माघ ११ देखि क्यान इन्फोटेक मेला

विश्वका अन्य मुलुकसँग सूचना तथा सञ्चार प्रविधिको अनुभव साटासाट गरी नेपालमा पनि प्रविधि तथा पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिइएको छ ।

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान इन्फोटेक–२०१८ को प्रविधि मेलाको तयारीका बारेमा जानकारी दिन कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

माघ १६ गतेसम्म सञ्चालन हुने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर सोलुसन्सजस्ता कक्ष रहने बताइएको छ ।

मुख्य प्रदर्शन कक्षमा ४९ वटा ठूला र हल बाहिर पाँचवटा ब्राण्डिङ प्रदर्शनी कक्ष, ओपन स्पेश १४ तथा फुड कक्ष १० तथा अन्य गरी कूल २२२ कक्ष रहने जानकारी दिइयो ।

मेलामा सनराइज बैंकले टिकट लिई प्रवेश गर्ने दर्शक तथा क्रेतालाई ४०० प्रतिशतसम्म क्यास ब्याक अफर प्रदान गर्ने भएको छ । सरकारी विद्यालयबाट मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीको नामावली उपलब्ध गराएमा उनीहरुलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिए ।

महासंघका महासचिव रञ्जीतकुमार पोदारले मेलाका लागि छुट्टै प्याभिलियन कक्ष राखेको, सफ्टवेर प्याभिलियनका लागि ४४ वटा कक्षलाई विशेष सहुलियतमा उपलब्ध गराइएको बताए । सुविसुका अध्यक्ष सुधीर पराजुलीले आगामी दिनमा देशका सातवटा प्रदेशमध्ये चारवटा प्रदेशमा यस्ता मेला आयोजना गरिने जानकारी पनि दिए ।

उनले सूचना र सञ्चार प्रविधिलाई पूर्वाधारका रुपमा विकास गर्न अन्य मुलुकसँग अनुभव साटासाट गर्नुपर्ने पनि बताए ।