काठमाडौं उपत्यकामा ५४ सहकारीकाे साझेदारीमा डेरी उद्योग खुल्दै,  दैनिक ४० हजार लिटर दूध आपूर्ति हुने

ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले सेसी युनिटेरा र एग्रीटेराको साझेदारीमा डेरी उद्योग खोल्ने भएको हो । एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत सरकारको ३ करोड अनुदान, १ करोड जिल्ला दुग्ध सहकारी सङ्घ र ३ करोड रुपैयाँ दूध उत्पादन गर्ने किसान र बैङ्क तथा वित्तीय संस्थाको ऋण लगानीमा दुग्ध प्रशोधन उद्योग सञ्चालन हुने भएको हो ।

काठमाडौं । उपत्यकामा पहिलो पटक ५४ ओटा सहकारी मिलेर दूध डेरी सञ्चालन गर्ने भएका छन् । सरकारको एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत ७ करोड लगानीमा दूध डेरी सञ्चालन गर्न लागेका हुन् । सहकारीबाट सञ्चालन हुने डेरीमा दैनिक ४० हजार लिटर दूध उपत्यकामा आपूर्ति हुने भएको छ ।

ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले सेसी युनिटेरा र एग्रीटेराको साझेदारीमा डेरी उद्योग खोल्ने भएको हो । एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत सरकारको ३ करोड अनुदान, १ करोड जिल्ला दुग्ध सहकारी सङ्घ र ३ करोड रुपैयाँ दूध उत्पादन गर्ने किसान र बैङ्क तथा वित्तीय संस्थाको ऋण लगानीमा दुग्ध प्रशोधन उद्योग सञ्चालन हुने भएको हो ।

पछिल्लो पटक बजारमा निजी कम्पनीमार्फत खुलेका दुग्ध संस्था, डेरी उद्योग र ब्राण्डको तुलनामा दुग्ध किसान आफैले सहकारीमार्फत डेरी उद्योग सञ्चालन गर्न लागेको ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका व्यवस्थापक उद्धवप्रसाद घिमिरेले बताए ।

उनले दुग्ध किसानकै सेयर लगानी, दुग्ध उत्पादन, बजार व्यवस्थापनमार्फत दुग्ध प्रशोधन उद्योग खोल्न लागिएको बताए । ‘दुग्ध किसान आफैले सेयर लगानीमा उनीहरुकै दुग्ध पदार्थ सहकारीमार्फत सङ्कलन गरी आम उपभोक्तासम्म पुर्याउने मुख्य उद्देश्य हो’ उनले भने, ‘यसमा सरकारको एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत अनुदान र किसानको सेयर लगानी रहन्छ ।’

दुग्ध किसानमार्फत आम उपभोक्तासम्म पुर्याउने ‘गोठदेखि ओठसम्म’ कार्यक्रमको रुपमा डेरी उद्योग सञ्चालन हुने घिमिरेले बताए । दुग्ध प्रशोधन उद्योगमार्फत मुख्यरुपमा दुग्धजन्य पदार्थका रुपमा दही, पनीर, बटर, आइसक्रिम, ध्यू उत्पादन गरिने योजना छ ।

दूध प्रशोधन उद्योग सञ्चालनका लागि व्यावसायिक योजना तथा बजार अध्ययन प्रतिवेदन तयार भएको कार्यक्रम अधिकृत कञ्चन भण्डारीले बताइन् । उनका अनुसार, ललितपुरमा आम उपभोक्ता रुची, दूध उपभोग गर्ने बानी, गुणस्तरीयता, बजार उपलव्धता र ढुवानीको बारेमा अध्ययन गरी व्यावसायिक योजना तथा बजार अध्ययन प्रतिवेदन बनाइएको बताइन् । उनका अनुसार, अध्ययनका क्रममा आम उपभोक्ताले सबैभन्दा बढी रुची दही र पनीरमा रहेको बताइन् । यस वर्ष दही र पनीरको उत्पादनमार्फत डेरी उद्योग अघि बढाइने उनले बताइन् ।

आम उपभोक्ताको दुग्धजन्य पदार्थको क्वालिटी, लेबलिङ र प्याकेजिङका आधारमा उपयोगमा प्रभाव पर्ने भएकाले दुग्ध प्रशोधन उद्योगले त्यसअनुसार नै दुग्धजन्य वस्तु उत्पादनमा जोड दिने लक्ष्य रहेको बताइन् ।

विगतमा जिल्लामा उद्योग वाणिज्य सङ्घअन्तर्गत एक जिल्ला एक उत्पादन कार्यक्रम अघि बढेको थियो । चालू आर्थिक वर्ष २०७५/०७६ बाट भने यस कार्यक्रमका लागि कुनै पनि बजेट विनियोजन नभएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

कृषिजन्य वस्तुको प्रवर्द्धन गर्ने लक्ष्यअनुसार विगतमा एक जिल्ला एक उत्पादन कार्यक्रम अघि बढे पनि मुलुक सङ्घीयतामा गएपछि कार्यक्रम नराखिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता तेजबहादुर सुवेदीले बताए । उनले आव २०७४/०७५ कै कार्यक्रमअनुसार विभिन्न जिल्लामा कार्यक्रम लागू भएको बताए । जिल्लामा कृषि र पशु कार्यालय नरहेपछि कार्यक्रम कार्यान्वय गर्ने निकायको अलमलका कारण योजनामा नपरेको बताए ।

एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत सरकार र दुग्ध उत्पादक सङ्घ तथा किसानको ५०/५० प्रतिशत लगानी रहने व्यवस्था छ ।