उखुको मूल्य सरकारले तोकेपछि उद्योगीले पनि चिनीको मूल्य बढाए

उखु नसुक्दै बिक्री होस भन्ने उद्देश्यले उखुको खरिद मूल्य तोके पनि तत्काल चिनीकोे मूल्य तोक्ने स्थितिमा उद्याेग मन्त्रालय छैन । उद्याेगीले उखुकाे नयाँ मूल्य अनुसार चिनीकाे नयाँ मूल्य प्रस्ताव गरेका छन् । तर, त्याे मूल्य अन्तिम हाेइन, उनीहरूले प्रस्ताव गरेकाे मूल्य स्वीकार गर्न सकिन्न ।

काठमाडौं । सरकारले उखुको मूल्य ४ सय ७१ रुपैयाँ तोकेपछि चिनी उद्योगीहरुले चिनीको मूल्य निर्धारण गरेर सरकारलाई पठाएका छन् ।
सरकारले तोकेको उखुको मूल्यलाई आधार मानेर उद्योगीहरुले आफ्नो लागत सहित चिनीको एक्स फ्याक्ट्री मूल्य निर्धारण गरेका हुन् ।

चिनी उद्योग सङ्घले सरकारलाई उपलब्ध गराएको मूल्य अनुसार एक्स फ्याक्ट्री मूल्य प्रतिकिलो ७८ रुपैयाँ १० पैसा तोकिएको छ ।
चिनीको उत्पादन लागतमा नाफा जोडेर सङ्घले चिनीको खुद्रा मूल्य तोकेर मन्त्रालयमा पठाएको हो । सरकारले यसअघि प्रतिक्वीन्टल उखुको मूल्य ४ सय ७१ रुपैयाँ २८ पैसा तोकेको थियो ।

एक क्वीन्टल उखुबाट ९ किलो चिनी उत्पादन हुन्छ । प्रतिक्वीन्टल उखुको मूल्य ४ सय ७१ रुपैयाँ तोकिएको छ । यसलाई हिसाव गर्दा उखुको लागत अनुसार प्रतिकेजी चिनीको मूल्य ५३ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी, चिनी प्रशोधन खर्चबापत १३ रुपैयाँ ६७ पैसा, मोलासिस एवम् बगास बिक्रीबाट २ रुपैयाँ ६५ पैसा, नाफा बापत प्रतिकिलो ४ रुपैयाँ ८२ पैसा, मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत भ्याट जोड्दा चिनीको प्रतिकिलो मूल्य ७८ रुपैयाँ १० पैसा पर्ने उद्योगीले जनाएका छन् ।

उद्योगीहरुले चिनीको खुद्रा मूल्य सम्वन्धी प्रस्ताव आएको आपूर्ति तथा बाणिज्य मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ‘उद्योगीहरुले चिनीको खुद्रा मूल्य प्रस्ताव पठाउनु भएको छ’ उनले भने, ‘हामी चिनीको उपभोक्ता मूल्य प्रतिकिलो ७० रुपैयाँ भन्दा बढि हुन दिने पक्षमा छैनौं ।’
उखु नसुक्दै बिक्री होस भन्ने उद्देश्यले उखुको खरिद मूल्य तोके पनि तत्काल चिनीकोे मूल्य तोक्ने स्थितिमा नरहेको ढकालले बताए ।