पोलिमर नोट घोटाला प्रकरणका मुख्य आरोपी ८ लाख धरौटीमा छुटे

सोमबार विशेष अदालतमा हाजिर भएका पाँडे ८ लाख धरौटी बुझाएर रिहा भएको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए ।

काठमाडौं । पोलिमर नोट घोटाला प्रकरणका मुख्य आरोपी हिमालयबहादुर पाँडे ८ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

सोमबार विशेष अदालतमा हाजिर भएका पाँडे ८ लाख धरौटी बुझाएर रिहा भएको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस ५ गते पाँडेसहित तत्कालीन गभर्नर तिलक रावल, राष्ट्र बैङ्कका नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट पाँडेलाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो ।

आयोगले ९१ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो ।

२०५९ सालमा नेपाल राष्ट्र बैङ्कले अस्ट्रेलियाबाट १० रुपैयाँका ५ करोड थान पोलिमर नोट छपाइ गरेको थियो । सो नोट छाप्दा अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक चलखेल गरी गुणस्तरहीन नोट छपाइ गरेकोे भन्दै उजुरी परेपछि आयोगले छानबिन थालेको थियो ।

तत्कालीन गभर्नर रावल यसअघि १० लाख धरौटीमा छुटिसकेका छन् ।