बुधबार विभागमा आयोजित एक कार्यक्रममा वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले साझा परिसरमा ५ देखि सातओटा चार्जिङ स्टेसन बनाउने बताएका हुन् ।
काठमाडाैं । वातावरण विभागले विद्युतीय सवारी चार्जिङ स्टेसन राख्न गृहकार्य थालेको छ । सरकारले ३०० ओटा विद्युतीय बसको योजना ल्याएसँगै विभागले चार्जिङ स्टेसनका लागि ठाउँ तथा स्टेसन राख्ने भएको हो ।
बुधबार विभागमा आयोजित एक कार्यक्रममा वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले साझा परिसरमा ५ देखि सातओटा चार्जिङ स्टेसन बनाउने बताएका हुन् । उनका अनुसार पहिलो चरणमा विभागले ५० लाख रकमबराबरको स्टेसन निर्माणको योजना बनाएको छ । नेपाल विद्युत प्राधिकरणको सहकार्यमा अहिले नेपालमा आएका विभिन्न कम्पनी तथा आउनेलाई पनि मिल्ने स्टेसन निर्माण हुने उनको दाबी छ ।
कार्यक्रममा कायो माटर्स, होन्डा, टाटा, बीओआईडी, सुन्दर यातायात, साझा यातायातका प्रतिनिधिले पनि सबै विद्युतीय कम्पनीलाई मिल्ने तथा सहकार्य गर्ने गरी चार्जिङ स्टेसन निर्माणको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिनिधिले भने बीओआईडी कम्पनीको बसका लागि छुट्टै स्टेसन आवश्यक पर्ने बताएका थिए । उक्त कम्पनीका ब्याट्री र चार्जर फरक रहेकाले यस्तो प्रक्रिया अगाडि बढाउनुपर्नेमा व्यवसायीको जोड थियो ।
सबै कम्पनी तथा उचित स्थानमा बसका लागि चार्जिङ स्टेसन निर्माण आवश्यक रहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । सरकारले पनि विद्युतीय बसलाई प्रोत्साहन गर्दै गएको र सुन्दर यातायातको चार्जिङ स्टेसन निर्माण अन्तिम चरणमा रहेको उनको भनाइ थियो ।
सबै विद्युतीय बस व्यवसायी तथा प्राधिकरणसँग समन्वय गरेर अगाडि बढ्ने महानिर्देशक अधिकारीले प्रतिबद्धता व्यक्त गरे । ‘उपत्यकामा अहिले जग्गा तथा पार्किङको समस्या छ । त्यसैले साझाकै परिसर रोजेका हौं,’ उनले भने । जग्गाको पनि समस्या समाधान हुने उनको भनाइ छ ।
कार्यक्रममा सुन्दर यातायातले चार्जिङ स्टेसनको ढाँचा पनि प्रस्तुत गरेको थियो । डिजिटल उच्च क्षमताको चार्जिङ मेसिन पनि देखाएको थियो ।