नेपालमा पार्टनरसिपमा जमेका व्यवसाय

माओवादीको सशस्त्र द्वन्द्व हुँदा होस् या माओवादी मूल धारमा आएपछि बनेको नौमहिने अस्थिर सरकार नै किन नहोस्, निजीक्षेत्रले आफ्नो लगानी विस्तारलाई रोकेन । जति तीव्र लगानी हुनुपर्ने त्यो ग्राफ नदेखिए पनि उद्योग व्यापारमा ठूला समूह (ग्रुप)ले लगानीलाई ठप्पचाहिँ पारेनन् ।

‘लगानीका लागि वातावरण बनेन,’ अझै पनि निजीक्षेत्रले लगानीका सन्दर्भमा उल्लेख गर्ने भनाइ हो यो ।

विगतको राजनीतिमा यस्तो भनाइ उपयुक्त देखिए पनि अब यस्तो बहानाको अर्थ छैन । मुलुकमा माओवादी द्वन्द्वलाई अन्त्य गर्दै भएको शान्तिपूर्ण सम्झौता, संविधानसभाको निर्वाचन, त्यसपछि संविधान निर्माण र सङ्घीयतापछिको तीन तहको निर्वाचनपछि पूर्ण बहुमत सरकार निर्माणले राजनीतिक स्थिरताको सङ्केत गरेको छ ।

विगतमा राजनीतिक अस्थिरतासँगै मजदुर समस्या, विद्युत् आपूर्ति र भूमिगत गिरोहको चन्दाआतङ्कले पनि निजीक्षेत्रलाई माथि उठ्न दिएन । तर, त्यही कठिन बेलामा पनि देशभित्र बैङ्क, टेलिकम, सिमेन्ट, जलविद्युत्, स्टिलदेखि होटलसम्मका उद्योगमा लगानी उल्लेख्य मात्रामा बढिरहेको देखिन्छ ।

माओवादीको सशस्त्र द्वन्द्व हुँदा होस् या माओवादी मूल धारमा आएपछि बनेको नौमहिने अस्थिर सरकार नै किन नहोस्, निजीक्षेत्रले आफ्नो लगानी विस्तारलाई रोकेन । जति तीव्र लगानी हुनुपर्ने त्यो ग्राफ नदेखिए पनि उद्योग व्यापारमा ठूला समूह (ग्रुप)ले लगानीलाई ठप्पचाहिँ पारेनन् ।

यस अवधिमा धीमा गतिमा भए पनि लगानी बढ्नु र उद्योगहरु थपिनुको एउटा कारण हो, साझेदार व्यवसाय । नेपालभित्रका व्यवसायी र व्यावसायिक घराना मिलेर होस् या अन्तर्राष्ट्रिय कम्पनीसँग नेपाली व्यवसायी मिलेर संयुक्त लगानीमै किन नहोस्, नेपालमा साझेदारी व्यवसाय फस्टाउँदै गएको छ ।

नेपालमा साझेदारी व्यवसायलाई संस्थागत रुपमा लैजाने क्रम पछिल्लो पटक व्यापक भएको छ । तर खासगरी नेपालमा मारवाडी व्यवसायी भित्रिएपछि व्यापार तथा उद्योगमा सहकार्यको ग्राफ बढ्दै गएको छ । अझ २०४१ सालपछि मुलुक बिस्तारै खुला बजार अर्थतन्त्रमा प्रवेश गरेर बैङ्क, बिमा, टेलिकमका साथै अन्य क्षेत्रमा पनि निजी लगानीको बाटो खुला गरेपछि सहकार्यको चरण नयाँ चरणमा प्रवेश गरेको मान्न सकिन्छ ।

जङ्गबहादुर राणाले नेपालमा व्यवसाय गराउने उद्देश्यले विसं १९१० ताका भारतको बेतिया र राजस्थानबाट केही मारवाडी व्यवसायीलाई नेपाल भित्राएका थिए । यसरी नेपाल भित्रिएका मारवाडी समुदायले नेपालमा व्यापार र उद्योगमा साझेदारीलाई फस्टाएका हुन् । विसं १९९२ तिर स्थापना भएको नेपालको पहिलो उद्योग विराटनगर जुटमिल्स सुरु गर्दा रामलाल गोल्छा र नौलखा परिवारले सहयोग पु¥याएका थिए । दुई परिवारको सहयोग साझेदारीको ‘लिगेसी’ अहिलेको आधुनिक उद्योग र व्यापारमा पनि देखापरिरहेको छ । त्यसपछि १९९४ मा नेपाल बैङ्कमा ६० प्रतिशत सरकारले आफ्नो हिस्सा राखेर ४० प्रतिशत निजीक्षेत्रलाई दिइएको थियो । सुरुवाती चरणमा नेपाल बैङ्क जम्मा १० जना सेयरधनीले खोलेका थिए ।

