प्राधिकरणको असोज महिनाको एमआईएस रिपोर्टमा फिक्स्ड ब्रोडब्यान्ड वायरलेसतर्फ तीन लाख ७१ हजार ४६ जना पुगेका छन् ।

नेपालमा पछिल्ला वर्षमा उल्लेख्य रूपमा मोबाइल ब्रोडब्यान्ड चलाउने बढेका छन् । चार सेवाप्रदायक कम्पनीका कुल मोबाइल इन्टरनेट प्रयोग गर्ने एक करोड २३ लाख ९२ हजार आठ सय १५ पुगेका छन् । त्यसमा पनि नेपाल टेलिकम र एनसेलक थ्रीजीमार्फत ब्रोडब्यान्ड इन्टरनेट चलाउने एक करोड एक लाख ३२ हजार दुई सय ८९ जना छन् । त्यसैगरी फोरजी प्रयोगकर्ता २० लाख ६० हजार सात सय ५० र इभ्डोमार्फत एक लाख ९९ हजार सात सय ७६ जना पुगेको तथ्याङ्कले देखाएको छ ।

यस आधारमा हेर्ने हो भने नेपालमा इन्टरनेटको प्रयोग मासिक एक प्रतिशतले मात्र बढ्दै गएको देखिन्छ । गत भदौमा देशभरबाट ब्रोडब्यान्ड इन्टरनेट चलाउने ४१ प्रतिशत थियो । सङ्ख्यात्मक हिसाबमा हेर्ने हो भने मासिक चार लाखको सङ्ख्यामा इन्टरनेट प्रयोगकर्ता बढेका छन् । भदौमा एक करोड ५५ लाख ५८ हजार आठ सय ४४ जना थिए ।

टेलिकमले एक वर्षभित्र देशभर फोरजी सेवा विस्तार गर्ने योजना बनाइरहेको छ । यसका लागि टेन्डर आह्वान भई दुई चिनियाँ कम्पनीलाई फोरजीका लागि छनोट गरिसकेको छ ।