३० करोड लगानीमा  लालीगुराँस बहुउद्देश्यीय सहकारीकाे गाई फार्म

सहकारीले भविष्यमा गाईले जन्माएका बाच्छी हुर्काएर सहकारीमार्फत किसान तथा अन्य संस्थालाई बिक्री गर्ने योजनासमेत बनाएको छ । अहिले भने सहकारीले गाई खरिद र पूर्वाधार निर्माणका लागि लगानी गरेको छ ।

काठमाडौं : चितवनको खैरहनीमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ३० करोड रुपैयाँ लगानीमा आफ्नै गाई फार्म सञ्चालन गर्दै आएको छ । सहकारीकै नामबाट सञ्चालित लालीगुराँस गाई फार्मले अहिले मासिक रुपमा दूध बिक्रीबाटै ४० लाख रुपैयाँ आम्दानी गर्दै आएको छ ।

सहकारीको साढे १९ बिघा जग्गामा गाई फार्म सञ्चालन गरिएको छ । अहिले फार्ममा ५ सय सय ओटा गाई छन् । फार्मको क्षमता विस्तार गरी निकट भविष्यमा ८ सय गाई पाल्ने योजनाअनुसार थप जग्गा र पूर्वाधार बनाइएको लालीगुराँस डेरी फार्म तथा रिसर्च सेन्टरका प्रशासन अधिकृत कृष्ण भण्डारीले जानकारी दिए । त्यसअनुरुप अहिले थप २८ बिघा जग्गा लिजमा लिइसकिएको भण्डारीले बताए ।

भारतको हरियाणा र स्थानीय किसानबाट गाई खरिद गरी सहकारीले गुणस्तरीय दूध उत्पादन गर्दै आएको उनको भनाइ छ । ४ वर्षदेखि अहिलेसम्म गाई खरिद र लिजको जग्गासहित पूर्वाधार बनिरहेका छन् ।
गाईका लागि आवश्यक घाँसको व्यवस्था र थप गाई पाल्न सहकारीले जग्गा लिजमा लिएको हो । फार्मले दूधसहित गोबर, गहुँतजन्य वस्तु प्रशोधन गर्न ललितपुरको गोदावरीमा ‘प्लान्ट’ निर्माण गर्ने योजना बनाएको छ । त्यसको प्रक्रिया पनि अघि बढेको छ । ६ महिनाभित्र गोदावरीमा डेरी उद्योग सञ्चालन र फार्मबाट उत्पादित दूध प्रशोधन गरिने भण्डारीले बताए । ‘अहिले गाई फार्मबाट उत्पादन हुने दूध काठमाडौंका डेरी उद्योगलाई बिक्री गर्दै आएका छौं,’ भण्डारीले भने, ‘महिनाभित्र गोदावरीमा सहकारीको आफ्नै डेरी उद्योग सञ्चालन गर्दै छौ । त्यसपछि दूध प्रशोधन गरी पनिर, पाउडर, क्रिम, बटरलगायत दुग्धपदार्थ उत्पादन गर्छाैं ।’

सहकारीले भविष्यमा गाईले जन्माएका बाच्छी हुर्काएर सहकारीमार्फत किसान तथा अन्य संस्थालाई बिक्री गर्ने योजनासमेत बनाएको छ । अहिले भने सहकारीले गाई खरिद र पूर्वाधार निर्माणका लागि लगानी गरेको छ ।

सहकारीको आफ्नै प्लान्ट भएपछि गाईको गोबर प्रशोधन गरी जैविक मल उत्पादन गर्ने, गहुँत पनि प्रशोधन गरी जैविक विषादीमा प्रयोग गरिने लक्ष्य सहकारीको छ । गोदावरीमा अहिले प्लान्ट निर्माणको काम अघि बढेको भण्डारीले बताए । लालीगुँरास सहकारीमा अहिले २० हजार किसानको सेयर लगानी छ ।