दैनिक १ लाख लिटर दूधबाट पाउडर बनाउँदै चितवन मिल्क, नाफामा जान ७ वर्ष लाग्ने

चितवन मिल्क उद्योग अहिलेसम्म डेढ अर्ब रुपैयाँ घाटामा छ । घाटामा गएकै कारण उद्योग बन्द गर्नुपरेको श्रेष्ठले बताए । चितवन मिल्क उद्योग नाफामा जान अझै ७ वर्ष लाग्ने उनले बताए ।

काठमाडौं : झन्डै अढाइ वर्ष बन्द भई २०७४ फागुनदेखि पुनः सञ्चालन भएको चितवन मिल्क लिमिटेडले अहिले दैनिक १ लाख लिटर दूध प्रशोधन गर्दै आएको छ । अन्य सिजनमा भन्दा अहिले दूध उत्पादनमा कमी आएकाले उद्योगले चाहेजति पाउडर बनाउन भने सकेको छैन ।

दूध उत्पादन बढी हुने सिजनमा दैनिक २ लाख लिटर हाराहारीमा प्रशोधन हुने चितवन मिल्क लिमिटेडका अध्यक्ष राजुबाबु श्रेष्ठले बताए । उनले चितवन मिल्क उद्योगको अढाई लाख लिटर दूध प्रशोधन गर्ने क्षमता रहेको जानकारी दिए ।

अस्थिर सरकार र अस्पष्ट कृषि नीतिका कारण अढाई वर्षजति उद्योग बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठले बताए । ‘सुरुमा उद्योगबाट उत्पादन राम्रै हुन्थ्यो । पछि कृषिनीति अस्पष्ट र परिवर्तन भए । त्यसले कृषिजन्य उद्योग रुग्ण हुँदै गए,’ उनले भने, ‘फलस्वरुप चितवन मिल्क पनि बन्द गर्नुपर्ने अवस्था आयो ।’

अधिकांश दुग्धजन्य पदार्थ सस्तोमा आयात हुँदा स्वदेशी दूधले बजार पाउन नसकेको श्रेष्ठले बताए । आयातित दूध स्वदेशी दूधभन्दा लागतमा ९ रुपैयाँ सस्तो पर्ने भएकाले पनि स्वदेशी उद्योग धरासायी हुने स्थिति आएको श्रेष्ठको तर्क छ ।

दूधको उत्पादन बढाई स्वदेशी डेरी उद्योगलाई प्रोत्साहन गर्न सरकारले ६ प्रतिशत अनुदान दिनुपर्ने आफूहरुको माग रहेको अध्यक्ष श्रेष्ठले बताए । सरकारले डेरी उद्योगले दूधमा अनुदान दिए दूध आयातमा वार्षिक १० अर्ब रुपैयाँ बिदेसिनबाट रोकिने श्रेष्ठको तर्क छ ।

चितवन मिल्क उद्योग अहिलेसम्म डेढ अर्ब रुपैयाँ घाटामा छ । घाटामा गएकै कारण उद्योग बन्द गर्नुपरेको श्रेष्ठले बताए । चितवन मिल्क उद्योग नाफामा जान अझै ७ वर्ष लाग्ने उनले बताए ।

अहिले किसानको दूध सहकारीमार्फत् सङकलन भई विभिन्न डेरी उद्योगले चितवन मिल्क उद्योगमा पु¥याउने गर्छन् । करिब ३५ ओटा डेरी उद्योग तथा दुग्ध विकास संस्थान (डीडीसी) लगायतले उद्योगमा दूध पु¥याई प्रशोधन गरी पाउडर, बटर, पनिरलगायतका पदार्थ तत् तत् उद्योगले खरिद गरी बजारमा पठाउने गर्छन् ।

अहिले चितवन मिल्क लिमिटेडसहित यही प्रकृतिका तीन ओटा दुग्ध प्लान्ट सञ्चालनमा छन् । पोखरामा सुजल मिल्क र विराटनगरमा दुग्ध विकास संस्थान (डीडीसी) बाट दुग्धजन्य पदार्थ उत्पादन हुन्छन् । यी तीन ओटा प्लान्ट पूर्णरुपमा सञ्चालनमा ल्याउन सके दुग्धजन्य पदार्थ विदेशबाट ल्याउनु नपर्ने डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीको तर्क छ ।

अहिले चितवन मिल्कमा पूर्वी र पश्चिम जिल्लाका डेरी उद्योगले दूध ल्याउने गर्छन् । चितवन मिल्क उद्योगमा अहिले उत्पादन भएका बटर र पनिरका लागि कोल्ड स्टोर छैन । उद्योगको क्षमताअनुसार स्टोरेज गर्ने वैकल्पिक कोल्ड स्टोर नहुँदा लामो समयदेखि पनिर गोदाममै थन्किएको छ ।

पनिर तथा बटरको मौसमी मागका कारण उद्योगबाट उत्पादित पदार्थ स्टोरेज गर्न नसकिएको उद्योगले जनाएको छ । चितवन मिल्क उद्योगमा अहिले ३५ टनको कोल्ड स्टोर छ । तर, त्यहाँ उत्पादन हुने पाउडर, पनिर तथा बटर स्टोरेज गर्न १५० देखि २०० टन क्ष्मताको कोल्ड स्टोर आवश्यक पर्छ ।

दुर्गम र पहाडी भेगमा दूधको ढुवानी गर्न गाह्रो हुँदा त्यस्ता ठाउँमा दुधको पाउडर प्रयोग हुने गर्छ । चितवन मिल्कले त्यस्ता क्षेत्रलाई तोकेर डेरी उद्योगमार्फत् पाउडर ढुवानी गर्ने व्यवस्था मिलाएको छ । उद्योगले १२ लिटर दूधबाट १ केजी पाउडर उत्पादन गर्छ ।

दूध धेरै दिनसम्म नरहने भएकाले पाउडरको प्रयोग बढेको उद्योगले जनाएको छ । दुर्गम पहाडी क्षेत्रमा पाउडरको प्रयोग एक वर्षभित्र गर्न सकिन्छ ।

कृषि नीति स्थायी हुन नसक्दा चितवन जस्ता ठूला मिल्क उद्योग सङ्कटग्रस्त बन्नुपरेको पुष्प डेरी उद्योगका प्रबन्ध निर्देशक पुष्पराज बस्नेतले बताए । उनले अहिले स्थिर सरकार बनेकाले पनि दूध उद्योग बन्द हुने सम्भावना नरहेको बताए ।

डीडीसीको केही प्रतिशत सेयरबाहेक निजी लगानीमै सो उद्योगमा सञ्चालन भएको हाे ।