अखिल नेपाल यातायात मजदुर सङ्घका उपाध्यक्ष राजेन्द्र शर्माले सरकारले ट्याक्सी व्यवसायीमाथि दण्डित गरेर यस क्षेत्रको सुधार गर्न खोज्नु मुर्खता भएको टिप्पणी गरेका छन् ।
काठमाडौं । ‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ नामक अभियानले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेको छ ।
आइतबार पत्रकार सम्मेलन गरी राज्य, उपभोक्ता र ट्याक्सी चालकहरुबीच देखिएको द्वन्द्वलाई न्यूनीकरण गर्नका लागि उक्त साझा पहलको सुरुआत गरेको जानकारी दिएको छ ।
अखिल नेपाल यातायात मजदुर सङ्घका उपाध्यक्ष राजेन्द्र शर्माले सरकारले ट्याक्सी व्यवसायीमाथि दण्डित गरेर यस क्षेत्रको सुधार गर्न खोज्नु मुर्खता भएको टिप्पणी गरेका छन् ।
‘आजका दिनमा ट्याक्सी व्यवसायीका बारेमा मानिसहरु किन भ्रमित छन् ? किन डराउँछन् ? ट्याक्सीको नजिक पुग्दा अनेकन कुराहरु सोच्न थाल्छन् ? ट्याक्सी चालकले भोगिरहेको जीवनको वास्तविकता के हो ?’ उनले भने, ‘यसका आन्तरिक र बाह्य कारण छन्, सरकार यस क्षेत्रको सुधार हामीलाई दण्डित गरेर मात्रै सम्भव देख्छ ।’
यता व्यवसायीहरुले पनि आफ्ना क्रियाकलापहरु सुधार गर्नुपर्छ, आजदेखि यो कुरा सुरु भएको छ, यो सबैभन्दा राम्रो कुरा भएको उनले बताए ।