पछिल्लो पटक देशभित्रको वातावरण झनै व्यवसायमैत्री हुँदै गएको छ । विश्व बैङ्क समूहले गत कात्तिक १५ गते सार्वजनिक गरेको ‘डुइङ बिजनेस इन्डेक्स २०१९’ को ‘ट्रेनिङ फर रिफर्म रिपोर्ट’मा नेपालमा सुरुआती व्यवसाय गर्न भारतभन्दा राम्रो रहेको उल्लेख छ । व्यवसाय गर्न दक्षिण एसियामा नेपाल चौथो सहज देशका रुपमा उल्लेख छ । भारत, भुटान र श्रीलङ्कापछि नेपाल छ ।

विश्वका १ सय ९० मुलुकलाई बेन्द्रमा राखेर गरिएको अध्ययनमा नेपाल १ सय १० स्थानमा छ । समग्रमा यो यसअघिको तुलनामा ५ स्थान तल हो । तर विश्व बैङ्कको प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै नेपालले त्यसलाई सच्याउन आग्रह गरिसकेको छ । त्यसलाई पुनरवलोकन गर्न विश्व बैङ्क समूहको टोली नेपाल आइ पनि सकेको छ ।

‘विश्व बैङ्कको ‘फम्र्याट’ नै त्रुटिपूर्ण छ । कतिपय कुराहरु यो सरकार आउनुअघि नै समीक्षा गरिएको छ । कतिपय रिपोर्ट यो सरकारसँग असम्बिन्धित छ,’ अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिवेदनप्रति असहमति जनाउँदै भनेका छन्, ‘हामीले नेपालको अवस्थाका विषयमा पुनः अध्ययन गर्न आग्रह गरेका छौं र उनीहरुले अध्ययन गरिरहेका छन् ।’

अर्थमन्त्री खतिवडा भने स्थिर सरकार भएकाले पनि व्यवसायका लागि झनै राम्रो वातावरण बनिरहेको दाबी मात्रै गर्दैनन्, अब निजीक्षेत्रले थप लगानी गर्न कुनै पनि बहानाबाजी नचल्ने बताउँछन् । अर्थमन्त्री खतिवडाले भने जस्तै निजीक्षेत्रले पनि लगानीका लागि नयाँ योजना बनाइसकेको हुनुपर्छ र छन् पनि ।

मुलुकमा अस्थिर सरकार हुँदा होस् या स्थिर सरकार जुनै बेला पनि जोखिमलाई बाँडेर व्यवसायमा हात हाल्ने व्यापारिक समूहको साझेदारीले व्यवसाय र उद्योगलाई अगाडि बढाइरहेको छ ।

साझेदारीमै फड्को

व्यापार होस् या उद्योग पछिल्लो पटक ठूला व्यापारिक समूहमा साझेदारीको हात फैलिने क्रम बढ्दो छ । उत्पादनमूलकदेखि सेवाक्षेत्रमा दुई समूहदेखि लिएर त्यसभन्दा बढी समूहले साझेदारीमा आफ्नो व्यवसायलाई फैलाइरहेका छन् ।

नेपालमा धेरै व्यावसायिक घरानाले साझेदारी व्यवसाय अघि बढाएका छन् । विशाल ग्रुपले साङ्घाई ग्रुपसँगको सहकार्य होस् या चौधरी ग्रुपले एनई ग्रुपसँगको साझेदारी नै किन नहोस्, ठूला ग्रुप कुनै न कुनै क्षेत्रमा साझेदारी गरेर अगाडि बढेका छन् ।

विशाल ग्रुप र त्रिवेणी ग्रुप (साङ्घाई)ले सिमेन्टदेखि हाइड्रोमा साझेदारी गरेका छन् । तीन सिमेन्ट उद्योगमध्ये त्रिवेणीले घोराही सिमेन्टमा विशाल ग्रुपसँग साझेदारी गरेको छ । पाँच अर्बभन्दा बढी लगानी रहेको घोराही सिमेन्टमा ६ वर्षअघि दुई ग्रुपले साझेदारी गरेका हुन् । दुई ग्रुपको घोराही सिमेन्टसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी), लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल र एनआईसी एसिया बैङ्कमा पनि सहकार्य छ ।

सिमेन्टमा सबैभन्दा धेरै साझेदारी शिवम् सिमेन्टमा छ । शिवम् सिमेन्टमा शारदा ग्रुप, एचआर गोयल ग्रुप, जेबी मारु ग्रुप, लक्की ग्रुप (सतीश मोर परिवार, रोहित गुप्ता परिवार), देवेनरा ग्रुप र भीमसरिया ग्रुपको लगानी छ । हाल दैनिक तीन हजार टन सिमेन्ट र १ हजार ९ सय टन क्लिङ्कर उत्पादन क्षमता रहेको शिवम् सिमेन्टमा पनि ५ अर्ब लगानी पुगिसकेको छ ।

शिवम् सिमेन्ट प्रालिले चीनको होङ्सीसँग साझेदार गरेर नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग स्थापना गरेको छ । होङ्सी शिवम् सिमेन्टमा ३६ अर्बभन्दा बढी लगानी भएको छ, जसको ३० प्रतिशत नेपाली ग्रुप र ७० प्रतिशत चिनियाँ ग्रुपको लगानी छ ।

