अधिकांश जलविद्युत् कम्पनीको सेयर मूल्य १०० रुपैयाँ भन्दा तल, कसको कति (सुचिसहित)

प्रतिकित्ता १०० रुपैयाँमा खरीद गरेको सेयर अहिले १०० भन्दा तल पुगेको छ । कुनै समय धेरै नाफा हुने भन्दै सेयर लगानीकर्ताको आकर्षणको केन्द्रमा रहेको जलविद्युत् कम्पनी पछिल्लो दिनमा आकर्षणमा समेत पर्न छाडेको छ ।

काठमाडौ । सेयर बजार निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार भएको कारोबारलाई मूल्याङ्कन गर्दा कूल ११ जलविद्युत् कम्पनीका सेयर आधार मूल्यभन्दा तल रहेका छन् । प्रतिकित्ता १०० रुपैयाँमा खरीद गरेको सेयर अहिले १०० भन्दा तल पुगेको छ । कुनै समय धेरै नाफा हुने भन्दै सेयर लगानीकर्ताको आकर्षणको केन्द्रमा रहेको जलविद्युत् कम्पनी पछिल्लो दिनमा आकर्षणमा समेत पर्न छाडेको छ ।

बजारमा समेत सेयर घट्ने उपसमूहमध्ये कमजोर अवस्थामा समेत सोही उपसमूह परेको छ । नेप्सेमा पछिल्लोपटक माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको सेयर सूचीकृत भएर कारोबार शुरु भएपछि २४ कम्पनी सूचीकृत छन् । ती कम्पनीमध्ये एकाधको मात्रै प्रतिकित्ता २०० रुपैयाँ भन्दामाथि छ । नेप्सेको कारोबारका आधारमा हेर्दा आँखु खोला जलविद्युत् कम्पनी लिमिटेडको सयर प्रतिकित्ता ८५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै वरुण हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर प्रतिकित्ता १०३ मा खरीद बिक्री भएको छ । त्यस्तै अवस्थामा अरुण भ्याली हाइड्रो पावर कम्पनी पनि रहेको छ । सो कम्पनीको सेयर प्रतिकित्ता १०४ रुपैयाँमा खरीद बिक्री भएको छ । बिहीबारको कारोबारको आधारमा छ्याङ्दी हाइड्रो पावर कम्पनीको सेयर आधरभूत मूल्यभन्दा तल घटेर ९८ रुपैयाँमा झरेको छ ।

यस्तै दिव्येश्वरी हाइड्रो पावर कम्पनीको ९८ रुपैयाँमा कारोबार भएको छ भने कालिका पावर कम्पनीको पनि ९५ रुपैयाँमा कारोबार भएको छ । आधारभूत मूल्यभन्दा तल रहेका जलविद्युत् कम्पनीमा खानीखोला हाइड्रो पावर कम्पनी पनि रहेको छ । सो कम्पनीको सेयर प्रतिकित्ता ९४ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै लगातार ओरालो लागेका नेशनल हाइड्रो पावर कम्पनीको ६७ रुपैयाँमा कारोबार भएको छ । रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको ९९ मा कारोबार हुँदा रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको लगानीकर्ताले पनि आफूले खरीद गरेको प्रति सेयर ४ रुपैयाँ घाटा लागेको छ । सो कम्पनीको ९६ रुपैयाँमा खरीद बिक्री भएको छ ।

यस्तै सिनर्जी पावर डेभलपमेन्टका सेयरधनीलेसमेत प्रतिकित्ता ५ रुपैयाँले गुमाएका छन् । सो कम्पनीको ९५ रुपैयाँमा कारोबार भएको छ । कुनै समय आकर्षक कम्पनीका रुपमा रहेको अपि पावर कम्पनी सेयरसमेत निरन्तर ओरालो लागेर प्रतिकित्ता १४१ रुपैयाँमा सीमित भएको छ ।

बजार घट्दा अरुण काबेली पावर कम्पनीको १८७ मा कारोबार भएको छ । ५०१ रुपैयाँमा थप सार्वजनिक निष्काशन (एफपीओ) गरेको बुटवल पावर कम्पनीको सेयरसमेत बिहीबार ३६० रुपैयाँमा खरीद बिक्री भएको छ ।

नेपालको धितोपत्र बजारमा कुनै समय सबैभन्दा बढी आकर्षक कम्पनीका रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीसमेत बजार घट्दा मर्कामा परेको छ । सो कम्पनीको सेयर ५२४ रुपैयाँमा खरीद बिक्री भएको छ । लगातार बजार घट्दा त्यसको सबैभन्दा बढी मारमा लगानीकर्ता परेका छन् ।

हिमालयन पावर पार्टनर लिमिटेड १८७, जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी २२०, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड १३३, ङादी ग्रुप पावर लिमिटेड १२८, पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड १०७, राधी विद्युत् कम्पनी १६४, सानिमा माई हाइड्रो पावर कम्पनीको २२९, युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडको ११६ रुपैयाँमा कारोबार भएको छ ।

उत्कृष्ट दशमा परेको माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको सेयरसमेत ओरालो लागेर प्रतिकित्ता २५८ रुपैयाँमा कारोबार भएको छ । सेयर सङ्ख्यामा आधारमा बढी सेयर भएको सो कम्पनीको सेयरसमेत एकाध साता बढे पनि पछिल्ला दिनमा क्रमशः घट्दै गएको छ ।

धितोपत्र बजारको विश्लेषक प्रकाश तिवारी राम्रो प्रतिफल दिन नसक्ने जलविद्युत् कम्पनीको सेयर घट्नुलाई स्वभाविक घटनाका रुपमा टिप्पणी गर्नुहुन्छ । लागत बढी भएका, प्रतिफल दिन नसक्ने कम्पनीप्रति क्रमशः लगानीकर्ता समेत नकारात्मक बन्दै गएको उल्लेख गर्दै उनले नाफा हुन्छ भनेर लगानी गरेका लगानीकर्ता भने समस्यामा परेको उनको भनाइ छ ।

चिलिमे, बुटवल पावर कम्पनी जस्ता एकाध कम्पनीले मात्रै सेयर लगानीकर्तालाई प्रतिफल दिने गरेका छन् । तर अधिकांश कम्पनीले लगानीकर्तालाई कुनै नाफा दिन नसकेको, बजारसमेत ओरालो लाग्दा त्यसबाट लगानीकर्ता प्रभावित भएको तिवारीको भनाइ छ । रासस