उत्पादन बढे पनि अझै पाँच लाख टन धान अपुग, आत्मनिर्भर बन्ने कहिले ?

यस वर्षकै धान उत्पादनको तथ्यांकलाई हेर्ने हो मुलुकको माग अर्थात ३ करोड जनसंख्यालाई अझै पाँच लाख टन धान अपुग हुने मन्त्रालयले जनाएको छ । देशभर ६१ लाख टन धानको माग आवश्यक पर्छ । गत बर्ष मात्रै भारतबाट झन्डै ८ अर्ब रुपैयाँको चामल आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७५/०७६ मा अहिलेसम्मकै धेरै धान उत्पादन भएको प्रतिवेदन सार्वजनिक गरेको छ । यो वर्ष ५६ लाख १० हजार टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । गत आव २०७४/०७५ को तुलनामा यस वर्ष ४ लाख ५८ हजार ८६ टन धान बढि उत्पादन भएको छ । यो गत वर्षको तुलनामा ८.८९ प्रतिशतले बढी उत्पादन हो ।

मुलुकमा यसअघिको तथ्यांक तुलनामा सवैभन्दा बढि धान उत्पादन यस वर्ष भएपनि बर्षेनी चामल आयात स्थितिमा समेत कमी आउन सकेको छैन । यस वर्षकै धान उत्पादनको तथ्यांकलाई हेर्ने हो मुलुकको माग अर्थात ३ करोड जनसंख्यालाई अझै ५ लाख टन धान अपुग हुने मन्त्रालयले जनाएको छ । देशभर ६१ लाख टन धानको माग आवश्यक पर्छ । गत बर्ष मात्रै भारतबाट झन्डै ८ अर्ब रुपैयाँको चामल आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

मुलुकमा जनसंख्या वृद्धि, उब्जाउयोग्य जमिनको क्षेत्रफल घट्नु, जग्गा प्लटिङ, खडेरी लगायतका समस्याले धान उत्पादनमा हरेक वर्ष घटबढ हुने गर्छ । तर, यस वर्ष समयमै रोपाइँ, अनुकुल मौसम, सिँचाइ, मलको उपलव्धताका कारण धान उत्पाद बढेको स्वंय मन्त्रालयनै दाबी छ ।

सरकारले पाँच वर्षभित्र कृषि उत्पादन दोव्वर बनाउने लक्ष्य हासिल गर्न धानको महत्वपूर्ण भूमिका रहन्छ । अर्थतन्त्रमा २८ प्रतिशत योगदान रहने कृषि क्षेत्रम प्रमुख बाली धानको ३५ प्रतिशत योगदान रहन्छ । तर, नीतिगत समस्या, बजेट, अन्तरसरकारी समन्वय बिना धानमा आत्मनिर्भर बन्न नसकिने मन्त्रालयका सचिव युवकध्वज जीसी बताउँछन् ।

कृषि क्षेत्रमा न्युन बजेटका कारण कृषिमा आत्मनिर्भर बन्न चुनौती रहेको जीसीको दाबी छ । ‘अहिले कुल बजेटको २.२७ प्रतिशतमात्रै कृषि क्षेत्रलाई छुट्याइएको छ । यो अन्त्य कम बजेट हो’ उनले भने, ‘यदि साँच्चीकै कृषि उपजका केही बस्तुमा आत्मनिर्भर बन्न र कृषिलाई यान्त्रीकरणमा लैजाने हो भने १० प्रतिशत बजेट छुट्याउनु पर्छ ।’

उनले चाहेअनुसार सिँचाइ सुविद्या, यान्त्रीकरण, प्रविधिको प्रयोग, उन्नत बीउबीजनमा जोड दिने कार्यक्रमका लागि थप बजेट आवश्यक पर्ने बताए । धान उत्पादनमा आत्मनिर्भर बन्न कृषि मन्त्रालयले एक्लैले गर्न नसक्ने भन्दै यससँग जोडिने सम्बन्धित मन्त्रालयसंग समन्वय भएमा मात्रै सम्भव हुने बताए ।

अहिले प्रधानमन्त्री आधुनिकीरकण परियोजना अन्र्तगत धान मिसन कार्यक्रम र झापामा सुपरजोन स्थापना भइ अघि बढेकाले धान उत्पादन बढेको देखिन्छ । गत बर्षभन्दा प्रदेश नम्वर २ मा सवैभन्दा बढि २ लाख ९ हजार टन धान बढि फलेको छ ।
सरकारले सन् २०१४ देखि आगामी तीन बर्षमा धानमा आत्मनिर्भर बन्ने नारा लिएपनि अझै कहिलेसम्म आत्मनिर्भर बन्ने भन्ने अन्योलता देखिएको कृषि विज्ञ डा. कृष्ण पौडेल बताउँछन् ।

उनले मन्त्रालयले धान कति उत्पादन र विदेशमा कति आयात गरियो भन्ने बारे सही तथ्यांक नराखेको बताए । सरकाररले लागत अनुदानका आधारमा उत्पादन बढाउन नसक्ने भन्दै किसानलाई इन्सेन्टिभ दिने खालको कार्यक्रम नल्याएसम्म कुनै पनि कृषि उपजमा आत्मनिर्भर बन्न नसकिने बताए ।

कुन प्रदेशमा कति धान फल्यो ?

चालू आवमा प्रदेश नम्वर १ मा १२ लाख ३७ हजार ९५२, प्रदेश नम्वर २ मा १४ लाख ९५ हजार ४४, प्रदेश नं ३ मा ५ लाख २१ हजार ४४६, गण्डकी प्रदेशमा ४ लाख २७ हजार ६८९, प्रदेश नम्वर ५ मा ११ लाख ८८ हजार ६७५ र कर्णाली प्रदेशमा १३ लाख ३ हजार ५७९ टन धान उत्पादन भएको मन्त्रालयले बुधबार तथ्यांक सार्वजनिक गरेको हो ।

१४ औं योजनामा कृषि उपजको प्रगति

मन्त्रालयले १४ औ योजनाको लक्ष्यअनुसार प्रमुख कृषि उपजमा पनि अपेक्षित उपलव्धी हासिल गरेको स्वीकार गरेको छ । १४ औ योजनाको अन्तिम बर्ष तोकिएको लक्ष्यअनुसार, धान, मकै, तरकारी, तेलहन, उखु, दुध मासु, अण्डा र माछा लगायतका कृषि उपजमा लक्ष्यउन्मुख प्रगति हासिल गरेको बताएको छ । त्यस्तै, गहुँ, आलु, फलफुल, दलहन लगायतका कृषि उपजमा लक्ष्य उन्मुख हुन नसकेको देखाएको छ ।