अनलाइनबाट यसरी दिन सकिन्छ सेयर खरिद/बिक्री आदेश : पुस २३ देखि बैङ्क खाता र डिम्याट खाता पनि इन्टिग्रेट

अन्तर्राष्ट्रिय स्तरमा कार्यान्वयन भइसकेको अनलाइन कारोबार प्रणाली नेपालमा ल्याउनु मुख्य उपलब्धी भएको मानिँदै आएको छ । तर, पुस २३ गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीबाट कसरी कारोबार गर्ने भन्ने अन्यौलमा लगानीकर्ता छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लगानीकर्तालाई मङ्सिर २० गतेदेखि अनलाइन कारोबार प्रणालीको युजर आईडी र पासवर्ड उपलब्ध गराएको छ । तत्कालका लागि बैङ्क एकाउन्ट र डिम्याट खाता इन्टिग्रेट नगरिएको अनलाइन प्रणाली उपलब्ध गराए पनि पुस २३ गतेदेखि पूर्ण अनलाइन प्रणाली उपलब्ध हुने नेप्सेले जनाएको छ ।

यसअघि कात्तिक २३ गतेदेखि धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी)लाई नेप्सेले अनलाइन प्रणाली उपलब्ध गराएको थियो । नेपाली पुँजी बजारमा बहुप्रतीक्षित अनलाइन प्रणाली पुँजी बजार सुधारको एक महत्त्वपूर्ण कदम मानिएको छ । अन्तर्राष्ट्रिय स्तरमा कार्यान्वयन भइसकेको अनलाइन कारोबार प्रणाली नेपालमा ल्याउनु मुख्य उपलब्धी भएको मानिँदै आएको छ । तर, पुस २३ गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीबाट कसरी कारोबार गर्ने भन्ने अन्यौलमा लगानीकर्ता छन् ।

यसरी गर्न सकिन्छ अनलाइन प्रणालीबाट काराबोर :
अनलाइन प्रणालीमा तीन पटक सेयर खरिद÷बिक्री आदेश दिन सकिने नेप्सेले जनाएको छ । बजार खुल्नुभन्दा अगाडि साढे १० देखि ११ बजे, ११ बजेदेखि २ः५९ सम्म तथा २ः५९ देखि ३ बजेसम्मको समयमा सेयर खरिद बिक्री आदेश दिन सकिन्छ । बजार खुल्नुभन्दा अगाडि दिइएको आदेशलाई ‘प्रि ओपन सेसन’, बजार खुलेदेखि सुरु भएको समयमा दिइने आदेशलाई ‘कन्टिनियस सेसन’ र बजार बन्द हुन लाग्दा १ मिनेटको समयमा ‘क्लोजिङ सेसन’ गरी तीन पटक खरिद/बिक्री आदेश दिन सकिने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

नेप्से कारोबार बन्द भइसकेको अवस्थामा भने सेयर खरिदबिक्री गर्न सकिने छैन । साढे १० बजेदेखि दिइने आदेशमा ५ प्रतिशतसम्म सेयर मूल्य घटाउन पाइने व्यवस्था छ । सेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटाइएको अवस्थामा दिइएको आदेश स्वतः क्यान्सिल हुने छ । यस्तै बजार खुलिसकेको अवस्थामा ११ बजेदेखि दिइएको आदेशमा २ प्रतिशतसम्म मूल्य घटाउन पाइने छ । यस्तै अन्तिम १ मिनेटको समयमा परेका सबै आदेशलाई अन्य आदेशसँग आपसमा मिलाइने नेप्सेले जनाएको छ ।

लगानीकर्ताले आदेश दिँदा अघिल्लो दिनको क्लोजिङ मूल्यका आधारमा वा क्लोजिङ मूल्यभन्दा २ देखि ५ प्रतिशतसम्म मूल्य घटाएर आदेश दिन सकिन्छ । तर, बजार खुला रहेको समयमा अघिल्लो दिनको क्लोजिङ मूल्यभन्दा २ प्रतिशत घटाएर दिएको आदेश मान्य हुने छ । त्यसका लागि १० कित्ताभन्दा माथिको सेयर खरिद/बिक्री आदेशलाई अनलाइनले मान्यता दिने छ । त्यसभन्दा तलको आदेशका साथै खरिद÷बिक्री गर्न मिले पनि नेप्सेले आफ्नो डाटामा समेट्ने छैन । उक्त आदेशले सेयर बजारलाई फरक नपार्ने भएकाले आफ्नो डाटामा अनलाइन सिस्टमले समावेश नगर्ने नेप्सेले क्यापिटललाई जानकारी दिएको छ । अनलाइनबाट सेयर खरिदबिक्रीको आदेश दिँदा तोकिएको मूल्यमा आदेश दिँदा तत्काल सेयर उपलब्ध हुने छ ।

यी तीन तरिकाबाट दिन सकिन्छ आदेश

१. इमिडिएट अर्थात् क्यान्सिल (आईओसी) – यस प्रणालीबाट खरिदबिक्रीको आदेश दिँदा आफूले दिएको आदेशको ५० प्रतिशत सेयर उपलब्ध हुने छ । उदाहरणका लागि ‘सय कित्ता सेयर खरिदबिक्रीका लागि आदेश दिँदा ५० कित्ता उपलब्ध हुन्छ । तर, अर्को ५० कित्ता अनलाइन सिस्टमले आफैँ आरेज गरिदिन्छ ।

२. फिल अर किल (एफओके) – यस प्रणालीबाट आदेश दिँदा आदेश दिएको सबै सेयर खरिदबिक्री हुन्छ । यदि लगानीकर्ताले सय कित्ता सेयर किन्ने वा बेच्ने आदेश दिएमा त्यो सबै सेयर उपलब्ध हुन्छ ।

३ अल अर नन् (एओएन) – यस प्रणालीबाट सेयर खरिदबिक्री आदेश दिँदा आदेश दिए जति सबै सेयर खरिद वा बिक्री हुन्छ । यदि सबै सेयर खरिद बिक्री भएन भने आफूले दिएको आदेश क्यान्सिल हुन्छ । यो प्रक्रियामा ५० प्रतिशत मात्र मिल्ने भन्ने हुँदैन ।