काठमाडौं प्रहरीलाई हटाउदै आयल निगम, नेसनल ट्रेडिङ भवन खाली गर्न ताकेता

हाल प्रहरीले प्रयोग गरिरहेका दुई ओटा भवन नेपाल आयल निगमले किनेको र सो भवनमा आफ्नो कार्यालय सार्ने भन्दै खाली गरिदिन निगमले प्रहरीलाई पत्र काटेको हो । निगमले सोमबारको मिति राखेर परिसर र महाशाखालाई काटेको पत्र मङ्गलबार प्रहरीमा पुगेको छ ।

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखा बसिरहेको भवन खाली गरिदिन नेपाल आयल निगमले पत्राचार गरेको छ ।

२०७२ बैशाख १२ गतेको भूकम्पमा हनुमानढोकास्थित प्रहरीको भवन बस्न नहुने भएपछि महाशाखा र परिसरको कार्यालय टेकुस्थित नेसनल ट्रेडिङको घरमा सारिएको थियो ।

हाल प्रहरीले प्रयोग गरिरहेका दुई ओटा भवन नेपाल आयल निगमले किनेको र सो भवनमा आफ्नो कार्यालय सार्ने भन्दै खाली गरिदिन निगमले प्रहरीलाई पत्र काटेको हो । निगमले सोमबारको मिति राखेर परिसर र महाशाखालाई काटेको पत्र मङ्गलबार प्रहरीमा पुगेको छ ।

भूकम्पले निगमको बबरमलस्थित कार्यालय पनि चर्किएको र सो कार्यालय पुनर्निमार्ण गर्नुपर्ने भएकाले निगमको कार्यालय सर्नुपर्ने भन्दै प्रहरी बसेको घर खाली गर्न निगमले हुलाकमार्फत पत्राचार गरेको हो ।

हाल महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखा रहेको भवन तथा जग्गा नेसनल ट्रेडिङबाट २०७४ असार ११ गते निगमले किनेको पत्रमा उल्लेख गरिएको छ ।

निगमले प्रहरी कार्यालय अन्यत्र सार्न गृहमन्त्रालय र आपूर्ति मन्त्रालयलाई गत कार्तिक ७ गते नै पत्राचार गरेको जानकारीसमेत गराएको छ ।


काठमाडौंका दुई महत्त्वपूर्ण प्रहरी कार्यालयको आफ्नै भवन नहुँुदा त्रिपालमा बस्दै आएको यति धेरै समय भइसक्दा पनि जिम्मेवार निकाएको ध्यान गएको छैन ।