सिमेन्टमै अर्काे साझेदारीमा ऋद्धिसिद्धि सिमेन्टमा पनि देखिएको छ । उत्पादन र सेवाक्षेत्रमा स्थापित दुई ग्रुप अम्बे र शङ्कर ग्रुप मिलेर ६ अर्ब लगानीमा ऋद्धिसिद्धि सिमेन्ट स्थापना गरेका हुन् । त्यस्तै, शङ्कर ग्रुप र सौरभ ग्रुप साझेदारीमा जगदम्बा सिमेन्ट उत्पादन भइरहेको छ । त्यस्तै यी दुई ग्रुपले जगदम्बा सिन्थेटिक एन्ड पाइप उद्योगमा पनि साझेदारी गरेका छन् । दुई ग्रुपले जगदम्बा स्पिनिङ मिल्समा समेत मिलेर लगानी गरेका छन् ।

सौरभ ग्रुपले हङकङको कृष्ण इन्टरनेसनलसँग मिलेर पाँच अर्ब लगानीमा क्लिङ्कर उद्योग स्थापना गरेर उत्पादन सुरु गरिसकेको छ । यी दुई ग्रुपले सर्वाेत्तम सिमेन्टमा पनि साझेदारी गरिरहेका छन् । तीव्र सहरीकरण र पूर्वाधार निर्माणका काम बढ्दै जानुले सिमेन्ट उद्योगको स्थापना पनि बढिरहेको छ । ठूला सिमेन्ट उद्योग र आफ्नै क्लिङ्कर स्थापनाका लागि पर्याप्त पुँजी आवश्यक पर्ने भएकाले स्थापित ठूला ग्रुप साझेदारीमा ठूला सिमेन्ट उद्योग स्थापनामा जुटेका छन् ।

मारुती सिमेन्टमा गोयल समूह (दिनबन्धु गोयल, मनोज गोयल) र राठी समूहको साझेदारी छ । यसमा भारतीय व्यवसायी सुनिल खेम्काको समेत साझेदारी छ । ३ अर्ब ५० करोडमा स्थापना भएको उद्योगमा पछिल्लो पटक २ अर्ब ५८ करोड लगानी थप्ने कम्पनीले घोषणा गरिसकेको छ ।

बृज सिमेन्टमा केडिया अर्गनाइजेसन र शान्ता सिमेन्ट इन्डियासँगको साझेदारी छ । नेपालको सबैभन्दा पुरानो व्यावसायिक घराना रहेको केडिया परिवार आफैंमा कुनै संस्थाभन्दा ठूलो छ । तीन दर्जनभन्दा बढी उद्योग र व्यापार रहेको यो ग्रुपमा परिवारका सदस्यबीच नै साझेदारी छ ।

अर्घाखाँची सिमेन्टमा पनि मुरारका अर्गनाइजेसन, केडिया अर्गनाइजेसन र सिद्धार्थ ग्रुपको लगानी छ । पशुपति मुरारका, जगदीश अग्रवाल, मनोज केडियासहित भारतीय व्यवसायी गौरव अग्रवालको समेत अर्घाखाँची सिमेन्टमा साझेदारी छ । गौरव अग्रवालको भारतमा उमा सिमेन्ट इन्टरनेसनल छ । ४ अर्बभन्दा बढी लगानीमा स्थापना भएको अर्घाखाँचीमा थप ४ अर्ब लगानी हुँदै छ । क्षमता विस्तार गरेर दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादनका लागि अन्तिम तयारी गरेको छ । मुरारकाबाहेक यही ग्रुपले २ अर्ब लगानीमा श्री स्टिल उद्योगको पनि सञ्चालनको तयारी गरेका छन् ।

काठमाडौं स्टिलमा पनि तीन समूहको साझेदारी छ । भाटभटेनी ग्रुपका मीनबहादुर गुरुङसहित स्वरुप गुरुङ र केशवराज पोखरेलको काठमाडौं स्टिलमा संयुक्त लगानी छ । केही सिमेन्ट उद्योगमा ‘वर्किङ’ तथा केहीमा ‘स्लिपिङ पार्टनर’हरु साझेदारका रुपमा रहेको पाइन्छ । सिमेन्ट उद्योगमा मात्र होइन, व्यापार र अरु उद्योगमा पनि नेपालमा साझेदारी व्यवसायले नयाँ रुप लिइसकेको छ ।

कान्साई नेरोल्याक पेन्ट्समा कान्साई पेन्ट्स जापान, कान्साई नेरोल्याक पेन्ट्स, भारत र सालिमार ग्रुप नेपालको साझेदारी छ । जापान र भारतको ७० प्रतिशत र नेपाली साझेदारको ३० प्रतिशत सेयर छ ।

