टिम्बर कर्पोरेशनको सोमबार सम्पन्न साधारणसभाले सेयरधनीलाई स्थापनाकालदेखि पहिलोपटक सो बोनस सेयर बाँड्ने निर्णय गरेको महाप्रबन्धक राजु लौडारीले जानकारी दिए ।
काठमाडौ । पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले सेयरधनीलाई पहिलो पटक ३२७ प्रतिशत बोनस सेयर दिने भएको छ ।
टिम्बर कर्पोरेशनको सोमबार सम्पन्न साधारणसभाले सेयरधनीलाई स्थापनाकालदेखि पहिलोपटक सो बोनस सेयर बाँड्ने निर्णय गरेको महाप्रबन्धक राजु लौडारीले जानकारी दिए ।वन तथा वातावरण मन्त्रालयअन्तर्गतको टिम्बर कर्पोरेशनमा हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ३८.३१ प्रतिशत, अर्थ मन्त्रालयको ३३.४०, वन मन्त्रालयको ४.९१, उद्योग विभागको ९.८१ र वन तथा भू–संरक्षण विभागको ९.८२ प्रतिशत सेयर छ ।
यसबाहेक साधारणसभाले कर्मचारीलाई बोनस ऐनअनुसार बोनस दिने निर्णय गरेको छ । टिम्बर कर्पोरेशनले २०५० सालपछि पहिलोपटक कर्मचारीलाई बोनस प्रदान गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ मा टिम्बर कर्पोरेशनको कुल आम्दानी ५० करोड ९८ लाख ४० हजार ४८८ रुपैयाँ छ । गत वर्ष संस्थाले १० करोड १३ लाख ४५ हजार रुपैयाँ खुदनाफा गरेको महाप्रबन्धक लौडारीले जानकारी दिए।
गत आवमा टिम्बर कर्पोरेशनले १७ हजार ४१० सेवाग्राहीलाई काठ दाउरा उपलब्ध गराएको थियो । साथै भूकम्प प्रभावित संरचनामा गत आवमा ६२ हजार ६२६ घनफिट काठ उपलब्ध गराएको विवरण सार्वजनिक गरिएको छ । यति हुँदाहँुदै पनि काठको कमीले टिम्बर कर्पोरेशनले जनताको मागअनुसार काठ र दाउरा उपलब्ध गराउन सकेको छैन ।
टिम्बर र वन पैदावार गाभ्ने प्रक्रिया अन्तिम चरणमा
वन मन्त्रालयअन्तर्गतका टिम्बर कर्पोरेशन र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
मन्त्रिपरिषद्ले गत साउन १८ गते दुवै संस्थालाई एकापसमा गाभ्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार दुवै संस्थाका सञ्चालक समिति र कर्मचारीको संयुक्त बैठक बसेर गाभ्ने प्रक्रिया अघि बढाएका हुन् ।
गत मङ्सिर १३ गते दुवै संस्थाका सञ्चालक समितिको संयुक्त बैठकले संस्था गाभ्ने सम्बन्धमा आवश्यक निर्णय गरेका छन् । यही पुस ९ गतेको टिम्बर कर्पोरेशनको विशेष साधारणसभाले दुवै संस्था गाभिँदा सम्बोधन गर्नुपर्ने विषयका सम्बन्धमा आगामी सञ्चालक समितिको संयुक्त बैठकमा छलफल गर्ने निर्णय गरेको थियो । रासस