ब्याजदर वृद्धिको असर : सिद्धार्थ बैङ्कको ऋणपत्र बिकेन, २२५ करोडको निष्कासन गर्दा ७ करोडको मात्र गयो

मुद्धतिको ब्याजदर अधिक बढेपछि नेपाल राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरुले ब्याजदर घटाएर एक अंकमा झारेका छन् । ब्याजदर घटेर ऋणपत्रको भन्दा कम हुँदा पनि बिक्री हुन छाडेको छ ।

काठमाडौं । सिद्धार्थ बैङ्कले निष्कासन गरेको ऋणपत्र (डिवेञ्चर) ७ करोड रुपैयाँको मात्र बिक्री भएको छ । बैंकले वार्षिक १०.५ प्रतिशत ब्याज दिने गरी १ हजार दरका २ अर्ब २५ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता निष्कासन गरेको थियो ।

अझै २ अर्ब १८ करोड रुपैयाँको ऋणपत्र बिक्री हुन बाँकी छ । संस्थागत लगानीकर्ताले खरिद नगरेकाले बिक्री नभएको हो । निष्कासन बन्द हुने अन्तिम दिन सोमबार ७ करोड रुपैयाँको मात्र बिक्री भएको एनआइबीएल एस क्यापिटल लिमिटेडका बिक्री शाखा अधिकृत मनिस शाहीले बताए । सोमबार ऋणपत्र बिक्रीको समय सकिँदासम्म ७ करोडको बिक्री भएपनि अन्य संस्थागत कम्पनीहरुले ऋणपत्र खरिदका लागि प्रतिवद्धता जनाएको उनले बताए ।

उनका अनुसार सबै ऋणपत्र बिक्री हुने संभावना छ । ऋणपत्र २०८२ मा परिपक्व हुने छ । ऋणपत्र न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

यसअघि सानिमा बैंकले पनि २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेकोमा १ अर्ब ३७ करोड रुपैयाँ मात्र बिक्री भएको थियो । बैंकको ब्याजदर बढेकाले यसको असर ऋणपत्रमा परेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहाल बताउछन् । क्यापिटल नेपालसंग कुरा गर्दै उनले ऋणपत्र बिक्री नहुनुको कारण मुद्धतिको ब्याजदर बढी हुनु नै प्रमुख कारण रहेको बताए ।

मुद्धतिको ब्याजदर अधिक बढेपछि नेपाल राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरुले ब्याजदर घटाएर एक अंकमा झारेका छन् । ब्याजदर घटेर ऋणपत्रको भन्दा कम हुँदा पनि बिक्री हुन छाडेको छ । हालसम्म सिद्धार्थका अतिरित्त एनआईसी एसिया बैंक र सानिमा बैंकले ऋणपत्र निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले ऋणपत्रको४० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने व्यवस्था गर्न लागेको छ ।