एउटा ग्रुप आफ्नो व्यापार र उद्योगमा स्थापित भइसकेपछि अर्काे ग्रुपसँग मिलेर तेस्रो उद्योग र थप नयाँ व्यवसाय गर्ने चलनले नेपालको उद्योग र व्यापारलाई समेत टेवा पु¥याइरहेको छ । नेपालमा लामो समयदेखि नै साझेदारी व्यवसायमा रहेका ठूला समूह पनि छन् । नेपालमा राठी र शारदा ग्रुपको पार्टनरसिप लामो समयदेखि चल्दै आएको छ । त्यस्तै मुरारका अर्गनाइजेसन र शारदा ग्रुपको पार्टनरसिप पनि अरु ग्रुपको साझेदारीभन्दा लामै छ । यी ग्रुपको साझेदारी नेपालमा ५० वर्षभन्दा बढी बितिसकेको छ ।

राठी र शारदा ग्रुपले विगतमा राइस मिल, खाद्यान्न, लत्ताकपडा र सुनको व्यापारमा सँगसँगै रहेर काम गरेका थिए भने पछि केबलवायरसम्म पनि मिलेर काम गरेका थिए । हालै मात्र उनीहरुले प्रिमियर स्टिल उत्पादन थालेका छन् । यी दुई ग्रुप १ अर्ब रुपैयाँको संयुक्त लगानी प्रिमियर अग्र्यानिक्समा पनि छ, जसले रोयल रिजर्भ ह्स्विकीदेखि विभिन्न ब्रान्डका मदिरा उत्पादन गर्छ ।

शारदा ग्रुपले जाजु ग्रुपसँग मिलेर बिस्कुट, जुस, चाउचाउ उद्योगमा लगानी गरेको छ । दुई ग्रुपको संयुक्त लगानीको कम्पनीले गुडलाइफ बिस्कुट, प्रिती, रमपम चाउचाउ, गुडलाइफ म्याङ्गो जुसलगायत उत्पादन गरिरहेको छ । उत्पादनमूलक क्षेत्रमा धागो उद्योगमा एमएस ग्रुप र गोल्यान ग्रुपको साझेदारी छ । नेपालकै ठूलो रिलायन्स स्पिनिङ मिलमा संयुक्त लगानी गरेका छन् यिनीहरुले । दुई ग्रुपको धनलक्ष्मी सिन्थेटिक कम्पनीमा पनि साझेदारी छ । २ सय ६० मेगावाट विद्युत् उत्पादनका लागि दुई ग्रुपले संयुक्त लगानी गरिरहेका छन् ।

ठूलो उद्योग र व्यवसायमा ठूला ग्रुप नै बढी देखिएको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा मुरारका अर्गनाइजेसनका प्रबन्ध निर्देशक पशुपति मुरारका बताउँछन् । ‘कतिपय सम्बन्धकै कारण ग्रुपहरुबीच साझेदारी हुन्छ, कतिपय अवस्थामा पुँजीको आवश्यकताका लागि साझेदारी हुन्छ,’ उनले भने ।

मुरारका र शारदा ग्रुपबीच लामो सहकार्य छ । नेपालमा मुरारका र शारदा परिवारले जुनसुकै व्यवसाय गरे पनि सँगै गर्ने भन्ने सम्झौता जस्तै थियो । त्यो लामो समयसम्म चल्यो । बिस्तारै दुवैको परिवार पनि बढ्दै गयो । र पछि आआफ्नो भयो ।

मुरारका भन्छन्, ‘परिवार बढ्दै जाँदा व्यवसाय पनि बढ्दै गयो । त्यसपछि अब छुट्टिनुपर्छ भन्ने पनि भयो र छुट्टाछुट्टै व्यवसाय भएको छ ।’ सुरुमा दुई ग्रुपले साझेदारी गरेका व्यवसाय र उद्योगको सम्पत्ति अझै पनि दुई ग्रुपकै स्वामित्वमा रहेको उनी बताउँछन् । मुराराका अर्गनाइजेसन र विशाल ग्रुपबीच अटोमोबाइल व्यवसायमा साझेदारी छ । दुई ग्रुपले रेनो र एमजी गाडी नेपाल भित्र्याएर बिक्री गर्दै आएका छन् ।

नयाँ उद्योगमा लगानी पनि ठूलो हुने र जोखिम पनि हुने भएकाले साझेदारीमा काम गर्नु सजिलो हुने शारदा ग्रुपका निर्देशक गौरव शारदा बताउँछन् । ‘अहिले नेपालमा जलविद्युत्, सिमेन्ट, सेवाक्षेत्रदेखि लिएर व्यापारमा साझेदारी चलिरहेको छ,’ उनले भने ।

चौधरी ग्रुप, रविभक्त श्रेष्ठ समूह संलग्न (एनई ग्रुप) र सुवर्ण श्रेष्ठहरुको समूह (आईईजी ग्रुप)को साझेदारीमा समिट होटलमा लगानी भएको छ । एनई ग्रुपले चौधरी ग्रुपसँगको सहकार्यमा झम्सिखेलमा ताज भिभान्ता होटल निर्माण गरिरहेको छ । एनई ग्रुपले सोल्टी होटलमा पनि साझेदारी गरेको छ । सोल्टी होटलमा प्रभाकरशमशेर राणाको पनि साझेदारी छ ।

