हाइड्रो एक्स्पोमा सहभागि हुन ७० बढी प्रदर्शकले गरे स्टल बुक, तयारी तिब्र

काठमाडौं । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन् । विदेशी प्रदर्शकहरुको पनि उल्लेख्य सहभागिता रहने छ । एक्स्पोको तयारी तिब्र पारिएको आयोजकले जानकारी दिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आगामी माघ ४ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा एक्सपो आयोजना गर्न लागेका हुन् ।

१०० भन्दा बढी स्टल रहने एक्स्पोमा सहभागी हुन विभिन्न मुलुकका झण्डै दर्जन प्रदर्शकले सहभागिता निश्चित गरेको आयोजक इपानले जनाएको छ । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिकलगायत देशका कम्पनीको सहभागिता रहने छ ।

जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, बीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका गरी ७० भन्दा बढी प्रदर्शकले स्टल बुक गरि सकेका छन् । अर्को आयोजक संस्था एक्स्पो एण्ड एभेण्टका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन लागेको एक्स्पोमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको संरक्षकत्व रहने छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई प्रवद्र्धन गर्ने छन् ।

नेपाल भारत चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिी, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी र पर्यटन बोर्डले एक्स्पोलाई सक्रिय सहयोग गर्ने छन् ।

एक्स्पो अवधिमा जलविद्युतका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्षित गरी यस क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने छ ।