हुन्डी कारोबार सहकारीदेखि मनी ट्रान्स्फरसम्म

प्रहरीको तथ्याङ्कअनुसार गएको बैशाखयता ४४ जना हुन्डी कारोबारी पक्राउ परेका छन् । त्यसमा २ जना चिनियाँ र ५ जना भारतीय नागरिक छन् । त्यसमा एकाधबाहेक विभिन्न सहकारी तथा मनी ट्रान्सफरको आवरणमा हुन्डीको कारोबार गर्ने भेटिएका छन् ।

काठमाडौं । अवैध हुन्डीको कारोबार हुने अखडा काठमाडौंपछि भारतसँग सीमा जोडिएका जिल्लाहरु रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हुन्डीको कारोबारलाई प्रहरीले काठमाडौंमा कडाइ गरेपछि कारोबारीले भारतसँग सिमाना जोडिएका जिल्लाहरुमा अखडा बनाउने गरेका हुन् ।

अनुसन्धान अधिकारीका अनुसार केही समयअघिसम्म विभिन्न व्यक्तिहरुले खुलेआम हुन्डी कारोबार गर्दै आएका थिए । प्रहरीले कडाइ गरेपछि कारोबारीले मनी ट्रान्सफर र विभिन्न सहकारी संस्थामार्फत हुन्डीको कारोबार गर्दै आएका छन् ।

प्रहरीको तथ्याङ्कअनुसार गएको बैशाखयता ४४ जना हुन्डी कारोबारी पक्राउ परेका छन् । त्यसमा २ जना चिनियाँ र ५ जना भारतीय नागरिक छन् । त्यसमा एकाधबाहेक विभिन्न सहकारी तथा मनी ट्रान्सफरको आवरणमा हुन्डीको कारोबार गर्ने भेटिएका छन् ।

काठमाडौंलगायत देशभर हुन्डी कारोबार रोक्न प्रहरीले विशेष कदम चालेको प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए । ‘हुन्डी कारोबार रोकथाम गर्न सतर्क छौं, कारबाही पनि भएको छ,’ प्रवक्ता सुवेदीले भने, ‘पक्राउपछि अनुसन्धान गर्ने जिम्मा राजस्व अनुसन्धान विभागको भएका कारण त्यसपछिको प्रगति हामीलाई थाहा हुँदैन ।’

 

मौलायो हुन्डी कारोबार, हुन्डीको अखडा तराईका जिल्ला
१० महिनामा ४४ जना पक्राउ, ६१ करोड रुपैयाँ बरामद

 

२०७५ बैशाख १९ गते प्रहरीले सिराहाको लाहान नगरपालिका १ तरकारी बजारबाट भारतको बिहार राज्य थाना फार्बेसगञ्जका पप्पु यादव र सिराहा भगवानपुर गाउँपालिका ७ का ओमप्रकाश साहलाई अवैध १० लाख भारतीय र ४ लाख ५७ हजार नेपाली रुपैयाँ गरी २० लाख ७४ हजार ६६० रुपैयाँ बरामद गर्यो । तरकारी बजारको आवरणमा पप्पुले लामो समयदेखि हुन्डीको कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुल्यो ।

त्यस्तै २०७५ जेठ २ गते प्रहरीले काठमाडौंको भाटभटेनीबाट १६ लाख ४ हजार ८२० रुपैयाँसहित २ जनालाई पक्राउ गर्यो । मोहम्मद वाहिद हुसेन र जाहिद मियाँ हुसेनले न्यु लिड्स फेन्सी पसल खोलेर हुन्डीको कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी २०७५ जेठ २१ गते प्रहरीले काठमाडौंको न्युरोड क्षेत्रका ७ जना व्यापारीलाई हुन्डीको ५१ लाख ४ हजार ५०० रुपैयाँसहित पक्राउ गर्यो । विभिन्न व्यापारको आवरणमा उनीहरुले हुन्डी कारोबार गर्दै आएको सूचनापछि प्रहरीले नियन्त्रणमा लिएर उनीहरुबाट हुन्डीको रकमसहित पक्राउ गरेको थियो ।

त्यस्तै २०७५ असार १३ गते पर्सा प्रहरीले १ करोड १५ लाख ५ हजार १५० रुपैयाँ हुन्डीको रकमसहित १ जनालाई पक्राउ गर्यो । पर्सा क्षेत्रमा लामो समयदेखि सक्रिय रुपमा हुन्डी कारोबार गर्दै आएको सूचनापछि प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