एनई ग्रुप र नाङ्लो ग्रुपले नेसनल आइसक्रिम कम्पनीमा संयुक्त लगानी गरेका छन् । ह्यात होटलमा सर्राफ ग्रुप र आईसीटीसी ग्रुपको लगानी छ । नेपाल सरकारको पनि सेयर रहेको ह्यातमा विभिन्न बैङ्कको पनि साझेदारी छ ।

दुई वर्षअघि मात्र ५५ करोडमा विशाल ग्रुप, सुरेश राठी समूह, मुन्दडा ग्रुपले सीता एयर खरिद गरेका थिए । त्यस्तै विशाल ग्रुप, मुन्दडा ग्रुप र सुरभी ग्रुपको साझेदारीमा विराटनगरमा एक अर्ब लगानीमा सेन्ट्रल मल सञ्चालनमा छ ।

चन्द्रागिरी हिल्स पनि पार्टनरसिपमै सञ्चालनमा आएको हो । केबलकार, रिसोर्टसहित थपिएको नयाँ गन्तव्यमा आईएमई ग्रुप, भाटभटेनी ग्रुप, हाथवे ग्रुपलगायतको लगानी छ । यिनै ग्रुपले आईएमई लाइफ इन्स्योरेन्समा पनि संयुक्त साझेदारी गरेका छन् । डिसहोम टीभीमा आईएमई ग्रुप, प्रभु ग्रुप, सुदीप आचार्य समूह र चिनियाँ लगानीकर्ताकोे साझेदारी छ ।

काठमाडौंको ठमेलभित्र पाँच अर्ब रुपैयाँभन्दा बढीको लगानीमा निर्माण भएको छायादेवी कम्प्लेक्समा पनि साझेदारी छ । नेपाल इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडे, निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य, सुहृद घिमिरे, सुमन पाण्डे र महेश्वर श्रेष्ठ समूहले छायादेवीमा साझेदारी गरेका छन् ।

कृषिक्षेत्रमा पनि कर्पाेरेट लगानी भएको छ । ज्योति ग्रुपअन्तर्गतको हिमाल एग्रिकल्चर फर्मले मह एग्रिकल्चरसँग सहकार्य गरेको छ । एकलभन्दा साझेदारी व्यवसायमा पारदर्शिता बढी हुने भएकाले यो अझै राम्रो भएको उद्योगी प्रबलजङ्ग पाण्डे बताउँछन् । ‘पुँजी बढाउन र जोखिम वहन गर्ने पार्टनरसिपमा जाने गरिएको हो । तर यसले पुँजी मात्र बढाएको छैन, पारदर्शिता पनि बढाएको छ,’ उनले भने ।

विदेशी कम्पनीसँग जमेको पार्टनरसिप

नेपालमा विदेशी साझेदारीसँग संयुक्त लगानीमा रहेका कम्पनी झनै बढी फस्टाएका छन् । २६ वर्षअघि नेपालमा स्थापना भएको युनिलिभर नेपालमा भारतको हिन्दुस्तान लिभरको मुख्य लगानी छ । यसमा नेपाली साझेदारका रुपमा एनई ग्रुपका रविभक्त श्रेष्ठले लगानी गरेका छन् । श्रेष्ठ युनिलिभर नेपालको प्रमोटर डाइरेक्टर हुन् । स्थापनाको तेस्रो वर्षमै नाफामा गएको युनिलिभरले गत आर्थिक वर्षमा ९९ करोड ९४ लाख नाफा गरेको थियो । कम्पनीले एक वर्षको अवधिमा ४ अर्ब ८६ करोडको उत्पादन बिक्री गरेर आम्दानी गरेको थियो ।

२०३३ सालमा ललितपुरमा हिमालयन वेभरेजले उत्पादन सुरु गरेपछि नेपालमा बहुराष्ट्रिय कम्पनी भित्रिएको मानिन्छ । वार्षिक ४० करोडभन्दा बढीको कारोबार गर्ने करदातालाई ठूला करदाताका रुपमा राखिएको छ । आन्तरिक राजस्व विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ४० करोडभन्दा बढीको कारोबार गर्ने ५१ ओटा बहुराष्ट्रिय कम्पनी सञ्चालनमा छन् ।

बहुराष्ट्रिय कम्पनीका लागि नेपाल उर्वर छ । स्थानीय साझेदार र यहाँको लगानी वातावरणले बहुराष्ट्रिय कम्पनीदेखि लिएर दुई देशका संयुक्त लगानीमा भित्रिएका कम्पनीले नेपालमा राम्रो गरेका छन् । काल्र्सबर्ग, टुबोर्गलगायत बियर उत्पादन गर्ने गोर्खा बु्रअरी र कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालसँग नेपालको स्थापित ग्रुप खेतानले साझेदारी छ । खेतान ग्रुपले २०४५ सालदेखि गोर्खा बु्रअरीमा साझेदारी गरेको थियो । खेतान ग्रुपले ५० प्रतिशतको सेयर साझेदारीलाई १० प्रतिशतमा झारेको छ ।

