बारा जिल्लाको पाँच हजार हेक्टरमा हिउँदे तरकारी

यहाँका किसानले हिउँदे तरकारीमा काउली, बन्दा, भन्टा, मूला, गोलभेँडा, केराउलगायत खेती गरेका छन् ।

यस वर्ष बारा जिल्लामा कुल पाँच हजार ४६० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको छ । यहाँका किसानले हिउँदे तरकारीमा काउली, बन्दा, भन्टा, मूला, गोलभेँडा, केराउलगायत खेती गरेका छन् ।

हिउँदे तरकारी खेतीबाट प्रतिहेक्टर १५.३० मेट्रिक टनका दरले कुल ८३ हजार ५३८ मेट्रिक टन तरकारी उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । हालसम्म किसानले ५० हजार १३२ मेट्रिक टन तरकारी उत्पादन गरिसकेका छन् । हाल कलैया बजारमा काउली प्रतिकिलो २५ देखि ३० रुपैयाँ, भन्टा २० देखि २५, गोलभेँडा ४०, केराउ ७० र मूला १५ देखि २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

आव २०७३÷७४ मा कृषकले कुल पाँच हजार ४७५ हेक्टरमा हिउँदे तरकारी खेती गरी कुल ८३ हजार ८२२ मेट्रिक टन तरकारी उत्पादन गरेका कार्यालय प्रमुख शिवरत्न साहले बताए ।