रामपुर मेलामा चार करोडको कारोबार

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेलाको बिहीबार सातौँ दिनसम्म आइपुग्दा चार करोड १९ लाख रूपैयाँबराबरको कारोबार भएको आर्थिक प्रतिवेदन उपसमितिका संयोजक सूर्यप्रसाद श्रेष्ठले बताए । 

बेझाड । पाल्पाको रामपुरमा चलेको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा चार करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेलाको बिहीबार सातौँ दिनसम्म आइपुग्दा चार करोड १९ लाख रूपैयाँबराबरको कारोबार भएको आर्थिक प्रतिवेदन उपसमितिका संयोजक सूर्यप्रसाद श्रेष्ठले बताए ।

मेला अवधिभर आठ करोडदेखि दश करोडसम्म कारोबार गर्ने र एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शक भित्र्याउने सङ्घको लक्ष्य छ । मेलामा मगर भेषभूषा, तामाका भाडा, अल्लोबाट उत्पादित झोला, फलामका सामान, कृषिजन्य वस्तु विशेष आकर्षणको रुपमा छन् ।

रामपुरमा पहिलो पटक प्याराग्लाइडिङ उडानसमेत गरिएको छ । दैनिक कलाकारको साङ्गीतिक प्रस्तुतिले महोत्सव प्राङ्गणमा दर्शकको बाक्लो उपस्थिति बढिरहेको छ । पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासीलगायतका विभिन्न जिल्लाका दर्शकले मेला अवलोकन गरिरहेका छन् ।

उद्योण वाणिज्य सङ्घको भवन निर्माण, कालीगण्डकी उपत्यकाको पर्यटन विकास, घरेलु, स्थानीय, कृषिजन्य वस्तुको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको हो । मेलामा व्यापारिक, होटल तथा रेष्टुरेण्ट, अटोमोबाइल्स, फोटो प्रदर्शनी गरी करीब २५० वटा कक्ष छन् । मेला आउँदो माघ ८ गतेसम्म चल्नेछ । रासस