२ करोड २३ लाख लगानीमा जुम्लामा अक्सिजन उत्पादन, बिरामीलाई बाहिर पठाउनु नपर्ने

प्रतिष्ठानले पहिलोपटक आफ्नै प्लान्टबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन सुरु गरेसँगै यसको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको हो । प्रतिष्ठानले पछिल्लो समय चिकित्सा शिक्षा र सेवाका लागि जुम्लामा गरेको कामलाई अति महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

काठमाडौ । जुम्लामा पहिलो पटक अक्सिजन उत्पादन सुरु भएको छ । २ करोड २३ लाख रुपैयाँको लागतमा अक्सिजन उत्पादन सुरु भएको हो । अक्सिजनको उत्पादन सुरु भएसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अस्पतालबाट सुर्खेत, नेपालगञ्ज/काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ ।

प्रतिष्ठानले पहिलोपटक आफ्नै प्लान्टबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन सुरु गरेसँगै यसको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको हो । प्रतिष्ठानले पछिल्लो समय चिकित्सा शिक्षा र सेवाका लागि जुम्लामा गरेको कामलाई अति महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

कर्णाली प्रदेशमा नै गत वर्षदेखि सुर्खेत क्षेत्रीय अस्पतालले अक्सिजन उत्पादन गर्न थालेको थियो । दम, फोक्सो, छाती तथा शल्यक्रियाका बिरामीका लागि अक्सिजन अति आवश्यक हुन्छ ।

यसअघि प्रतिष्ठानले रक्त सञ्चार सेवा केन्द्र, आधुनिक चिकित्सा विज्ञानलाई आवश्यक पर्ने सबै प्रयोगशाला तथा सघन उपचार कक्ष सञ्चालनमा ल्याइसकेको छ । अति आवश्यक पर्ने सिटीस्क्यान उपकरण जडान अन्तिम चरणमा रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले करिब २ करोड २३ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्टका उपकरण स्थापना गरी गत आइतबारदेखि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन सुरु गरेको जानकारी दिए ।

उनले भने ‘अब जुम्ला अस्पतालले अक्सिजनको अभावमा सुर्खेत, नेपालगञ्ज/काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।’ ३०० शैय्याको प्रतिष्ठानअन्तर्गतको जुम्ला अस्पताललाई आवश्यक पर्ने र माग भइ आएमा थप अक्सिजन उत्पादन गर्न सक्ने क्षमता प्लान्टको छ । अहिले अस्पतालमा दैनिक १०/१२ सिलिण्डर अक्सिजन खपत हुन्छ ।

एक सिलिण्डरमा १२० लिटर अक्सिजन हुन्छ । ‘हाम्रो प्लान्टको उत्पादन क्षमता ८० सिलिण्डरसम्म छ ’ प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले भने। विशेषगरी चिसोको समयमा अक्सिजनको अत्यधिक खपत अस्पतालमा हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययनका अनुसार सबैभन्दा फोक्सो, छाती तथा दमका रोगी कर्णाली प्रदेशमा थुप्रै छन् ।

नेपालगञ्जबाट अक्सिजन ढुवानी गर्दा यसअघि प्रतिष्ठानले धेरै दुःख र सास्ती ब्योहोर्नुपरेको थियो । अस्पतालमा अक्सिजनको अभावमा शल्यक्रियासमेत रोक्नुपथ्र्योे । अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यता पनि थियो ।

प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सिधै श्ययासम्म पुर्याउने व्यवस्था अस्पताले मिलाएको छ । कर्णाली प्रदेशमा सम्भवत यस किसिमको प्रबन्ध पहिलोपटक गरिएको हो । प्रतिष्ठान चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तथा एमजिडिपी तहका कक्षा सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । जुम्ला अस्पताललाई कर्णाली प्रदेशकै केन्द्रीय विशेषज्ञ अस्पतालमा रुपान्तरणसमेत गरिँदैछ ।

प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्ले चिकित्सा शिक्षा र सेवाका लागि भौतिक पूर्वाधार, उपकरण तथा जनशक्ति तीनै क्षेत्रमा प्रतिष्ठान बनाउनेतर्फ बढिरहेको बताए । ‘अस्पतालमा विशेष गरी चिसोबाट उत्पन्न हुने छातीरोग, दमरोग, फोक्सोका रोगी धेरै सेवा लिन आउने गर्दछन् । आफ्नै प्लान्टबाट अक्सिजन उत्पादनले ती बिरामी तथा शल्यक्रिया गरेका बिरामीलाई ठूलो सहयोग पुग्छ ’ उनले भने ।