वार्षिक ८ हजार टन कफीको माग, उत्पादन ५१३ टन  निर्यातको तुलनामा आयात दोब्बर

साथीभाइ भेटघाट, आतिथ्य सत्कार र आम उपभोक्तामा ‘कफी कल्चर’ बढेसँगै कफीको माग बढ्दै गएको हो । तर, कफीको मागको तुलनामा उत्पादन भने निकै कम हुने गरेको छ । आर्थिक वर्ष २०७४/०७५ कै तथ्याङ्क हेर्दा ५१३ टन कफी उत्पादन भएको देखिन्छ । सोही अवधिमा कफीको निर्यात ८४ टन छ ।

काठमाडाैं । मुलुकभर वार्षिक ८ हजार टन हाराहारी कफीको माग रहेको पाइएको छ । चिया तथा कफी विकास बोर्डका अनुसार स्वदेशी मागको पूर्ति र अन्तर्राष्ट्रिय मार्केटमा निर्यात गर्न उक्त परिमाणमा कफीको माग रहेको छ ।

साथीभाइ भेटघाट, आतिथ्य सत्कार र आम उपभोक्तामा ‘कफी कल्चर’ बढेसँगै कफीको माग बढ्दै गएको हो । तर, कफीको मागको तुलनामा उत्पादन भने निकै कम हुने गरेको छ । आर्थिक वर्ष २०७४/०७५ कै तथ्याङ्क हेर्दा ५१३ टन कफी उत्पादन भएको देखिन्छ । सोही अवधिमा कफीको निर्यात ८४ टन छ । तर, आयात भने निर्यातको तुलनामा दोब्बर देखिन्छ । सो अवधिमा भारत, चीनलगायत अन्य देशबाट १६४ टन कफी आयात भएको छ ।

स्वदेशी र अन्तर्राष्ट्रिय मार्केटमा समेत नेपाली कफीको माग उच्च छ । त्यसका आधारमा स्वदेशमा माग पूर्ति गरी निर्यात गर्न ८ हजार टन कफी उत्पादन हुनुपर्ने चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए । ‘अहिले नै हेर्ने हो भने, स्वदेशी माग र अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग उच्च छ,’ गौतमले भने, ‘त्यस आधारमा वार्षिक झन्डै ८ हजार टन कफीको माग स्वदेशी बजारले नै धान्न सक्छ ।’ कफीको मागअनुसार उत्पादन गर्न नसकिएको उनले बताए ।

बोर्डले गरेको अनुसन्धानमा नेपालमा ८ लाख हेक्टर जमिन कफी खेती गर्न उत्तम देखिए पनि अहिले २६५० हेक्टरमा मात्रै कफी खेती गरिएको छ । अहिले कफी किसानमा परम्परागत पद्धति तथा साना किसान र जमिनको सानो क्षेत्रफलमा मात्रै कफी लगाइँदा अपेक्षित उत्पादन हुन नसकेको गौतमको तर्क छ । सरकारी निकायको बेवास्ता, बसाइसराइ, युवाशक्ति पलायनका कारण पनि कफी खेतीतर्फ आम किसानलाई आकर्षित गर्न नसकिएको बोर्डले जनाएको छ ।

अहिलेकै तथ्याङ्क हेर्दा पनि उत्पादनभन्दा खपत नै बढी देखिन्छ । हाल, उत्पादनको आधारमा स्वदेशमै कफीको खपत ५९२ टन छ । कफी उत्पादनयोग्य क्षेत्रको पहिचान र क्षेत्र विस्तार हुन नसक्दा आम किसानले स–सानो जग्गामा मात्रै उत्पादन गरिरहेका छन् । फलस्वरुप, हरेक वर्ष कफी उत्पादनमा उतारचढाव आउने गर्छ ।

बोर्डको तथ्याङ्कअनुसार, आव २०७१/०७२ मा २३८१ क्षेत्रफलमा ४६३ टन कफी उत्पादन भएको थियो । त्यस्तै आव २०७२/०७३ मा कफी उत्पादनको क्षेत्रफल विस्तार भएको छ । सो समयमा २६१८ हेक्टर जमिनमा कफी उत्पादन भएपनि तुलनात्मक रुपमा आव २०७१/०७२ मा उत्पादन घटेको छ । समीक्षा अवधिमा ४३४ टन कफी उत्पादन भएको थियो । त्यसैगरी आव २०७३/०७४ मा २६४६ हेक्टर क्षेत्रफलमा ४६६ टन कफी उत्पादन भएको थियो ।

नेपाली कफी जर्मन तथा कोरियामा संस्थागत रुपमा निर्यात हुने गर्छ । त्यसबाहेक अमेरिका, क्यानडा र अष्ट्रेलियालगायतका देशमा समेत नेपाली कफी निर्यात हुने गर्छ ।

समुन्द्री सतहदेखि ८०० देखि १६०० मिटरको उचाइमा कफी उत्पादन गर्न सकिन्छ । नेपालको पहाडी र मध्य पहाडी क्षेत्रको समशितोष्ण हावापानीमा कफीको उत्पादन राम्रो हुने गरेको छ ।