खुकुरी रम उत्पादन गर्ने दी नेपाल डिस्टिलरी बिक्री भएपछि दुई जनाको साझेदारीमा पुगेको छ । भारतीय ग्रुप कनोईले एक अर्ब ७० करोड रुपैयाँमा बिक्री गरेपछि नेपालका वसन्त चौधरी र सिङ्गापुर बस्ने नेपाली शरदकुमार टिवडेवालाले लिएका हुन् । चौधरीले २० र टिवडेवालाले ८० प्रतिशत सेयर लिएका छन् । पछिल्लो पटक स्थापित मदिरा ओल्ड दरबारमा पनि साझेदारी छ । यसमा रवि केसी र अभिषेक श्रेष्ठले लगानी गरेका छन् ।

डाबर नेपालसँगको साझेदारी रुक्मशमशेर राणासँग छ । डाबर इन्टरनेसनलको ९७.५ प्रतिशत र रुक्मशमशेर राणाको २.५ प्रतिशत साझेदारी छ । राणा डाबर नेपालका प्रबन्ध निर्देशक हुन् । २६ वर्षअघि नेपालमा स्थापना भएको डाबर नेपालको पहिलो वर्ष ५३ लाखको कारोबार भएको थियो । अहिले यसको कारोबार १० अर्ब रुपैयाँभन्दा बढीको छ ।

नेपाल, भारत र बेलायत (यूके)को संयुक्त लगानीमा भारतमा स्थापित आईटीसी लिमिटेडले सूर्य नेपालसँग नेपालमा साझेदारी गरेको छ । नेपालमा सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा आईटीसीको ५९ प्रतिशत सेयर छ । बाँकी सेयर ज्ञानेन्द्र शाह, सिद्धार्थशमशेर राणा, योगेश्वर अमात्यलगायत नेपालीको छ ।

निजीक्षेत्रको दूरसञ्चार प्रदायक संस्था एनसेलमा पनि साझेदारी छ । मलेसियाको आजियाटा कम्पनीको ८० प्रतिशत र नेपाली भावना सिंह श्रेष्ठको २० प्रतिशत सेयर एनसेलमा छ । टेलियासोनेराले २०७२ मा आफ्नो सेयर १ खर्ब ४० अर्ब र एनसेलको औपचारिक स्वामित्वमा रहेको २० प्रतिशत सेयर ४ अर्ब ८० करोडमा आजियाटालाई बिक्री गरेको थियो । टेलियासोनेरा हुँदा उसको ६० दशमलव ४, निरजगोविन्दको २० र भाइजर ग्रुपको १९.६ प्रतिशत सेयर हिस्सा थियो ।

विदेशी कम्पनी र व्यवसायीहरुसँग मिलेर नेपालको सेवा तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढ्दै गएको छ । जलविद्युत्, होटल, सिमेन्ट, स्टिलदेखि लिएर रेस्टुरेन्टसम्म विदेशीसँग साझेदारी छ ।

गोल्छा अर्गनाइजेसनले हुलास स्टिलमा भारत गुजरातको कन्ट्रास्ट कम्पनीसँग साझेदारी गरेको छ । यो साझेदारी ३० वर्षभन्दा बढी भइसकेको छ । गोल्छाको कनक्र्याफ्ट र हेस्टर नेपालको साझेदारी हेस्टर इन्डियासँग गरेको छ । चौधरी ग्रुपले काठमाडौं, चितवनको होटलमा भारतको ताज ग्रुपसँग साझेदारी गरेको छ । दुई ग्रुपको साझेदारी श्रीलङ्का, दुबईलगायत अन्य मुलुकमा पनि छ । त्यस्तै त्रिवेणी ग्रुपले भिलवारा इनर्जी लिमिटेड भारतसँग ग्रिन भेन्चर प्रालिका लागि साझेदारी गरेको छ ।

युनिभर्सल ग्रुपले युनिभर्सल इल्डर फर्मास्युटिकल प्रालिका लागि इल्डर फर्मास्युटिकल लिमिटेड भारतसँग साझेदारी गरेको छ ।

ऊर्जामा चम्किएको साझेदारी

देशभित्रका ठूला ग्रुपबीचको साझेदारी र उनीहरुले विदेशी साझेदारसँग मिलेर जलविद्युत्मा व्यापक लगानी गरेका छन् । जलविद्युत्मा ठूलो पुँजी लाग्ने भएकाले ठूला समूह संयुक्त लगानीमा गएका हुन् । बुटवल पावर कम्पनीमा ज्योति ग्रुप, पञ्चकन्या ग्रुपलगायतको साझेदारी छ । यसले ३७.६ मेगावाटको काबेली ए, ३० मेगावाटको न्यादी, १०८ मेगावाटको तल्लो मस्र्याङ्दी, ६ सय मेगावाटको मस्र्याङ्दी २ लगायत परियोजनामा लगानी गरेको छ । बुटवल पावर कम्पनीले हिमाल पावर कम्पनीमा पनि साझेदारी गरेको छ ।

