मेलम्चीको ठेकेदार सीएमसीका कारण तनहुँ र सोलु दूधकोसी जलविद्युत् आयोजना पनि अन्धकारमा

सीएमसीले मेलम्ची खानेपानी आयोजनाबाट भाग्न खोजेपछि त्यसले ठेक्का लिएका तनहुँ र सोलु दूधकोसी जलविद्युत् आयोजनाको भविष्य अन्योल भएको हो ।

काठमाडौं : टाट पल्टिएर नेपालबाट भाग्न खोजेको इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरोतोरी सिमेन्टिस्टी (सीएमसी) का कारण दुई जलविद्युत् आयोजना पनि समस्यामा पर्ने देखिएको छ ।

सीएमसीले ठेक्का पाएको १४० मेगावाटको तनहँु र ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत् आयोजनाको काम प्रभावित हुन पुगेको छ । ठेकेदारका कारण दुवै आयोजना समस्यामा परेका छन् । दुई आयोजना बनाउन सीएमसीले २८ अर्ब रुपैयाँको ठेक्का पाएको थियो । सीएमसीले मेलम्ची खानेपानी आयोजनाबाट भाग्न खोजेपछि त्यसले ठेक्का लिएका तनहुँ र सोलु दूधकोसी जलविद्युत् आयोजनाको भविष्य अन्योल भएको हो ।

सीएमसी टाट पल्टिएको पुष्टि भएमा सम्झौताअनुसार ठेक्का तोडेर पुनः बोलपत्रमा जाने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके बताउँछन् । ‘सीएमसीले बनाउन नसक्ने भनेर प्रतिक्रिया दिएको छैन । हामीले पनि कम्पनीसँग यस विषयमा ठोस निर्णय मागिरहेका छौं,’ उनले भने, ‘यदि टाट पल्टेर नै बनाउन नसकेको हो भने कानुनी हिसाबले पुनः ठेक्का गर्नुको विकल्प रहन्न । तर, हामी सीएमसीको निर्णय कुरिरहेका छौं ।’

सीएमसीले तनहुँ आयोजनामा नदी फर्काउन स्थाई बाँध निर्माण र मूल बाँध निर्माण गर्न पहिलो प्याकेजको ठेक्का लिएको छ । यो कामका लागि तनहुँ र सीएमसीबीच २० अर्ब ६४ करोड रुपैयाँको ठेक्का सम्झौता भएको हो । सीएमसीसँग २३ जुलाई, २०१८ मा ठेक्का सम्झौता गरेपनि तनहुँले परिचालन पेश्की भुक्तानी गरेको छैन ।

यस्तै निजी लगानीमा निर्माण भइरहेको ८६ मेगावाटको सोलु दूधकोसी आयोजना पनि सीएमसीले नै ठेक्का पाएको आयोजना हो । उसले ठेक्का पाएको १ वर्ष बितिसकेको छ । करिब ८ अर्ब रुपैयाँमा उसले इन्जिनियरिङ प्रक्युरमेन्ट कन्ट्रयाक्ट (ईपीसी) खाकामा ठेक्का पाएको हो । दसैंपछि सीएमसीले आयोजनामा काम नगरेको स्रोतले बतायो । हाल आयोजनाको काम अवरुद्ध भएको छ ।

१ वर्षअघि नै सीएमसी टाट पल्टेको थियो
वित्तीय अवस्था नाजुक भएर काम गर्न नसक्ने अवस्था आएपछि प्रवद्र्धक ग्रीन भेन्चर्सले इटालीको सीएमसी डी रेभेनालाई लिखु ४ जलविद्युत् आयोजनाबाट हटाएको थियो । आयोजना निर्माणको ठेक्का पाएको सीएमसीको वित्तीय अवस्था कामजोर भई काम गर्न नसक्ने देखेपछि ग्रीन भेन्चर्सले आयोजनाबाट हटाएको हो । वित्तीय अवस्था नाजुक भएपछि सीएमसीले धरौटी राख्न नसकेपछि ग्रीन भेन्चर्सले ठेक्का सम्झौता तोडेको थियो ।