इसेवामार्फत कारोवार गर्नेको सङ्ख्या ७५ लाख

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज तथा बसको टिकट, स्कूल कलेजको शुल्कलगायत दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ ।

काठमाडौ । इन्टरनेट सेवा (इसेवा) बाट आर्थिक कारोवार गर्नेको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै आएको छ । नेपालमा पहिलोपटक इसेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित इसेवा प्रालि,का अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् । कम्पनीका अध्यक्ष विश्वास ढकालले इसेवाको देशभर ४५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको बताए । इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको सङ्ख्या करीब १० लाख पुगेको छ ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज तथा बसको टिकट, स्कूल कलेजको शुल्कलगायत दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४९ बैंक तथा वित्तीय संस्था सदस्य छन् । बैंकबाट इसेवामा सहजै रकम पठाउन तथा इसेवाबाट बैंक खातामा रकम जम्मा गर्न सकिन्छ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक उक्त प्रालि दशौँ वर्षमा प्रवेश गरेको छ । प्रालिले सन् २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरु गरेको थियो ।

इसेवा हाल मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने यो सेवाले एक दशकको अवधिमा ठूलो फड्को मारेको इसेवा सूचना तथा सञ्चार शाखाका प्रतिनिधि माधव पाण्डेले जानकारी दिए । रासस
–––