त्यसैगरी २०७५ साउन ७ गते प्रहरीले काठमाडौंको कुलेश्वरबाट ६३ लाख हुन्डीको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गर्यो । कुलेश्वरमा रहेको नेपाल फलफूल थोक बजारभित्र सटर नै भाडामा लिएर एक भारतीय नागरिकले हुन्डी कारोबार गर्दै आएको सूचनापछि प्रहरीले सटर नं ३२ मा छापा मारेको थियो । प्रहरीले सटरभित्र लुकाएको अवस्थामा २० लाख भारतीय रुपैयाँ र ३१ लाख ८४ हजार नेपाली रुपैयाँ बरामद गरेको थियो ।

त्यसैगरी प्रहरीले ०७५ साउन ७ गते काठमाडौंको इन्द्रचोकबाट ५० लाख ७ हजार ६७५ हुन्डीको रकमसहित कृष्ण अग्रवाललाई पक्राउ गर्यो । अग्रवालले सञ्चालन गरेको मोबाइल पसलबाट हुन्डीको कारोबार हुने गरेको सूचनापछि प्रहरीले सो पसलमा छापामा मारेको थियो । प्रहरीले मोबाइल पसलमा लुकाएर राखेको अवस्थामा उक्त रकम बरामद गरेको थियो ।

 

हुन्डीको कारोबारलाई प्रहरीले काठमाडौंमा कडाइ गरेपछि कारोबारीले भारतसँग सिमाना जोडिएका जिल्लाहरुमा अखडा बनाउने गरेका हुन् ।

 

त्यसैदिन प्रहरीले काठमाडौंको न्युरोडबाट दीपक श्रेष्ठ र पुजन छाला छिमीलाई ९ लाख ९० हजार रुपैयाँ हुन्डीको रकमसहित पक्राउ गरेको थियो । त्यसैगरी सोही दिन प्रहरीले न्युरोड गुच्चाटोलबाट ३ लाख ३१ हजार रुपैयाँसहित सञ्जीव पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डेले लामो समयदेखि ब्राइट इन्टरनेसनल नामक कम्पनी खोलेर सोही कम्पनीको आवरणमा हुन्डीको कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी प्रहरीले ७५ भदौ २९ गते काठमाडौंको ज्याठाबाट हुन्डीको ५० लाख रकमसहित चिनियाँ नागरिक ज्यासाङमु जालाई पक्राउ गर्यो । जाले नेपालमा बसेर चीनमा हुन्डीको रकम पठाउने गरेको सूचनापछि प्रहरीले उनलाई ज्याठास्थित बुद्ध गार्डेन रेष्टुरेन्टबाट पक्राउ गरेको थियो ।

त्यसैगरी प्रहरीले ७५ असोज १५ गते काठमाडौंको नयाँबजारबाट ५ लाख ११ हजार रुपैयाँ हुन्डीको रकमसहित धादिङ नीलकण्ठ नगरपालिका ११ का गोकुल गुरुङलाई पक्राउ गर्यो ।

२०७५ भदौ १७ गते प्रहरीले वीरगञ्जबाट २६ लाख ९८ हजार हुन्डीको रकमसहित ४ जनालाई पक्राउ गर्यो । प्रहरीले हुन्डी कारोबारमा संलग्न वीरगञ्ज महानगरपालिका ८ माईस्थान बिन्दबासिनी गाउँपालिका ५ प्रसौनीका पवनकुमार गुप्ता, भारतको बिहार, पूर्वी चम्पारण मोतिहारी जिल्ला रामगढवा थाना चम्पापुर पञ्चायत मानना टोलका सबिर मियाँ, मोतिहारी जिल्ला थाना रक्सौल ६ का अशोक श्रीवास्तव र वीरगञ्ज महानगरपालिका ५ जेलरोडका अजय मानन्धरलाई पक्राउ गरेको थियो । सोही दिन प्रहरीले बारा सिम्रौनगढका अजय कुमारलाई हुन्डीको २७ लाख ९८ हजार रुपैयाँसहित पक्राउ गर्यो ।

त्यसैगरी २०७५ कात्तिक १६ गते प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका १६ बाट १५ लाख ५१ हजार हुन्डीको रकमसहित पर्सा धोबिनी गाउँपालिका ५ का इमतियाज आलमलाई पक्राउ गर्यो ।

