काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सवारी साधनले यात्रु कुर्ने क्रममा लामो जाम भएर हुने समय तथा इन्धनको बर्वादी एवम् वायुप्रदूषणजस्ता समस्या न्यूनीकरण गर्न यो कार्यक्रम लागू गरेको बताए पनि भाडाका गाडी टुँडिखेल वरपर लामो समयसम्म यात्रु कुरेर बसिरहेका देखिन्छन् ।
काठमाडौं : आइतबारदेखि काठमाडौं महानगरपालिका र यातायात विभागको समन्वयमा पिक एन्ड ड्रप अभियान सुरु गरेपनि सवारीसाधनको हालत उस्तै छ । राजधानीको जामलाई मध्यनजर राख्दै यो कार्यक्रम सुरु गरिए पनि टुँडिखेल तथा रत्नपार्क वरपर कुनै पनि यातायातले यो नियम मानिरहेका छैनन् । माइक्रोदेखि ठूला बस सबैले यस अभियानलाई बेवास्ता गरिरहेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सवारी साधनले यात्रु कुर्ने क्रममा लामो जाम भएर हुने समय तथा इन्धनको बर्वादी एवम् वायुप्रदूषणजस्ता समस्या न्यूनीकरण गर्न यो कार्यक्रम लागू गरेको बताए पनि भाडाका गाडी टुँडिखेल वरपर लामो समयसम्म यात्रु कुरेर बसिरहेका देखिन्छन् ।
ट्राफिक महाशाखाका प्रमुख बसन्त पन्तले टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा हुने समस्या विस्तारै समाधान हुँदै गएको बताउँछन् । तर, सोही क्षेत्रमा यो नियम उल्लङ्घन भइरहेको छ ।
पहिलो चरणमा विभिन्न ११ ओटा रुटमा पिक एन्ड ड्रप कार्यक्रम लागू हुने बताइएको थियो । एक सवारी साधनले एक स्थानबाट मात्र यात्रु ओराल्न र चढाउन पाउने भनिए पनि माइक्रोलगायत ठूला बसको अवस्था पहिला जस्तै छ ।
ट्राफिकले पनि यसमा कुनै चासो देखाएको छैन । टुँडिखेलबाट सिंहदरबार हुँदै बानेश्वर जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँ बायाँ भृकुटीमण्डपको स्टप र माइतीघरबाट बबरमहलको बीचमा मात्र यात्रु ओराल्न र चढाउन पाउने ट्राफिक प्रमुखको भनाइलाई चालकले मानेका छैनन् ।
पुरानो बसपार्कभित्र यात्रु चढाउने र ओराल्ने सवारी साधनका लागि पुरानो बसपार्कभित्रको स्टप र टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टप तथा लामो दूरीका ठूला यात्रुबस एकतर्फ भृकुटीमण्डप र फर्कंदा नेपाल वायु सेवा निगम हुँदै चल्ने सवारी साधनले एकतर्फ वायुसेवा निगम अगाडि र अर्कोतर्फ भृकुटीमण्डपबाट यात्रु ओराल्ने र चढाउनुपर्ने बताइएको छ ।
यस्तै दोस्रो स्टपका लागि टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टपबाट मात्र यात्रु ओराल्ने र चढाउनुपर्ने व्यवस्था अहिले होर्डिङ् बोर्डमा मात्र सीमित छ । वायुसेवा निगम अगाडि ठूलो होर्डिङ् बोर्डमा पिक एन्डको ड्रप लेखिएको ब्यानरले यही दर्शाउँछ ।
तत्काल यो नियम सबै चालकले थाहा नपाएको र नियम पूर्णरुपमा लागू हुन केही समय लाग्ने ट्राफिक प्रमुख पन्त बताउँछन् । ‘हामी निरन्तर लागिरहेका छौँ, जसरी हुन्छ सार्वजनिक यातायातको बेथितिलाई समाप्त गर्नु हाम्रो लक्ष्य हो,’ उनले भने ।