सरकार र चिनी उद्योगीबीच रस्साकस्सी, अन्ततः बढ्यो चिनीको उपभोक्ता मूल्य

उद्योगका अनुसार सरकारले दुई वर्षअघि नै चिनीको मूल्य ६३ रुपैयाँ कामय गरेको थियो । ‘अहिले पनि त्यति मूल्य पुगेको छैन, अहिले भ्याटबाहेक ६२ रुपैयाँ मात्रै पुग्छ । भ्याटसहित मात्रै ७० रुपैयाँ पुगेको हो,’ अग्रवालले भने, ‘सरकारसँग गरेको माइन्युट नै हामीसँग छ । आवश्यक परे उपलब्ध गराउँछु ।’

काठमाडौं । उद्योेगीले चिनीको मूल्य बढाएपछि सरकार र चिनी उद्योगीबीच मूल्यलाई लिएर रस्साकस्सी परेको छ । उद्योगीले गतवर्ष उत्पादन भएको चिनीको मूल्य प्रतिकेजी पाँच रुपैयाँसम्म बढाएपछि उद्योगी र सरकारबीच विवाद चुलिएको छ ।

यस अघिसम्म प्रतिकिलो ६५ रुपैयाँ ‘एक्स फ्याक्ट्री प्राइस’ तोकेका उद्योगीले केही दिन अघि प्रतिकेजी चिनीको मूल्य ७० देखि ७१ रुपैयाँसम्म पु¥याएका छन् । ‘हामीले निरन्तर घाटा खाएर चिनी बेचेको र त्यसैका कारण किसानलाई समयमा भुक्तानी गर्न नसकेका हाैं,’ चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले भने, ‘सधैभरि घाटा खाएर चिनी बेच्न नसकिने भन्दै लागत अनुसार मूल्य समायोज गर्न खोजेको हो । अझै लागत अनुसार मूल्य तय भएको छैन ।’

‘दसैं तथा तिहारमा सरकारले विशेष अनुरोध गरेर मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ५७ रुपैयाँमा चिनी बेचेको हो । सधैभरि त्यही मूल्यमा चिनी बेच्न कहाँ सकिन्छ’ अग्रवालले भने, ‘लागत अनुसार मूल्य तय गर्न नपाए, उखुको भुक्तानीमा असन्तुलन हुन्छ । त्यही भएर लागत अनुसार मूल्य पु¥याउन लागिएको हो । अझै पुगको छैन ।’

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चिनी उद्योगीलाई बढेको चिनीको मूल्यबारे छलफलका लागि बोलाएको बताए । ‘चिनीको मूल्यवृद्धि बारे विभागले चासो लिएर उद्योगीलाई बोलाएको हो,’ उनले भने, ‘अहिलेसम्म निरन्तर घाटा खाएर चिनी बेचेको तर अब घाटामा चिनी बेच्न नसक्ने जवाफ दिए ।’

सधै घाटा खाएर चिनी बेच्नुपर्ने अनि किसानको भुक्तानी समयमै भएर भनेर भन्न मिल्छ भन्ने जवाफ उद्योगीले दिएको गौचनको भनाइ छ । ‘चिनीको मूल्यको विषयमा उद्योगीसँग झण्डै हात हालाहालको स्थिति आयो,’ उनले भने, ‘तर, ७० रुपैयाँ भन्दा कम मूल्यमा चिनी बेच्न नसक्ने उडान उद्योगीको छ ।’

उद्योगीले एक्स फ्याक्ट्री प्राइस ७० रुपैयाँ पु¥याएपछि उपभोक्ता मूल्य ७५ देखि ८० रुपैयाँ पुगेको गौचनको भनाइ छ । ‘चिनीको मूल्य बढेको छ, त्यही विषयमा कुरा गर्न उद्योगीलाई बोलाएको हो । तर, अन्तिम निर्णय हुन सकेन । उद्योगीहरु ७० रुपैयाँ भन्दा कम मूल्यमा चिनी बेच्न तयार छैनन्,’ उनले भने ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र सचिव चन्द्र घिमिरे बाहिर भएकाले के गर्ने भन्ने टुङ्गो लागेको छैन । ‘मन्त्री र सचिव नेपाल आउने वित्तिकै सरकारले निर्णय गर्छ’ उनले भने । उद्योगका अनुसार सरकारले दुई वर्ष अघि नै चिनीको मूल्य ६३ रुपैयाँ कामय गरेको थियो । ‘अहिले पनि त्यति मूल्य पुगेको छैन्, अहिले भ्याट बाहेक ६२ रुपैयाँ मात्रै पुग्छ । भ्याट सहित मात्रै ७० रुपैयाँ पुगेको हो,’ अग्रवालले भने, ‘सरकारसँग गरेको माइन्युट नै हामीसँग छ । आवश्यक परे उपलब्ध गराउँछु ।’