उद्योग सञ्चालन नहुँदा किसानको उखु बारीमा सुक्दै

नवलपरासीका उद्योगहरुले अघिल्लो वर्षको बक्यौता पाँच करोड रुपैयाँ उखु किसानलाई भुक्तानी गरेका छैनन् भने अर्कोतिर उद्योग बन्द गरेर उखु किसानलाई बिचल्लीमा पारेका छन् । खासगरी ठूला उद्योगहरु– इन्दिरा, लुम्बिनी र बागमती चिनी उद्योग सञ्चालनमा नआउँदा किसानको उखु क्रसिङ हुन नसकेको हो ।

काठमाडौं । मुलुकभरका केही चिनी उद्योग अझै पनि सञ्चालनमा आउन नसक्दा किसानको उखु बारीमा सुक्दै जान थालेको छ । उखु क्रसिङको सिजन सुरु भएपनि चिनी उद्योग सञ्चालनमा नआएकाले किसानको उखु बारीमै सुक्ने स्थितिमा पुगेको हो । खासगरी नवलपरासी कुनै पनि चिनी उद्योग सञ्चालनमा आउन सकेका छैनन् । जसका कारण उखु किसान मर्कामा परेका हुन् ।

नवलपरासीका उद्योगहरुले अघिल्लो वर्षको बक्यौता पाँच करोड रुपैयाँ उखु किसानलाई भुक्तानी गरेका छैनन् भने अर्कोतिर उद्योग बन्द गरेर उखु किसानलाई बिचल्लीमा पारेका छन् । खासगरी ठूला उद्योगहरु– इन्दिरा, लुम्बिनी र बागमती चिनी उद्योग सञ्चालनमा नआउँदा किसानको उखु क्रसिङ हुन नसकेको हो ।

त्यसैगरी, सर्लाही, बारा, रौतहटलगायत जिल्लाका उखु किसानहरुको समस्या पनि उस्तै छ । उखु क्रसिङ गर्नुपर्ने बेलामा केही उद्योग सञ्चालनमा आउन सकेका छैनन् । अर्कोतिर, सञ्चालनमा आएका उद्योगहरुले पनि उखु किसानसँग ‘बार्गेनिङ’ गर्ने तथा मूल्य नघटाए खरिद नगर्ने मनसाय देखाएको उखु किसान सङ्घका अध्यक्ष कपिलमुनी मैनालीले क्यापिटल नेपाललाई जानकारी दिए । उनले अन्नपूर्ण चिनी मिलले विगतमा किसानको भुक्तानी नगरेका कारण अझै पनि सञ्चालनमा आउन सकेको छैन ।

‘अन्नपूर्ण चिनी मिलले गत वर्षको बक्यौतासमेत दिएको छैन्,’ मैनालीले भने, ‘त्यसकारण अन्नपूर्ण बन्द छ भने अन्य सञ्चालनमा आएका उद्योगहरु मूल्य घटाउने र बार्गेनिङ गरेर किसानलाई मर्कामा पार्ने गर्छन् ।’ उनले पुस २५ गते सरकारसँग भएको सम्झौता पालना नभए किसान सडकमा उत्रिएर विरोध गर्ने जनाए । ‘पुस २५ गते सरकारसँग किसानले अनुदान पाउनु प¥यो, उद्योगीले भुक्तानी गर्नुपर्यो र छिटोभन्दा छिटो उद्योग सञ्चालन हुनुप¥यो भनेर माग गरे । उद्योगी, सरकार र उखु किसानबीच सहमतिसमेत भयो,’ मैनालीले भने, ‘तर, अहिलेसम्म कुनै माग पूरा भएका छैनन् । केही समयभित्र माग पूरा नभए हामी सडक आन्दोलन गर्न बाध्य हुनेछौं ।’

सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५३६ निर्धारण गरे पनि चिनीको मूल्यवृद्धि नभएसम्म सरकारले निर्धारण गरेबमोजिम उखुको मूल्य किसानलाई दिन नसक्ने उद्योग सञ्चालकको भनाइ छ ।