एग्रेसिभ बन्दै महानगर, पिक एन्ड ड्रपपछि पुरानो बसपार्क सार्ने तयारी

महानगरले नै अस्थायी रुपमा दुई वर्षका लागि भूकम्पपछि वागबजारमा रहेको बसपार्कलाई खुल्लामञ्चको आधा भागमा बसपार्क राखेको थियो । अहिले सो बसपार्क व्यवस्थित छैन ।

काठमाडौं : काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क सार्ने भएको छ । महानगरले पिक एन्ड ड्रप सिस्टम लागु गरेसँगै टुँडिखेल रत्नपार्क वरपर यात्रु तथा चालकलाई असहज भएको भन्दै बसपार्क सार्न लागेको हो ।

महानगरपालिकाका निर्देशक हरिबहादुर कुँवरले रत्नपार्क तथा टँुडिखेल एरियामा व्यवस्थित नभएकाले पुरानो बसपार्कलाई स्थानान्तरण गरी नयाँ बसपार्क र अन्य पायक पर्ने स्थानमा सार्न लागिएको बताए ।

‘महानगर अब एगे्रसिभ बन्दै छ । सडकको जाम हटाउन कुनै पनि काम बाकी राख्दैन । कोटेश्वरको जाम हटाउन तीन वैकल्पिक बाटो सञ्चालन गर्ने क्रममा छौं,’ निर्देशक कुवँरले भने । महानगरले कोटेश्वर, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु कलङ्कीमा समेत पिक एन्ड ड्रप कडा रुपमा प्रस्तुत गर्दै छ । तार व्यवस्थापनतर्फ अब इन्टरनेट सर्भिस प्रोभाइडर (आइस्पान) तथा दूरसञ्चार सेवाप्रदायकलाई समेत पुराना तार झिक्न आदेश दिइसकेको छ । ट्राफिक तथा पुलिसका तारहरुलाई पनि व्यवस्थित गर्न लागेको कुवँरको भनाइ छ ।

महानगरले नै अस्थायी रुपमा दुई वर्षका लागि भूकम्पपछि वागबजारमा रहेको बसपार्कलाई खुल्लामञ्चको आधा भागमा बसपार्क राखेको थियो । अहिले सो बसपार्क व्यवस्थित छैन ।

कालोपत्रे उक्किएर अहिले सो क्षेत्र धुलाम्मे मात्र छैन, फोहोरले दुर्गन्धित देखिन्छ । यहाँ वरपरका होटल तथा पसलसमेत व्यवस्थित छैनन् । उता फुटपाथ पसलले बसपार्क क्षेत्रलाई नै कुरुप बनाइसकेको छ ।

त्यस क्षेत्रमा बसपार्कका कारण वीर हस्पिटल तथा असनतर्फ जाने मानिसले अप्ठ्यारो र चालकलाई पनि समस्या भइरहेको छ । दुई वर्षअघि नै बसपार्कलाई व्यवस्थित गनुपर्ने भए पनि महानगरले कुनै पनि प्रक्रिया अगाडि बढाएको थिएन ।

अब बसपार्कबाट दोलखा, रामेछाप, ओखलढुङ्गा, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा सञ्चालन हुँदै आएका बस नयाँ बसपार्क भएर चल्नेछन् । त्यस्तै काठमाडौं उपत्यकामा चल्ने लोकल बसलाई उचित स्थानको पहिचान गरिने महानगरको योजना छ ।

बसपार्कमा अहिले हिलो, धूवाँधूलो, फुटपाथ पसल, काठमाडौंबाहिर जाने बसको कमजोर व्यवस्थापनले सो क्षेत्र कुरुप भएको छ भने ठूला बस पल्टिने खाल्डा पनि बसपार्कको मुख्य समस्या हो । बसपार्कमा झन् बेलुकीको समयमा गाडी नपाएर यात्रु समस्यामा पर्ने गरेका छन् ।

त्यस्तै विद्युत प्राधिकरण तथा अइस्पानलाई महानगरले पुराना काम नलाग्ने तार हटाउन निर्देशनसमेत दिइसकेको छ ।