चीनको इन्टरनेटमा जोडियो नेपाल

चीनसँग जोडिएलगत्तै स्थलमार्गबाट हुने दूरसञ्चारको अन्तर्राष्ट्रिय आबद्धतामा भारतको एकाधिकार तोडिएको छ ।

शुक्रबारदेखि चीनको इन्टरनेटमा नेपाल जोडिएको छ । नेपाल चिनियाँबाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिएको हो ।
शुक्रबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘नेपाल टेलिकम र चाइना ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिङ्क’को औपचारिक उद्घाटन गरे ।

नेपालमा यसअघि इन्टरनेटमा भारतसँग मात्र आबद्धता थियो । चीनसँग जोडिएलगत्तै स्थलमार्गबाट हुने दूरसञ्चारको अन्तर्राष्ट्रिय आबद्धतामा भारतको एकाधिकार तोडिएको छ । भारतले २०७२ मा लगाएको नाकाबन्दीपछि इन्टरनेटको लागि अर्काे विकल्प खोज्नुपर्ने धारणा सरकारले बनाएको थियो । सोहिअनुरुप चिनियाँ इन्टरनेटमा नेपाल जोडिएको हो ।

२०७३ भदौदेखि नेपाल टेलिकमले केरुङ नाकामा अप्टिकल फाइबर जोडेको थियो । त्यसको ३ महिनामा आईपी सर्भिस आदानप्रदान गर्न सम्झौता गरेको टेलिकमले एक वर्षपछि चीनको इन्टरनेटमा जोडिएको हो ।

‘फाइबर लिङ्क’को उद्घाटनमा बोल्दै मन्त्री बस्नेतले अब नेपाल इन्टरनेटमा एउटैसँग परनिर्भरता हुनु नपर्ने र इन्टरनेटको प्रयोग नेपालमा बढ्दै गएको तथा यसले सुविधा बढाइरहेकोमा अब चीनसँग जोडिनु सुखद् भएको बताए ।