त्यस्तै भोटेकोसी पावर कम्पनीले निर्माण गरेको ४५ मेगावाटको भोटेकोसीमा नेपालको सिद्धार्थशमशेर राणा समूहको हिमाल इन्टरनेसनल इनर्जी र अमेरिकन हार्जा इन्टरनेसनल डेभलपमेन्टबीच साझेदारी छ । सानिमामाई हाइड्रोपावरमा उपेन्द्र महतो, जीवा लामिछाने, अरुणकुमार ओझालगायतको साझेदारी छ । सानिमामाईमा यूकेको एक कम्पनीको पनि साझेदारी छ । ३.५ मेगावाटको चन्द्रावती खोलामा ज्ञानेन्द्रलाल प्रधान, कुमुद दुगड, पशुपति मुरारका, नन्दकिशोर मुन्डलालगायतको साझेदारी छ । माथिल्लो मस्र्याङ्दी एमा चितवन कोई ग्रुप र चीनको सिनो हाइड्रोको संयुक्त लगानी छ ।

होटलमा पार्टनरसिप गरेका आईसीटीसी ग्रुप र सर्राफ ग्रुपले २३.५ मेगावाटको माथिल्लो सोलुमा लगानी गरेका छन् । त्यस्तै ४२ मेगावाट मिस्त्रीखोलामा आईएमई ग्रुप, भाटभटेनी ग्रुप, रामकुमार कोने, सुहृद घिमिरेलगायतको साझेदारी छ । ५२.४ मेगावाटको लिखु ४ मा विशाल ग्रुप र त्रिवेणी ग्रुपबीच साझेदारी छ भने २७ मेगावाटको दोर्दीखोला आयोजनामा आईएमई ग्रुप, सानिमा ग्रुपलगायतको लगानी छ । २० मेगावाटको माथिल्लो मोदीमा कुमुद दुगड, ज्ञानेन्द्रलाल प्रधान, साहिल अग्रवाल, नन्दकिशोर मुन्डलालगायतको लगानी छ । ८२ मेगावाटको तल्लो सोलुमा एस्सेल ग्रुप र एनएमबी बैङ्कको साझेदारी छ ।

हाइड्रोपावरमा निजीक्षेत्रले अहिलेसम्म ६ अर्ब रुपैयाँ लगानी गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले जानकारी दिएको छ ।

हेलिकोप्टरमा पनि बढ्दो सहकार्य

पछिल्लो समय हेलिकोप्टर व्यवसायमा पनि विभिन्न समूहबीच साझेदारी बढ्दै गएको छ । मनाङ एयरमा राजेन्द्र मल्ल र सतीश प्रधानहरुको स्वामित्व छ । कैलाश हेलिकोप्टरमा भने प्रतापजङ्ग पाण्डे, आशिष शेरचन, ईश्वरी पौड्याल, रमेश पण्डित, श्रीराम केशी, सुनिल श्रेष्ठलगायतको सहकार्य छ । त्यसैगरी प्रभु हेलिकोप्टरमा पनि देवीप्रकाश भट्टचन, इच्छाबहादुर तामाङ, क्याप्टेन रामेश डङ्गोललगायतको लगानी छ । माउन्टेन हेलिकोप्टरमा विज्ञानराज शर्मा, सुरेशकुमार राठी र राजेन्द्रबहादुर सिंहहरुको साझेदारी छ । खासगरी हेलिकोप्टरमा साझेदारी समूहको नाममा भन्दा पनि व्यक्तिगत हिसाबले देखिएको छ । समिट हेलिकोप्टरमा विकास राणा, सुमन पाण्डेलगायतको समूह संलग्न छ भने हेलिएभरेस्टमा इन्जिनियर जनक थापा, राजेश्वर श्रेष्ठ, ईश्वरप्रसाद लामिछाने, क्याप्टेन सुरज थापा, लाक्पा ग्यान्जेन शेर्पा, मिङ्मा शेर्पा र योगराज कँडेल शर्मालगायतको हिस्सेदारी छ । चीनको तिब्बतियन एयरको लगानी रहेको हिमालयन एयरलाइन्समा नेपालका आङछिरिङ शेर्पालगायतको लगानी छ ।

साझेदारीकै कारण वित्तीय क्षेत्रको विस्तार

१९९४ मा नेपाल बैङ्कबाट सुरु भएको वित्तीय क्षेत्रको साझेदारी २०४१ सालमा नबिल (तत्कालीन नेपाल अरब) बैङ्कको स्थापनासँगै वित्तीय क्षेत्रमा नयाँ युगको प्रवेश गरेको मानिन्छ । विदेशी लगानीसहित नबिल संयुक्त लगानीमा खुलेको पहिलो बैङ्क पनि हो । त्यसपछि बिस्तारै नेपाल इन्भेस्टमेन्ट बैङ्क, विदेशीकै लगानीसहित स्ट्यान्डर्ड चार्टर्ड बैङ्क खुलेपछि नेपालमा वित्तीय क्षेत्रको विस्तार तीव्र गतिमा बढिरहेको छ ।

