यातायात व्यवस्था विभागले गत केही महिनाअघि मासप्रन्टिर र स्मार्टकार्ड खरिदका लागि बोलपत्र अह्वान गरेको थियो । सोहीअनुसार अब केही दिनमा खरिदको टुङ्गो लाग्ने विभागले जानकारी दिएको छ ।
काठमाडौं : दस लाख स्मार्टकार्ड र मासप्रिन्टर खरिदका लागि टेन्डर मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ । यातायात व्यवस्था विभागले गत केही महिनाअघि मासप्रन्टिर र स्मार्टकार्ड खरिदका लागि बोलपत्र अह्वान गरेको थियो । सोहीअनुसार अब केही दिनमा खरिदको टुङ्गो लाग्ने विभागले जानकारी दिएको छ ।
यातायात विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले स्मार्टकार्ड र मासप्रिन्टर खरिदको काम अन्तिम चरणमा पुगिसकेको बताए । उनका अनुसार अबको १० दिनभित्र टेन्डर अह्वानको टुङ्गो लागिसक्ने छ ।
‘केही कम्पनी टेन्डरमा भाग लिन आएका छन्,’ उनले भने, ‘प्रतिस्पर्धामा आएका कम्पनीको अवस्था हेरेर विभागले काम अगाडि बढाउँछ ।’ अहिलेको लाइसेन्स छपाइले देशभरका सेवाग्राहीलाई नधानेको भन्दै अब मासप्रिन्टर ल्याएपछि दैनिक १० हजारसम्म लाइसेन्स छाप्ने उनको दाबी छ ।
सरकारले मालिका इन्कर्पोरेटलाई स्मार्टलाइसेन्स छाप्न दिएको तीन महिनाभन्दा बढी भइसकेको छ । तर अहिलेसम्म साढे तीन लाखभन्दा बढी स्मार्टलाइसेन्स छाप्न सकेको छैन । उल्टै बिना प्रतिस्पर्धा लाइसेन्स छपाइको जिम्मा पाएको भन्ने आरोप लागेको छ ।
यातायात व्यवस्था विभाग भने मासप्रिन्टर आएपछि मागभन्दा तेब्बर लाइसेन्स छपाइ हुने जनाइरहेको छ । अहिले मालिका इन्कर्पोरेट कम्पनीले दैनिक २० हजारका दरले लाइसेन्स छाप्ने बताए पनि हल्लामै सीमित भएको छ ।
तीन लाखभन्दा बढी छापियो स्मार्टलाइसेन्स
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले मालिका इन्कर्पोरेट कम्पनीलाई अर्डर दिएको तीन महिना बितिसक्दा जम्मा तीन लाख चानचुनमा मात्र स्मार्टलाइसेन्स छापिएको छ । मालिका कम्पनीका प्रबन्धनिर्देशक सुरेन्द्र ढकालले निरन्तर काम भइरहेको बताए । एक महिनामै ६ लाखभन्दा बढी स्मार्टलाइसेन्स छाप्ने भने पनि परिणाम देखिएको छैन ।
सेवाग्राहीले पाएको सास्ती र स्मार्टलाइसेन्स छपाइमा भएको ढिलाइमा यातायात विभागले पनि कुनै एक्सन लिन सकिरहेको छैन । मन्त्रालयले लान्सेन्स छपाइसँग सम्बन्धित विभाग तथा कम्पनीको कामलाई तदारुकताका साथ हस्तक्षेप गरेको छैन । सेवाग्राही भने ट्रायल पास गरेपछि चिटकै भरमा सवारी चलाउन बाध्य छन् ।