लुम्बिनीका चार्जिङ् स्टेसन प्रयाेगविहीन, साझाको बस राजधानीको ग्यारेजमा

१५ देखि १८ लाख लगानीमा निर्माण गरिएको चार्जिङ् स्टेसनले अहिले कुनै काम गरेको छैन । बस काठमाडौंमा उद्घाटन भएर बसेका छन् भने चार्जिङ मेसिन लुम्बिनीमा प्रयोगविहीन अवस्थामा छ ।

काठमाडाैं : लुम्बिनी बिकास कोषले ल्याएका विद्युतीय बसको चार्जिङ् स्टेसन लुम्बिनीमा प्रयोग विहीन रहेको पाइएको छ । गत दुई महिनाअघि सार्वजनिक विद्युतीय बस चार्ज गर्न उक्त मेसिन जडान गरिएको थियो । तर, अहिले लुम्बिनीमा करिब चार महिना अघिदेखि सो स्टेसन ठडिएर बसेको छ । १५ देखि १८ लाख लगानीमा निर्माण गरिएको चार्जिङ् स्टेसनले अहिले कुनै काम गरेको छैन । बस काठमाडौंमा उद्घाटन भएर बसेका छन् भने चार्जिङ मेसिन लुम्बिनीमा प्रयोगविहीन अवस्थामा छ ।

कार्तिक ६ गते सार्वजनिक गरिएका यी बस लुम्बिनीमा चलाइने भनिए पनि अहिले साझा यातायातको ग्यारेजमा घाम तापेर बसिरहेका छन् भने चार्जिङ् मेसिन लुम्बिनीमा राखिएको छ । बसमा अहिले ब्याट्रीसमेत डाउन भई सञ्चालनसमेत नहुने अवस्थामा अइसेकेको स्रोतको भनाइ छ ।

पर्यटकीय क्षेत्र लुम्बिनीमा आउने पर्यटकलाई सो क्षेत्र घुमाउन लुम्बिनी बिकास कोषको लगानी तथा समन्वयमा भित्र्याइएका ती बस अहिले सरकारको कमजोरीका कारण त्यसै थन्किएको व्यवसायीको भनाइ छ ।

साझा यातायातका कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले सरकारी पक्षबाटै पहल नभएको बताउँछन् । ‘उचित पहल नभएकाले बस थन्किन बाध्य छन्,’ उनले भने । विद्युतीय बस भित्र्याउन आतुर रहेका विभिन्न यातायात व्यवसायी पनि सरकारको अपुष्ट तथा अधुरो प्रतिबद्धताले बस ल्याउन निरुत्साहित भएका छन् ।