इटालियन ठेकेदार सीएमसी टाट पल्टियो, मेलम्ची, तनहुँ र सोलु दूधकोसी जलविद्युत् आयोजनाको भविष्य के होला ?

तनहुँमा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना र ६८ मेगावाटको सोलु दूधकोसी जलविद्युत् आयोजना निर्माणको ठेक्का सीएमसीले नै पाएकाले ती आयोजनाको भविष्य के होला भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

काठमाडौं : इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी सिमेस्ट्री (सीएमसी) टाट पल्टिएको छ । वित्तीय रुपमा टाट पल्टिएपछि उसले नेपालमा ठेक्का पाएका आयोजनाको भविष्य अन्योलमा परेको छ । मेलम्ची खानेपानी आयोजनादेखि, १४० मेगावाटको तनुहँ जलविद्युत् र ६८ मेगावाटको सोलु दुधकोसी जलविद्युत् आयोजना निर्माणको काम प्रभावित हुने देखिएको छ ।

सीएमसीले हात पारेका ठूला आयोजनाको भविष्य के होला भन्ने सर्वत्र प्रश्न उब्जिएकाे छ । साहास ऊर्जा लिमिटेडले बनाउन थालेको आयोजनाको निर्माणको ठेक्का सीएमसीले पाएको छ । यता तनहुँ जलविद्युत् आयोजनाको मूल बाँध र अस्थाइ बाँध निर्माणको ठेक्का पाएको छ । ठेक्का सम्झौता भएपछि काम सुरु गर्न परिचालन पेश्की नपाएको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ । सीएमसी टाट पल्टिएको पुष्टि भएमा ठेक्का सम्झौता रद्द हुने तनहुँका वरिष्ठ सूचना अधिकृत सचेन गौतमले जानकारी दिए ।

सीएमसीको नेपालमा ३५ अर्बका ठेक्का

मेलम्चीबाहेक विभिन्न आयोजनामा सीएमसीले करिव ३५ देखि ४० अर्ब रुपैयाँको ठेक्का लिएको छ । तनहुँ जलविद्युत् आयोजनामा मात्रै २० अर्ब ६८ करोड रुपैयाँको ठेक्का पाएको छ । बाँध र हेडवक्र्स निर्माणका लागि कम्पनीले ठेक्का पाएपनि कुनै काम र भुक्तानी भने नभएको आयोजनाले जनाएको छ । त्यस्तै, सोलु दुधकोसी आयोजनामा ७ अर्ब रुपैयाँ ठेक्का सम्झौता भइ काम अघि बढाएको छ । सोलु दुधकोसी आयोजना निर्माणको सुरुङमार्ग निर्माणको जिम्मा सीएमसीले पाएको हो ।

यसअघि ५२.४ मेगावाटको लिखु ४ जलविद्युत् आयोजनाको ठेक्का पाएपनि टाट पल्टिएको सूचना पाएपछि प्रवद्र्धक ग्रिन भेन्चर्स प्राइभेट लिमिटेडले सिएमसीलाई आयोजनाबाट हटाएको थियो । उसले निर्धारित समयमा जमानत राख्न नसकेपछि ठेक्काबाट हटाइएको हो । सो आयोजनामा पनि कम्पनीले ८ अर्ब रुपैँयाको ठेक्का पाएपनि कम्पनीकै वित्तिय संकटकै कारण आयोजनाबाट हट्नुपर्यो ।

अझै मेलम्ची लम्बिने चिन्ता

३ महिनाभित्र मेलम्चीको पानी उपत्यकामा झार्ने लक्ष्य लिएपनि आयोजना निर्माणको अन्तिम चरणमा आएर सीएमसी भाग्न खोजेपछि अझै आयोजना लम्बिने देखिएको छ । मेलम्ची खानेपानी आयोजनाको अहिले ९६ प्रतिशत भौतिक प्रगति पुरा भएपनि अझै महत्वपूर्ण कामहरु बाँकी नै छन् ।

गत बर्षनै साढे २७ किलोमिटर सुरुङमार्गको ब्रेक थु्र भएर उपत्यकामा पानी आउने आशा पलाएको थियो । अझै पनि सुरुङ मार्गका भित्रि सतहमा ७०० मिटर इन्भर्ट लाइननिङ गर्न बाँकी छ । ७ दिन भित्र सम्पन्न गर्न सकिने लाइनिङको काम सुरु नगर्दै कम्पनी भाग्ने भएपछि त्यो काम अलपत्र छ । मेलम्ची खोलाको पानी सुन्दरीजलमा पठाउनका लागि गेट लगाउने काम, भेन्टिलेसन पाईप जोड्ने र पानी परिक्षण तथा पानी प्रवाहको नियमन गर्ने उपकरण जडान ईन्स्ट्रमेन्टेशनको काम समेत गर्न बाँकी छ । कम्पनीले आफ्ना कामदारलाई भुक्तानी नदिँदा लामो समयसम्म त काम नै सुरु अघि बढ्न सकेन् । पछि आयोजनाको काम सुरु गरेपछि पनि सिएमसीले आफ्ना कामदारलाई भुक्तानी नदिँदा लामै समय निर्माण रोकिनुपरेको थियो ।

यता, खानेपानी मन्त्रालयले तीन महिनाभित्र मेलम्ची सक्नेगरी ठेकेदारसँग सम्झौता गरेको बताएपनि त्यो कार्यान्वयन हुन सकेन् । समयभित्रै मेलम्चीको पानी आउनका लागि बाँकी काम पुरा हुनुपर्छ । तर, बीचमै ठेकेदार टाट पल्टिएपछि आयोजना अझै अनिश्चित बन्ने पक्का छ । ठेकेदार कम्पनीका प्रतिनिधी भाग्न लागेपछि सरकारले आयोजना प्रमुखलाई पक्राउ गरी उनीहरुको पासपोर्ट समेत खोसेको छ ।

सरकारको व्यवस्थापकीय क्षमता राम्रो नभएका कारण पनि विदेशी ठेकेदार कम्पनी तथा परामर्शदाता नटिक्ने पूर्वाधारविद् डा. सुर्यराज आचार्यले बताए । उनले सीएमसीको ठेक्का तोडेपछि मेलम्ची आयोजना अझै अनिश्चित बनेको बताए । ‘ठूला आयोजनामा सरकारले कुनै पनि प्रकारणले व्यवस्थापकीय कमजोरी छाड्नुहुन्न’ उनले भने, ‘मेलम्चीको हालत पनि उस्तै भयो । सरकारले स्पष्ट रुपमा समयमै बजेट, ठेकेदार छनौट र व्यवस्थापकीय कुरामा ध्यान दिनै पर्छ ।’ उनले अन्य ठूला आयोजना बनाउँदा विदेशी कम्पनी भन्दा स्वदेशी तथा निजी कम्पनीसँग समन्वय गर्नुपर्ने पनि आचार्यले बताए ।