माघमा रोप्नुपर्ने स्याउका बिरुवा इटालीबाट आउनै असार लाग्ने

सरकारले तोकेको ऐन र प्रक्रियामा जानुपर्दा पनि स्याउका बिरुवा खरिदमा ढिलाइ भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

काठमाडौं । सरकारले स्याउको आयात घटाउँदै छिटो र धेरै उत्पादन दिने इटालियन स्याउका बिरुवा ल्याउने भने पनि अहिलेसम्म ल्याउन सकेको छैन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत इटालीबाट स्याउका बिरुवा ल्याउन बजेट छुट्याइए पनि स्याउ खरिद प्रक्रियामा ढिलाइ भएको हो ।

बिरुवा रोप्न माघ र फागुन उत्तम सिजन भए पनि खरिद प्रक्रिया ढिलाइका कारण स्याउका बिरुवा आउनै असार लाग्ने देखिएको छ । सरकारले तोकेको ऐन र प्रक्रियामा जानुपर्दा पनि स्याउका बिरुवा खरिदमा ढिलाइ भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ‘नेपाल सरकारको खरिद ऐन र प्रक्रियामा जानुपर्दा केही ढिला भएको हो,’ उनले भने, ‘डेढ/दुई हप्ताभित्र कम्पनी छनौट गरिसक्छौं । त्यसपछि छनौट भएको कम्पनीले १२० दिनमा स्याउका बिरुवा ल्याएर किसानलाई वितरण गरिसक्नुपर्छ ।’

उनले अहिलेकै प्रक्रियाअनुसार इटालीबाट स्याउका विरुवा जेठ÷असारसम्म आइपुग्ने बताए । स्याउ खरिद गर्न यसअघि नै ग्लोबल टेन्डर गरिसकिएको छ । विदेशी कम्पनीहरुले बजेट थोरै भएको, योजना र भौगोलिक अवस्था राम्रो नभएको भन्दै टेन्डर भर्न चासो नदेखाएको पौडेलले बताए ।

बोलपत्रमा ४ ओटा नेपाली कम्पनीले मात्र टेन्डर भरेका थिए । नेपाल थोका क्षेत्री, एग्रो मनाङ, ल्याबलाइन टे«डर्स र लाइफलाइनले टेन्डर भरेका हुन् । ती कम्पनीहरुको मूल्याङ्कनबाट आर्थिक र प्राविधिक पक्ष राम्रो भएको कम्पनी छनौट गरिन्छ । मूल्याङ्कनका लागि लामो समय खर्चिएकाले पनि स्याउका विरुवा खरिदमा ढिलाइ भएको हो । पहिलो चरणमा, ९० हजार बिरुवा ल्याइने आयोजना निर्देशक पौडेलले बताए । माघ र फागुनमै स्याउका बिरुवा लगाउने उत्तम सिजन भए पनि अन्य समयमा पनि लगाउन सकिने पौडेलले बताए । उनले अन्य महिनामा बिरुवा रोप्दा उत्पादन केही घट्ने तर अरु कुनै क्षति नहुने बताए ।

यसप्रकार, राम्रो उत्पादन देखेर खरिद गर्न लागिएका स्याउका बिरुवाबाट उत्पादन घट्ने हो भने सरकारको लगानी बालुवामा पानीसरह हुने देखिन्छ । प्रक्रिया छोट्याएर समयमै बिरुवा नल्याउँदा उत्पादन क्षतिको जिम्मेवार को हुने ? प्रश्न उब्जिएको छ ।

नेपालमा बर्सेनी सात अर्ब रुपैयाँभन्दा बढीको स्याउ आयात हुन्छ । आयात प्रतिस्थापन गरी स्याउमा आत्मनिर्भर बनाउने सरकारी लक्ष्य छ । त्यसका लागि चालू आर्थिक वर्ष २०७५/०७६ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बिरुवा खरिदका लागि १० करोड रुपैयाँ विनियोजन भएको छ ।

खरिद प्रक्रियाअनुसार अघि बढ्दा केही समय लम्बिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । उनले माघ फागुनमै स्याउका बिरुवा ल्याउने भनेपनि केही समय लम्बिन गएको बताए ।

इटालीबाट ल्याइएका स्याउका बिरुवा मुस्ताङ र जुम्लासहित स्याउको जोन र सुपरजोन क्षेत्रमा लगाउन त्यहाँका किसानलाई वितरण गरिने छ । आयात गरिएका यी बिरुवामा ७० प्रतिशत अनुदान र ३० प्रतिशत किसानले भुक्तानी गर्नुपर्छ ।