चार करोड पुगे दूरसञ्चार प्रयोगकर्ता, आठ लाख सिम प्रयोगविहीन

नेपाल टेलिकम, एनसेल, स्मार्ट, यूटीएल तथा स्याटलाइट टेलिकमले प्राधिकरणबाट अनुमति पत्र लिए पनि अहिले नेपाल टेलिकम तथा एन्सेलले मात्र निरन्तर सेवा दिइरहेका छन् । यूटीएल, नेपाल स्याटलाइट र स्मार्ट टेलिकमले सेवा बढाउन सकेका छैनन् ।

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणमा अनुमतिप्राप्त चार सेवाप्रदायक कम्पनीमा तीन सेवाप्रदायकले चार करोड ११ हजार प्रयोगकर्ता पुर्याएका छन् ।

नेपाल टेलिकम, एनसेल, स्मार्ट, यूटीएल तथा स्याटलाइट टेलिकमले प्राधिकरणबाट अनुमति पत्र लिए पनि अहिले नेपाल टेलिकम तथा एन्सेलले मात्र निरन्तर सेवा दिइरहेका छन् । यूटीएल, नेपाल स्याटलाइट र स्मार्ट टेलिकमले सेवा बढाउन सकेका छैनन् ।

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार देशभरमा कुल चार करोड ११ हजार ६ सय दुई सेवाग्राही पुगेका छन् । जसमा यूटीएल, नेपाल स्याटलाइट र अन्यका गरी आठ लाख ५७ हजार एक सय ५४ सिम प्रयोगविहीन छन् ।

अहिले सञ्चालनमा रहेका नेपाल टेलिकम र एनसेल भने प्रतिस्पर्धामै छन् । नेपाल टेलिकमले गत कात्तिकसम्म दुई करोड ६ लाख ९२ हजार सेवाग्राही पुर्याएको छ भने एनसेलले एक करोड ६४ लाख तीन हजार आठ सय पुर्याएको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय नेपाल टेलिकमका भ्याइस सेवाग्राही ह्वातै बढेको देखिन्छ । निजी सेवाप्रदायक एनसेलको तुलनामा नेपाल टेलिकमका प्रयोगकर्ता २६ लाख बढी छन् ।

फिक्स्ड दूरसञ्चार प्रयोग पछिल्लो समय घटेको छ । फिक्स्ड लाइन प्रयोग गर्ने आठ लाख ५२ हजार चार सय १८ जना मात्र छन् भने मोबाइल अथवा सिम प्रयोग गर्ने तीन करोड ९१ लाख ५७ हजार चार सय २७ जना छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सबै नेपालीले दुई सिम राख्ने चलन बढेको बताए । प्रायः प्रयोगकर्तासँग एनसेल र टेलिकमको सिम हुने गरेको उनको भनाइ छ ।

अहिले मोबाइलको प्रयोग एक सय ३६ प्रतिशतसम्म वृद्धि भएको छ । एकै व्यक्तिले दुई वा दुईभन्दा बढी सिम प्रयोग गर्ने भएकाले मोबाइल सेवा बढेको देखिएको हो । त्यस्तै नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको हिस्सा ५५ प्रतिशत पुगेको छ ।