बैङ्क तथा वित्तीय संस्थालाई ‘सेयर अनलाइन प्रणाली’मा जोड्ने तयारी

नेप्सेले कात्तिक २० गतेदेखि सेयर दलाल (ब्रोकर) कम्पनीका लागि अनलाइन युजर आईडी र पासवर्ड दिएको थियो । त्यसको एक महिनापछि मङ्सिर २० गतेदेखि लगानीकर्तालाई युजर आईडी र पासवर्ड दिएको नेप्सेले अहिले ४ ओटा बैङ्कलाई मात्र अनलाइन प्रणालीमा समावेश गरेको छ ।

काठमाडौं : नेपाल क्लियरिङ हाउस लिमिटेडसँग आबद्ध बैङ्क तथा वित्तीय संस्थालाई अनलाइन प्रणालीमा समावेश गर्ने तयारी सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले क्लियरिङ हाउससँग आबद्ध सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई अनलाइन प्रणालीमा समावेशको तयारी गरेको हो ।

नेप्सेले कात्तिक २० गतेदेखि सेयर दलाल (ब्रोकर) कम्पनीका लागि अनलाइन युजर आईडी र पासवर्ड दिएको थियो । त्यसको एक महिनापछि मङ्सिर २० गतेदेखि लगानीकर्तालाई युजर आईडी र पासवर्ड दिएको नेप्सेले अहिले ४ ओटा बैङ्कलाई मात्र अनलाइन प्रणालीमा समावेश गरेको छ ।

नेप्सेले दिएको जानकारीअनुसार अहिले ग्लोबल आइएमई बैङ्क, सिद्धार्थ बैङ्क, प्रभु बैङ्क र नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट मात्र अनलाइन सेयर कारोबारपछिको राफसाफ गर्न मिल्छ । तर, आगामी दिनमा क्लियरिङ हाउसँग आबद्ध सबै बैङ्क तथा फाइनान्स कम्पनीलाई राफसाफमा आबद्ध गर्ने तयारी भइरहेको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेपाल क्लियरिङ हाउससँग सबै बैङ्क तथा फाइनान्स कम्पनीलाई अनलाइनमा आबद्ध गर्न सुझाव मागिएको छ । क्लियरिङको सुझावपछि आवश्यक प्रक्रिया सुरु गर्ने बताउँदै उनले भने, ‘नेप्सेले तयारी मात्र गरेको हो, प्राविधिक कारणले सबै कम्पनी नसमेटिन पनि सक्छन् ।’

सेयर लगानीकर्ता राकेश श्रेष्ठले अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउन कम्तीमा सबै वाणिज्य बैङ्कबाट राफसाफको व्यवस्था मिलाउनु पर्ने बताउँछन् । यस्तो व्यवस्था नभए सेयर कारोबारका लागि मात्र तोकिएका बैङ्कमा खाता खोल्न बाध्य बनाउने खेल भएको बुझिने उनको भनाइ छ । नेप्सेले राफसाफ मिलाएका बैङ्कमा खाता नभएकालाई अहिलेको अवस्थामा समस्या उत्पन्न भएको उनको तर्क छ ।

नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएसमा आबद्ध भएका बैङ्कका ग्राहकले एक पटक आफूलाई आबद्ध गरी बैङ्क खातालाई लिङ्क गराई यसमा उपलब्ध सेवाहरु प्राप्त गर्न सक्ने जनाइएको छ । कनेक्ट आईपीएसमार्फत् राजस्व भुक्तानी रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा फन्ड लोड तथा सेयर ब्रोकरको भुक्तानी गर्न सकिने जनाइएको छ ।