आफ्नै बारीको कफी खुवाउँदै हिमालयन जाभा

इलाममा ७५ हजार बिरुवा लगाइसकिएको छ । एक हजार रोपनीमा व्यावसायिक कफी खेती गर्न लागेको उनको भनाइ छ । नेपाली कफीलाई प्रवद्र्धन गर्दै आएकाे हिमालयन जाभा आफैंले अबदेखि आफ्नै उत्पादन प्रयोगमा ल्याउने योजना बनाएको छ ।

काठमाडौं : कफी कल्चरमा पायोनियर हिमालयन जाभाले इलाममा व्यावसायिक कफी खेती सुरु गरेको छ । हिमालयन जाभा आफैंले व्यावसायिक कफी खेती सुरु गरेको हिमालयन जाभाका प्रबन्ध निर्देशक गगन प्रधानले जानकारी दिए ।

नेपालीलाई कफी खान सिकाएको हिमालयन जाभाले अबदेखि कफी खेती गर्न पनि सिकाउने भएको छ । कफीको गुणस्तर सुधार्न बोटबाटै सुधार आवश्यक छ । ‘बोट नै सुधार्ने हो भने गुणस्तरीय कफी सेवन गर्न पाइन्छ,’ उनले भने, ‘त्यही भएर हामीले कर्पदेखि कपसम्मको अभियान चलाएका हौं ।’

उनका अनुसार इलाममा ७५ हजार बिरुवा लगाइसकिएको छ । एक हजार रोपनीमा व्यावसायिक कफी खेती गर्न लागेको उनको भनाइ छ । नेपाली कफीलाई प्रवद्र्धन गर्दै आएकाे हिमालयन जाभा आफैंले अबदेखि आफ्नै उत्पादन प्रयोगमा ल्याउने योजना बनाएको छ ।

‘हाम्रो उत्पादन आएको छैन, यो वर्ष २० टन जति कफी उत्पादन हुन्छ होला । त्यतिले त हाम्रो मागलाई धान्दैन,’ उनले भने, ‘तर बिस्तारै आफ्नै उत्पादन प्रयोगमा ल्याउने सोच हो ।’

गुणस्तरीय कफी बनाउन दूध राम्रो हुनुपर्छ, पानी राम्रो हुनुपर्छ । त्यति मात्रै होइन, कफी पनि राम्रो हुनुपर्छ । तर, पानी र दूध हामीले चाहेअनुसारको प्रयोग गर्न सक्छौं । तर कफी अरुसँगै किन्नुपर्ने भएकाले कफी उत्पादनमा लागेको प्रधानले जानकारी दिए ।

हिमालयन जाभाले हालसम्म देशका विभिन्न ठाउँमा उत्पादन भएका कफी प्रयोग गर्दै आएको छ । नेपाली बजारमा कफीको माग बढ्दै गएको र कफी सप खुल्ने क्रम पनि विस्तार भएकाले कफी उत्पादनको क्षेत्रफल बढाउनुपर्ने उनको भनाइ छ ।

नेपालमा खुलेको अधिकांश कफी सपले स्वदेशी कफीको प्रवद्र्धन गरेका छन् । तर, त्यो अनुपातमा खेती विस्तार नभएको निष्कर्षसहित जाभा आफंैले इलाममा खेती सुरु गरेको प्रधानले बताए ।