सरकार र निजी लगानीबाट २३६ मेगावाट बिजुली थप हुँदै, ७.८ मेगावाट प्रणालीमा जोडियो, यी हुन् आयोजना (सूचिसहित)

चालू आर्थिक वर्षमा सम्पन्न हुने गरी २० मेगावाटको माथिल्लो मोदी, २५ मेगावाटको काबेली बी १, ८.८ मेगावाटको रुदीखोली ए, ९.९ मेगावाटको इवाखोला, २१.६ मेगावाटको तल्लो हेवाखोला, ८ मेगावाटको माथिल्लो नौगाड आयोजना बनिरहेका छन् ।

काठमाडौं : चालू आर्थिक वर्षमा सार्वजनिक निजी साझेदारीमा साना तथा ठूला १८ आयोजना सम्पन्न भई प्रणालीमा २३६ मेगावाट बिजुली थप हुने भएको छ ।

सार्वजनिक क्षेत्रअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको १४ मेगावाटको कुलेखानी तेस्रो र बाँकी निजी क्षेत्रबाट १७ आयोजना सम्पन्न भई २२२ मेगावाट बिजुली थप हुने विद्युत् प्राधिकरणका प्रवत्ता प्रबल अधिकारीले बताए । आर्थिक वर्ष सुरु भएयता ७.८ मेगावाटको सुपरमाई आयोजना मात्र सम्पन्न भएको उनले जानकारी दिए ।

चालू आर्थिक वर्षमा सम्पन्न हुने गरी २० मेगावाटको माथिल्लो मोदी, २५ मेगावाटको काबेली बी १, ८.८ मेगावाटको रुदीखोली ए, ९.९ मेगावाटको इवाखोला, २१.६ मेगावाटको तल्लो हेवाखोला, ८ मेगावाटको माथिल्लो नौगाड आयोजना बनिरहेका छन् ।

यो वर्ष सम्पन्न हुने अन्य आयोजनामा ६.४ मेगावाटको मैलुङखोला ए, २२.२ मेगावाटको माथिल्लो चाकुखोला ए, ४० मेगावाटको खानीखोला, ३.२ मेगावाटको गेलुनखोला, २२ मेगावाटको बाग्मती खोला, ३.३ मेगावाटको खप्तडगाड र २३.५ मेगावाटको सोलुखोला आयोजना रहेको अधिकारीले जानकारी दिए । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना आउँदो असारसम्म सम्पन्न हुने लक्ष्य राखिएकोमा लट २ अन्तर्गत भारतको टेक्सम्याको कम्पनी लिमिटेडले हाइड्रोमेकानिकल उपकरण आपूर्ति गर्न नसकेपछि ढिलाइ हुन पुगेको छ ।

सरकारले बजेटमा ७५४ मेगावाट बिजुली थप हुने उल्लेख गरेपनि सो लक्ष्य पूरा नहुने भएको छ । सरकारले यो वर्ष सार्वजनिक निजी साझेदारीमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र १४.८ मेगावाटको माथिल्लो सान्जेन र बाँकी २८५ मेगावाट क्षमताका १६ आयोजना निजी लगानीमा सम्पन्न हुने अनुमान गरेको थियो ।

गत वर्ष ०७४÷०७५ मा सार्वजनिक र निजी क्षेत्रबाट १६ आयोजना सम्पन्न भई प्रणालीमा १०० मेगावाट बिजुली थप भइसकेको छ । यसमध्ये निजी क्षेत्रबाट १५ आयोजना सम्पन्न भई ७० मेगावाट र विद्युत् प्राधिकरणको लगानीमा ३० मेगावाटको चमेलिया आयोजना सञ्चालनमा आएका छन् ।

बिजुलीको माग ११५१ मेगावाट मात्र
लोडसेडिङ अन्त्यपछि उपभोग शैलीमा आएको परिवतर्नले बिजुली माग घट्दै गएको छ । बिजुलीको माग बढी खपत हुने साँझ (पिक आवर) मा १ हजार १५१ मेगावाट मात्र रहेको विद्युत् प्राधिकरणले जनाएको छ । जसमध्ये भारतबाट ५३३ मेगावाट आयात भइरहेको छ ।

विद्युत् प्राधिकरणका आयोजनाबाट ४०५ र निजी लगानीका आयोजनाबाट २१३ मेगावाट बिजुली आपूर्ति भइरहेको प्रवत्ता अधिकारीले जानकारी दिए । २ वर्षअघि लोडसेडिङ हुँदा बिजुलीको माग बढेर १ हजार ४०० मेगावाटसम्म पुगेको थियो ।

वर्षेनि बिजुलीको माग बढ्दै जानुपर्नेमा लोडसेडिङ हटेपछि पिक माग घट्दै गएको हो । उपभोक्तामा बिजुली उपयोग गर्ने शैलीमा आएको परिवर्तनले माग कम हुँदै गएको उनको भनाइ छ । लोडसेडिङ हटेपछि माग बढी हुने समय साँझमा उपभोक्ताले हिटर, आइरन, पानी तान्ने मेसिनको प्रयोग अन्य समयमा गर्दा बिजुलीको मागमा कमी आएको छ । बिजुली खपत कम गर्ने एलईडी चिमको प्रयोग बढ्दा यसको असर देखिएको हो । यस्तै बिजुली चुहावटमा पनि कमी आएको प्राधिकरणले जनाएको छ ।