धान उत्पादनमा नयाँ रेकर्ड, यस वर्ष ५६ लाख टन उत्पादन

गत आव २०७४/०७५ मा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन भई नयाँ रेकर्ड कायम भएको हो । विगतका वर्षभन्दा यस वर्ष तोकिएको लक्ष्यअनुसार नै धान उत्पादन बढेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष ८ प्रतिशतले धान उत्पादन बढेको छ । गत आव २०७४/०७५ मा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन भई नयाँ रेकर्ड कायम भएको हो । विगतका वर्षभन्दा यस वर्ष तोकिएको लक्ष्यअनुसार नै धान उत्पादन बढेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस वर्ष ८ देखि १० प्रतिशतको हाराहारीमा धान उत्पादन बढ्ने प्रक्षेपण गरेको थियो । मन्त्रालयले लिएको लक्ष्य अनुमानकै हाराहारीमा धान उत्पादन भएको मन्त्रालय स्रोतको दाबी छ । गत वर्षको तुलनामा यस वर्ष साढे ४ लाख मेट्रिक टन धान उत्पादन वृद्धि भएको हो । आव २०७३/०७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

समयमै वर्षा हुनु, उन्नत बीउबिजन, समयमै रोपाँइ, प्रविधिको प्रयोग तथा अनुकूल मौसमका कारण मुलुकभर धान उत्पादनमा उल्लेख्य सुधार आएको मन्त्रालयले जनाएको छ । यस वर्ष ९५ प्रतिशत क्षेत्रफलमा रोपाँइ भएको थियो । मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रमा २९ प्रतिशत योगदान छ । त्यसमध्ये महत्वपूर्ण रुपमा ३५ प्रतिशत योगदान धान उत्पादनकै छ ।

मुलुकभर झन्डै ६० लाख मेट्रिक टन धानको माग छ । तर, त्यसअनुसार उत्पादन हुन नसक्दा बर्षेनी भारतबाट चामल आयात भइरहेको छ ।

सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । त्यसअनुसार विभिन्न जिल्लामा धान मिसन कार्यक्रम भइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरणमार्फत धानमा जोड दिन २४ ब्लक, पाँच जोन र एक सुपरजोन बनाइएको छ ।