त्यस्तै २०७५ कात्तिक ३० गते प्रहरीले पोखराबाट १ लाख ५० हजार हुन्डीको रकमसहित मनी ट्रान्सफर सञ्चालकलाई नियन्त्रणमा लियो । गुल्मी सत्यवती गाउँपालिका ४ का नेत्रलाल ज्ञवालीले सञ्चालन गरेको पोखरा सभागृहचोकस्थित लुम्बिनी मनी ट्रान्सफरबाट हुन्डीको कारोबार हुने गरेको सूचनापछि प्रहरीले छापा मारेको थियो । प्रहरीले उनीसँगै काम गर्ने पर्वत कुश्मा नगरपालिका १३ का प्रकाश थापालाई पनि पक्राउ गरेको थियो ।

 

हुन्डी कारोबारीले १ लाख रुपैयाँको हुन्डी गरेबापत सेवाग्राहीबाट २ देखि ३ हजार रुपैयाँ लिने गरेका हुन्छन् । पैसा पठाउनु पर्ने व्यक्तिले पैसा बुझाएपछि कारोबारीले कोड नम्बर दिन्छन् ।

 

२०७५ पुस २२ गते १ जनकपुरबाट ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुन्डी कारोबारीलाई प्रहरीले पक्राउ गर्यो । २ नम्बर प्रदेश प्रहरीको टोलीले जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर ११ भानुचोकस्थित किशोरीनगरबाट उक्त रकमसहित भारत बिहार प्रान्तअन्तर्गत मधुवनी बासोपट्टीका सन्तोष महतो, नरेश महतो, जनकपुरधाम उपमहानगरपालिका १९ का विजय यादव र महम्मद मोख्तारलाई पक्राउ गर्यो । लामो समयदेखि उनीहरुले हुन्डीको कारोबार गर्दै गरेको सूचना प्रहरीलाई भएपछि उनीहरुले विभिन्न सहकारी तथा मनी चेन्जरमार्फत कारोबार गर्ने गरेका कारण प्रहरीलाई पक्राउ गर्न अप्ठ्यारो भएको थियो । पक्राउ परेका व्यक्तिबाट प्रहरीले विभिन्न बैङ्कका ३० थान चेक, बैङ्क भौचर र हुन्डी कारोबारका लागि प्रयोग भएका हिसाबकिताबका खातासमेत बरामद गरेको थियो । प्रहरीका अनुसार उनीहरुले विभिन्न सहकारी र बैङ्कमार्फत हुन्डीको कारोबार गर्दै आएका थिए ।

त्यसैगरी गत पुस २९ गते प्रहरीले विराटनगरबाट ६८ लाख रकमसहित सहकारीका ३ जनालाई पक्राउ गर्यो । विराटनगर ७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजेश हेडा, सोही संस्थाका व्यवस्थापक ४१ वर्षीय दीपककुमार कर्ण र कर्मचारी सुमित साहलाई स्रोत नखुलेको ६८ लाख ५७ हजार ६ सय रुपैयाँसहित प्रहरीले पक्राउ गर्यो । उक्त सहकारीबाट हुन्डी कारोबार हुने गरेको सूचनापछि प्रहरीले निगरानी बढायो, सहकारीमार्फत हुन्डीको कारोबार हुने गरेको तथ्य फेलापरेपछि प्रहरीले संस्थाका अध्यक्षसहित कर्मचारीलाई अवैध रकमसहित नियन्त्रणमा लियो ।

पक्राउ परेको समूहले पूर्व क्षेत्रमा ठूलो मात्रामा हुन्डीको कामगर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सहकारीको आडमा उनीहरुले पूर्व क्षेत्रमा हुन्डी कारोबार चलाउँदै आएको प्रहरीले जनाएको छ । प्रहरी तथ्याङ्कअनुसार अवैध हुन्डीको कारोबार वीरगञ्ज विराटनगरलगायत भारतसँग सिमाना जोडिएका जिल्लाहरुमा हुने गरेका छन् ।

अनुसन्धान अधिकारीका अनुसार हुन्डी कारोबारीले १ लाख रुपैयाँको हुन्डी गरेबापत सेवाग्राहीबाट २ देखि ३ हजार रुपैयाँ लिने गरेका हुन्छन् । पैसा पठाउनु पर्ने व्यक्तिले पैसा बुझाएपछि कारोबारीले कोड नम्बर दिन्छन् । उनीहरुले दिने नम्बर पाउने र पठाउने व्यक्तिको मोबाइलमा आउँछ । अर्को देशमा भएको एजेन्टलाई भेटर उक्त कोड देखाएपछि पैसा पाइन्छ । प्रहरीले हुन्डी कारोबारलाई पछिल्लो समयमा कडाइ गरेपछि सूचनालाई गोप्य राख्न ह्वाट्सएप र विच्याट प्रयोग गर्ने गरेको अनुसन्धान अधिकारी बताउँछन् ।