मोफसलमा सेयर कारोबार : ब्रोकर कम्पनीका शाखा सबै नोक्सानमा

बजार घट्दै गएपछि ब्रोकर मात्र नभई मोफलसलबाट सेयर किन्ने लगानीकर्ता पनि डुबेका छन् । सेयर बजार १ हजार ८८१ अङ्कमा पुगेर झर्न थालेपछि नेपाल धितोपत्र बोर्डले बजार विस्तार गर्नका लागि मोफसलमा पनि कारोबार विस्तार गर्ने योजना ल्याएको थियो ।

काठमाडौं । काठमाडौं उपत्यका बाहिर मोफसलमा शाखा खोलेर सेयर कारोबार गर्ने धितोपत्र दलाल (ब्रोकर) कम्पनी घाटामा गएका छन् । मोफसलमा शाखा विस्तार गरेर सेयर कारोबार गर्ने सबै नोक्सानमा रहेको ब्रोकरहरुले बताएका छन् । मोफसलमा १७ ब्रोकरका ४१ ओटा शाखा छन् ।

बजार घट्दै गएपछि ब्रोकर मात्र नभई मोफलसलबाट सेयर किन्ने लगानीकर्ता पनि डुबेका छन् । सेयर बजार १ हजार ८८१ अङ्कमा पुगेर झर्न थालेपछि नेपाल धितोपत्र बोर्डले बजार विस्तार गर्नका लागि मोफसलमा पनि कारोबार विस्तार गर्ने योजना ल्याएको थियो ।

बोर्डको सोही योजनाअनुसार ब्रोकरहरुले विराटनगर, धरान, बुटवल र नेपालगञ्जलगायत देशका विभिन्न सहरी क्षेत्रमा शाखा विस्तार गरे । सेयर बजार घटेपछि मोफसलमा कारोबारमा भारी गिरावट आएको नेपाल ब्रोकर एसोसिएनका अध्यक्ष भरत रानाभाटले बताए । सेयर बजार निरन्तर घटेपछि कारोबारमा गिरावट आउँदा अहिले काठमाडौंका ७० प्रतिशत ब्रोकर कम्पनी नै घाटामा भएको उनले बताए ।

समग्र नेपाली पुँजी बजार ओरालो लागिरहेको समयमा उपत्यकाबाहिर रहेका शाखा सबै घाटामा गएको उनले सुनाए । पुँजी बजार १ हजार ८८१ को आसपास रहेको समयमा शाखा स्थापना गर्नेहरुको त्यही समयमा केही सुधारात्मक अवस्था रहे पनि हाल सबैको हालत खराब भएको रानाभाटको भनाइ छ ।

सेयर बजार ओरालो लागेपछि मोफलसका शाखामा सेयर कारोबार न्यून भएको कालिका सेक्युरिटिज प्राइभेट लिमिटेडका सञ्चालक नरेन्द्र सिजापति बताउँछन् । ‘मोफसलमा कारोबार विस्तार गर्न बोर्डले शाखा खोल्न लगायो, ब्रोकरले पनि खोले । अहिले ती शाखाबाट कारोबार न्यून भएपछि मासिक १० लाख रुपैयाँभन्दा बढी घाटा भएको छ,’ सिजापतिले भने ।

ब्रोेकर मात्र घाटामा छैनन्, मोफसलबाट सेयर कारोबार गर्ने साना लगानीकर्ता पनि डुबेको उनको भनाइ छ । मोफसलमा सेयर कारोबार पुर्याउन बोर्डले जबरजस्ती पठाएको उनको भनाइ छ । मोफसलमा बजार बुझेर लगानी गर्ने कम भएकाले धेरैको लगानी डुबेको सिजापतिले जानकारी दिए ।

कुल जनसङ्ख्याको साढे ७ प्रतिशतले सेयरमा लगानी गरेका छन् । मोफसलका लगानीकर्ताले वास्तविक सूचना नपाउने र नबुझेर लगानी गर्दा पछिल्लो समयमा डुबेको उनको भनाइ छ । लगानीकर्ता डुबेपछि थप लगानी हुन नसकेर कारोबार बढ्न नसकेको उनले जानकारी दिए ।