सुरु भयो पोखरा महोत्सव

करिब दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवबाट एक करोड १४ लाख आम्दानी र ७९ लाख खर्च भई ३५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य छ ।

युनाइटेड क्लबको आयोजनामा आठौँ संस्करणको ‘पोखरा महोत्सव’ आजदेखि यहाँस्थित अमरसिंह चौरमा सुरु भएको छ । महोत्सवबाट सङ्कलित रकम विशेषगरी चिडियाखाना निर्माणमा खर्चिइने छ । यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, खेलकुद, प्राकृतिक स्रोतको संरक्षण, सडकमा सौर्यबत्ती जडान र पर्यटन प्रवद्र्धन जस्ता सामाजिक क्रियाकलापमा सहयोग गर्ने क्लबले जनाएको छ ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले महोत्सवको उद्घाटन गर्दै चिडियाखाना निर्माणमा राज्यको महत्त्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिए । सामुदायिक वनमा चिडियाखाना सञ्चालन गर्दा देखिने कानुनी अड्चनलाई सङ्घ र प्रदेशसभाले सहज बनाउने बताउँदै उनले त्यसका लागि सम्बन्धित निकाय र विभिन्न सामाजिक सङ्घसंस्थाबाट सुझावको अपेक्षा गरिएको बताए ।

चिडियाखाना विज्ञ जुद्धबहादुर गुरुङले सरकारले प्रत्येक प्रदेशमा कम्तीमा एउटा चिडियाखाना निर्माण गरेर आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा जोड दिने अभियान सुरु गरिएको बताए । पोखराको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी क्लबले पोखरा लेखनाथ महानगरपालिका ३१ वडास्थित पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वनलाई समेटेर खुल्ला चिडियाखाना निर्माणका साथै सेती नदी सरसफाइ अभियानमा जुट्दै आएको क्लबका पूर्वअध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । हालसम्म क्लबको ३५ लाख ८५ हजार, वन मन्त्रालयको २० लाख र तत्कालीन लेखनाथ नगरपालिकाको १० लाख रुपैयाँ गरी कुल ६५ लाख ८५ हजार रुपैयाँ खर्च भइसकेको क्लबका अध्यक्ष शुकबहादुर गुरुङले बताए ।

प्रदर्शनीमा खानाका विभिन्न परिकारसहित ‘फ्री वाइफाई’का साथै राष्ट्रिय कलाकारका विभिन्न मनोरञ्जनात्मक प्रस्तुति अवलोकन गर्न पाइने छ । दुई सय ३० ओटा व्यापारिक कक्ष रहेको सो महोत्सवमा दर्शकका लागि हात्ती सफारीको समेत व्यवस्था गरिएको क्लबका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले जानकारी दिए । करिब दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवबाट एक करोड १४ लाख आम्दानी र ७९ लाख खर्च भई ३५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको क्लबका महासचिव राजु श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारी, विन्दुकुमार थापा, मनबहादुर गुरुङ, रामजी बराल, दीपक कोइरालालगायतले सामाजिक सेवाका क्षेत्रमा क्लबले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तस्बिर : रासस