घण्टौँ हिँडेर दूध बेच्न बजार

दूध बोकेर बजार आउन डेढ घण्टा लाग्छ । दूधसँगै घरमा उब्जेको तरकारी पनि बिक्रीका लागि उनीसँगै बजारमै आइपुग्छ । “बागलुङ बजारमा दूध बेच्न लागेको २५ वर्ष भयो”, सापकोटा भन्छन्, “दूध र तरकारी गरेर मासिक ५० हजार रूपैयाँ जति कमाइ हुन्छ ।” 

बागलुङ : उज्यालो नहुँदै डोकोमा दूध बोकेर बजार हिँछन् ७० वर्षीय मोतीलाल सापकोटा । विसं २०५० देखि उनको दैनिकी यसरी नै चलेको छ । उमेर ढल्के पनि बागलुङ नगरपालिका–३ बोक्सेका सापकोटाको जाँगर भने उस्तै छ ।

दूध बोकेर बजार आउन डेढ घण्टा लाग्छ । दूधसँगै घरमा उब्जेको तरकारी पनि बिक्रीका लागि उनीसँगै बजारमै आइपुग्छ । “बागलुङ बजारमा दूध बेच्न लागेको २५ वर्ष भयो”, सापकोटा भन्छन्, “दूध र तरकारी गरेर मासिक ५० हजार रूपैयाँ जति कमाइ हुन्छ ।”

सापकोटाको घरमा तीन भैँसी छन् र चार रोपनी जग्गामा तरकारी खेती हुन्छ । “दैनिक १० लिटर दूध बेच्छु”, उनी बताउन्नुछन्, “दूधसँगै तरकारी पनि बेच्छु ।” बिहानै बजारका घर र डेरा गरी बस्नेका कोठाकोठामा उनी दूध पुर्याउँछन् । इच्छा हुनेले तरकारी पनि सापकोेटाबाटै किन्छन् ।

बजारमा उनीसँग दूध किन्ने नियमित ग्राहक छन् । कसैले एक लिटर त कसैले आधा लिटर दूध दैनिक राख्छन् । पैसा भने महिनाभरको एकैसाथ बुझाउँछन् । बिहानभर बजारमा दूध, तरकारी बेचेपछि खाना खाने समयमा सापकोटा घरै पुग्छन् र बाँकी दिन भैँसी र तरकारीबालीको रेखदेख तथा स्याहारमै बित्छ ।

साधारण खेती किसानी बाउबाजेबाटै सिकेका उनले दूध बेच्दा कमाइ हुन थाले पनि भैँसीपालनलाई व्यावसायिक बनाएका हुन् । “तीन चार अाेटाभन्दा धेरै भैँसी बढाएको छैन”, सापकोटा भन्छन्, “मलाई यति नै ठिक्क छ, तरकारीबाट पनि राम्रै आम्दानी भइरहेको छ ।”

गोलभेँडा, साग, बन्दा, काउली, करेला, धनियाँलगायत तरकारी उब्जाउ गर्दै आएका उनलाई टनेल बनाउन केही वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुदान दिएको थियोे । केही समय काममा सघाउन एक मजदूर राखे पनि अहिले सापकोटा आफैँले सबै काम धान्दै आएका छन् । “श्रीमती र बुहारीले पनि सघाउँछन्, धेरैजसो काममा म आफैँ खटिन्छु”, सापकोटा भन्छन्, “७० वर्षको भएँ, अझै मेहनत र परिश्रम गर्नुपर्छ भन्ने सोँच आउँछ ।” बुढ्यौलीमा पनि कृषि पेशाप्रति उनको लगाव देखेर अरु गाउँले पनि प्रेरित छन् ।

स्वास्थ्यले साथ दिउञ्जेलसम्म कृषि पेशा नै गर्ने सापकोटाको अठोट छ । व्यक्तिगत लगानी, श्रम र मेहनतकै भरमा उनी कृषिमा टिक्न सफल भएका हुन् । “उनी सधैँ हँसिलो, फूर्तिलो देखिन्छन्, ग्राहकसँग गर्ने व्यवहार पनि राम्रो छ”, बागलुङ बजारकी कुमारी पौडेल भन्छिन्, “ सापकोटाले ल्याउने दूधमा कुनै मिसावट छैन, तरकारी पनि ताजा ल्याउनुहुन्छ ।” श्रीमती दलदेवी, कान्छा छोरा प्रेम, बुहारी र नातिनातिनासँगै बस्दै आएका सापकोटाका जेठा छोरा रामकृष्ण र कान्छा छोरा प्रेम ‘पलम्बर’ हुन् । माइला छोरा लक्ष्मण जापानमा छन् । “मेहनत गर्न बुबाबाटै सिक्यौँ” रामकृष्ण बताउँछन्, “बुबा अहिले पनि काममा उत्तिकै खटिनुहुन्छ, काममै एकमन दिनुहुन्छ ।”

सापकोटा बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घका सेयर सदस्यसमेत हुन् । सहकारीमै दूध पठाउन चाहे पनि दूधको गाडी चल्ने सडक पायकमा नपरेपछि डोकोमै बोकेर बजार ल्याउनुपरेको उनको भनाइ छ । रासस