सुन्तला खरीद गर्न व्यवसायी घरघरै

सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उनले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गरे । सोही ठाउँकी कल्पना चापागाईंले पनि १४ रोपनी बारीको सुन्तला प्रतिकिलो ८० रूपैयाँका दरले पुनलाई नै बिक्री गरिन् । विगतका वर्षमा पुसको तेस्रो सातासम्म सुन्तला बिक्री गरिसक्ने यहाँका किसानले यसपटक माघसम्म बोटमै राखेका छन् । 

पर्वत । बोटमा सुन्तला पहेँलिन सुरु गरेदेखि यो साता करिब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका–२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् ।

सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उनले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गरे । सोही ठाउँकी कल्पना चापागाईंले पनि १४ रोपनी बारीको सुन्तला प्रतिकिलो ८० रूपैयाँका दरले पुनलाई नै बिक्री गरिन् । विगतका वर्षमा पुसको तेस्रो सातासम्म सुन्तला बिक्री गरिसक्ने यहाँका किसानले यसपटक माघसम्म बोटमै राखेका छन् ।

ढिलासम्म बोटमा राख्दा व्यवसायी घरघरै आउने र मूल्य बढी पाइने भएपछि यहाँका सबैजसो किसानले यसपटक अलि ढिला गरेर बेचेका हुन् । “पहिला–पहिला छिट्टै बेचिन्थ्यो, राम्रो भाउ पाउँदैन थियाैं”, कल्पना चापागाईंले भनिन्, “माघसम्म राखे राम्रो भाउ पाइन्छ भनेपछि त्यसै गरियो । अहिले सबैले राम्रो भाउ पायौँ ।” गत वर्ष ५० देखि ६० रूपैयाँ प्रतिकिलोमा बिक्री गरेका यहाँका अधिकांश किसानले यसपटक ८० देखि १०० रूपैयाँमा बिक्री भइरहेको बताए ।

बितेका वर्ष मङ्सिर अन्तिम सातादेखि बिक्री सुरु भएर पुसको पहिलो सातासम्म सबैका बोट निख्रिन्थ्यो । सुरु सिजनमै बेच्दा राम्रो भाउ नपाएपछि सबैको सल्लाहमा यो वर्ष एक महिनापछिसम्म सुन्तला बोटमै राखेको अगुवा किसान दातारामले बताए । बोटमा ढिलासम्म राख्दा आगामी सिजनलाई असर पर्ने भन्दै छिट्टै टिप्ने गरेकोमा यो वर्ष प्राविधिककै सल्लाहमा एक महिना ढिलासम्म राखेको किसानले बताएका छन् ।

“अरू धेरैतिर फागुनसम्म पनि बोटमै राख्दारहेछन्”, किसान बाबुराम शर्माले भने, “हामीले पनि प्राविधिकसँग सल्लाह गरेरै अहिले ढिलासम्म राखेका हौँ ।” मङ्सिरमै बिक्री गर्दा गत वर्ष ६० रूपैयाँमा बिक्री गरेका किसान यो वर्ष प्रतिकिलो २० देखि ४० रूपैयाँ बढी पारेकोमा सन्तुष्ट छन् ।

अझ गाउँमै शीतभण्डार भइदिए यहाँको सुन्तला फागुनपछि मात्रै बजार पठाउन सकिने अर्का किसान भूमिराज शर्मा बताउँछन । “घरेलु प्रविधिकै भए पनि चिस्यानकेन्द्र भए एक महिना ढिला निकाल्न सकिन्थ्यो”, उनले भने, “त्यस्तो व्यवस्था एक्लैले गर्न सकिँदैन, सम्बन्धित निकायले ध्यान दिए हुन्थ्यो ।” उचित स्याहार, पारिलो जग्गा र उत्तरपूर्वी मोहडामा फैलिएको हुनाले देउपुरमा सुन्तला राम्रो उत्पादन हुँदै आएको छ ।

पातलो र झाङ्गिएका बोट भएकाले यहाँ थोरै बोट हुनेले पनि राम्रो आम्दानी गर्छन् । “एउटै सुन्तालाको बोटबाट २२ हजार पारेँ”, दातारामले भने, “फल पातलो भए पनि भाउ राम्रो पाएकाले पोहोरभन्दा राम्रै पैसा हात पर्यो ।” देउपुरका करिब पाँच दर्जन किसानले मुख्य बालीका रूपमा सुन्तलानै लगाएका छन् । उत्तरपूर्वी मोहडामा ९०० देखि एक हजार ५०० मिटर उचाइमा फैलिएको यहाँको जमीन सुन्तला खेतीका लागि उपयुक्त छ ।

करिब डेढ दशकदेखि सुन्तलाको व्यावसायिक उत्पादन सुरु गरेका उनीहरूले गाउँमै सडक पुगेपछि बल्ल उचित मूल्य पाउन थालेका हुन् । पातीचौरदेखि मैदानसम्म सडक खुलेयता घरघरै व्यवसायी पुगेर सुन्तला खरीद गर्न थालेका हुन् । चालू वर्ष नै मैदानसम्मको सडक कालोपत्रेको काम सकिने भएकाले किसान थप उत्साहित छन् ।

सडक कालोपत्रे भएपछि सुन्तलाको क्षेत्र विस्तार गर्ने योजना रहेको मोदी–२ का वडाध्यक्ष विकास तिमिल्सिनाले बताए । सुन्तलाखेती विस्तार र बिक्रीमा सहजताका लागि देउपुरका पाँच दर्जन किसानले माछापुच्छ्रे« सुन्तला उत्पादक कृषि सहकारीसमेत स्थापना गरेका छन् । अहिले सहकारीमा सदस्यको सङ्ख्या ७२ पुगेको छ । –लक्ष्मीप्रसाद सापकोटा/रासस