नक्कली मह

राजमार्ग नजिकै घर भाडामा लिएर लामो समयदेखि नक्कली मह बनाउने काममा सक्रिय हुँदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि नक्कली महको व्यापार हुँदै गरेको सार्वजनिक भएको हो । 

नवलपरासी । पश्चिम नवलपरासीमा नक्कली महको उत्पादन गरी सक्कली महसरह मूल्य लिएर व्यापार हुँदैआएको पाइएको छ । राजमार्ग नजिकै घर भाडामा लिएर लामो समयदेखि नक्कली मह बनाउने काममा सक्रिय हुँदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि नक्कली महको व्यापार हुँदै गरेको सार्वजनिक भएको हो ।

बजारमा महको माग उच्च छ । मह बिक्रीका लागि भन्दै सहर बजारदेखि घरघरमा व्यवसायी आउने गर्दछन् । माग उच्च भएपछि व्यवसायीले नक्कली मह बनाएर उपभोक्तालाई बेच्ने गरेको पाइएको छ । नक्कली मह तयार पारेर बेचेको गुनासो आएपछि पश्चिम नवलपरासीको बर्दघाटमा प्रहरी बजार विकास समितिले छापा मारेर नक्कली मह बनाउने समूहलाई नियन्त्रणमा लिएको हो ।

पछिल्लो पटक प्रहरीले नक्कली मह बनाउँदै गरेको सूचनाका आधारमा बर्दघाट बजार विकास समिति, स्थानीय तहका प्रतिनिधि, प्रहरी र सञ्चारकर्मीको एक समूहले १२० लिटर नक्कली मह बरामद गरेको थियो ।

मह बनाउने स्थानमा कुहिएका मौरीका चाका, मरेका मौरी, चिनीका बोरा, फिटकीरी, ड्रममा कुहिएको अवस्थामा मह जस्तै देखिने पदार्थसमेत भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले नक्कली मह बनाउने कार्यमा सङ्लग्न ६ जनालाई नियन्त्रणमा लिएर खाद्य मिसावटअन्तर्गत मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

तिनीहरूले घरभाडामा लिएर मरेका मौरी र कुहिएका मौरीको चाका प्रयोग गरेर गन्ध मात्र महको आउने बनाई अन्य पदार्थ मिसावट गरेर गाउँगाउँमा मह बेच्दै आएका थिए । रासस