उद्योग वाणिज्य महासंघमा आर्थिक अनियमितता विवाद चुलियो, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले दिए राजीनामा

कृषि उद्यम केन्द्रमा भएको अनियमितता सार्वजनिक गरेको आरोप लागेपछि प्रधानले राजीनामा गरेका हुन् ।कृषि उद्यम केन्द्रमा भएको अनियमितताको विषयलाई लिएर महासंघ भित्र तिब्र विवाद उत्पन्न भएको थियो ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषध्यक्ष पदबाट व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले पदबाट राजिनामा दिएका छन् । कृषि उद्यम केन्द्रमा भएको अनियमितता सार्वजनिक गरेको आरोप लागेपछि प्रधानले राजीनामा गरेका हुन् ।

कृषि उद्यम केन्द्रमा भएको अनियमितताको विषयलाई लिएर महासंघ भित्र तिब्र विवाद उत्पन्न भएको थियो । कोषाध्यक्ष प्रधानले राजीनामा जानकारी दिए । क्यापिटल नेपालसंग कुरा गर्दै प्रधानले अनियमितता ढाकछोप भएको दावी गरे । प्रधानले कोषाध्यक्षबाट राजीनामा गरेपछि महासंघमा तिब्र ध्रुविकरण भएको छ ।

महासंघमा आर्थिक अनियमिता भएको कुरा सतहमा आएपछि महासंघकी अध्यक्ष भवानी राणाले ढाकछोप गर्दै आएको आरोप प्रधानले लगाएका छन् । उनले कृषि उद्यम केन्द्रमा नक्कली बिल बनाएर पैसा लिनेलगायत अन्य विकृतिको अन्त्य गर्नुृको साटो ढाकछोप गरेको उनले आरोप लगाए ।

नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको कृषि उद्यम केन्द्रमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महासङ्घलाई छानबिनको दायरामा ल्याएको छ ।

महासङ्घअन्तर्गतको कृषि उद्यम केन्द्रको करोडौं रकम अनियमितता भएको अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारले एक हप्ताभित्र जवाफ दिन महासङ्घका पदाधिकारीलाई लिखित पत्र काटेको हो । महासङ्घका पदाधिकारीले केही दिनअघि अख्तियारलाई जवाफ समेत पठाइसकेका छन् ।

जिल्लामा रकम नै नपठाई पठाएको भनेर झुटो विल बनाएको, कृषि उद्यम केन्द्रको रकमबाट विभिन्न जिल्ला भ्रमण गरेको उजुरीपछि अख्तियारले छानविन अघि बढाएको हो ।

‘कृषि उद्यम केन्द्रको पैसाले हेलिकोप्टर चढेको खर्चसमेत ब्यहोरेको पाइएको छ,’ अख्तियार स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘सत्यतथ्य के हो भने पत्र काटेका थियौं, त्यसको जवाफ आइसकेको छ । उक्त जवाफमाथि अध्ययन भइरहेको छ ।’ कृषि विकास मन्त्रायलमार्फत गएको रकम व्यापक अनियमितता भएको हुन सक्ने अख्तियारले जनाएको छ ।