अझ २०४६ को जनआन्दोलनपछि वित्तीय क्षेत्र खुला अर्थतन्त्रअन्तर्गत वित्तीय संस्थाको अनुमति धमाधम दिन थालिएपछि बैङ्क तथा वित्तीय संस्था ह्वात्तै बढ्न पुगे । अहिले पनि नबिल, स्ट्यान्डर्ड चार्टर्डसहित नेपाल–बङ्गलादेश बैङ्क, हिमालयन बैङ्क, एभरेस्ट बैङ्क, एनएमबी बैङ्क, नेपाल एसबीआई बैङ्कमा विदेशी साझेदारीसहितको लगानी छ । त्यस्तै स्थिति बिमा क्षेत्रमा पनि देखिन्छ । बिमा क्षेत्रमा पनि विदेशी लगानी र नेपालमा प्रतिष्ठित समूहहरुको लगानी छ । अहिले १८ जीवन बिमा कम्पनी, २० ओटा निर्जीवन बिमा कम्पनी र एउटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । राष्ट्रिय बिमा संस्थानमा मात्रै सरकारको एकल स्वामित्व छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्थातर्फ राष्ट्रिय वाणिज्य बैङ्कमा सरकारको एकल हिस्सा (नगण्य सर्वसाधारण) छ । २०७५ असोजसम्म सञ्चालित २८ वाणिज्य बैङ्क, ३३ विकास बैङ्क, २४ वित्त कम्पनी र ६८ लघुवित्त वित्तीय संस्था छन् ।

सञ्चालनको तयारीमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैङ्कमा सरकारसहित विशाल ग्रुप, लक्की ग्रुप, आईएमई ग्रुपलगायतको लगानी छ । २० अर्ब रुपैयाँ चुक्ता पुँजी हुने इन्फ्रास्ट्रक्चरमा १० प्रतिशत सरकारी हिस्सा छ भने सर्वसाधारणका लागि ४० प्रतिशत हिस्सा छुट्याइएको छ । बाँकी ५० प्रतिशत लगानी व्यावसायिक घरानाहरुको छ ।

पछिल्लो चरण बैङ्क तथा वित्तीय संस्थाहरु एकाआपसमा मर्ज÷गाभिने क्रमले एकअर्को घरानाहरुबीचको मिलाप बढ्दो छ । सुरुमा वित्तीय संस्था खोल्दा आआफ्नो समूहको नेतृत्वमा खुले पनि पछिल्लो समय एकीकृत हुने क्रमले छुट्टाछुट्टै नेतृत्व सम्हालेका समूहहरु मिलेर जाने बाटो बन्दै गएको छ । यसले वित्तीय क्षेत्रलाई अझ मजबुत बनाउने र व्यावसायिक समूहहरु पनि मिलेर जाने वातावरण बन्दै गएको छ । यसबीचमा धेरै वित्तीय संस्था एकीकृत भइसकेका छन् । यसले वित्तीय संस्था पहुँचमा पनि विस्तार गरेको छ ।

खासगरी वित्तीय क्षेत्र र सञ्चार क्षेत्रमा नियमनकारी निकायले काम गरिरहेको छ । वित्तीय क्षेत्र र सञ्चार क्षेत्रलाई सेवामुखी व्यवसायका रुपमा लिइएकाले यो क्षेत्रमा नियामकको स्वीकृतिबिना नयाँ कम्पनीहरु आउने अवस्था रहँदैन । त्यसैले पनि ठूला समूहलाई सेवाक्षेत्रमा नयाँ क्षेत्र पहिचान गर्नुपर्ने अवस्था छ भने उद्योग व्यापारमा भने नियमन नभएकाले सहजै औद्योगिक प्रतिष्ठान खोल्न र व्यापार हात हाल्न सजिलो भएको छ । विगतमा चरम राजनीतिक अस्थिरता र तमाम समस्याका बाबजुद पनि लगानी बढिरह्यो । यस्तो अवस्थामा अब नयाँ ढङ्गले औद्योगिक विकासमा लग्न उद्यमी व्यवसायीको समूहलाई सहज बाटो खुलेको छ । त्यति मात्रै होइन, व्यापक समस्याका रुपमा देखाइएको मजदुर समस्या श्रम ऐन २०७४ पछि सल्टिएको महसुस गरिएको छ । विद्युत् आपूर्तिको समस्या पनि समाधान भएर पूर्णतः लोडसेडिङ अन्त्य भएको छ । भूमिगत गिरोहको चन्दाआतङ्कले पनि निजीक्षेत्रलाई माथि उठ्न नदिएको आरोप यतिबेला मत्थर हुँदै छ । त्यसैले अब थप स्वदेशी तथा विदेशी थप लगानी विस्तार हुने अपेक्षा गर्न सकिन्छ ।

क्यापिटल म्यागजिनबाट