पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो, १५ दिनमा ११६ करोड नाफा हुने

निगमले शनिबार राती १२ बजे पछि लागु हुने गरी पेट्रोलको प्रतिलिटर १ सय १० , डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम गरिएको जनाएको छ ।

काठमाडौ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिलेजलमा २ रुपैयाँ मूल्य बढाएको छ । निगमले शनिबार राती १२ बजेपछि लागू हुने गरी पेट्रोलको प्रतिलिटर ११० , डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम गरिएको जनाएको छ ।

ईण्डियन आयल कर्पोरेशन (आईओसी) लिमिटेडबाट साविकको १६ जनवरी २०१९ को मूल्यमा प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ २५ पैसा, डिजेलमा ४ रुपैयाँ २८ पैसा प्रतिलिटर बढेर आएको कारण मूल्य बढाएको निगमका प्रवत्ता वीरेन्द्र गोइतले बताए ।

आईओसीले पदार्थको मूल्य १६ जनवरीबाटै बढाएर पठाएको भएपनि जनहितलाई ध्यानमा राखी हालसम्म मूल्य समायोजन नगरेको उनले जानकारी गराए ।

नयाँ प्राप्त मूल्य बमोजिम खाना पकाउने एलपी ग्यासमा निगमलाई अझै प्रति सिलिण्डर ३२ रुपैया ६८ पैसा घाटा रहेको जनाएको छ । यसरी मूल्य समायोजन गरे पश्चात पनि निगमलाई समग्रमा पाक्षिक करिब १ अर्ब १६ करोड नाफा भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।ग्यास तथा हवाई ईन्धनको मूल्य यथावत छ ।

आइओसीले शुक्रबार १५ दिनअघिको मूल्यमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २५ पैसा र डिजेलमा ४ रुपैयाँ २८ पैसा बढाएर नयाँ निगमलाई मूल्यसूची पठाएको थियो । सोही आधारमा निगमले नेपालमा पनि इन्धनको मूल्यवृद्धि गरेको हो ।

निगमले १५र१५ दिनमा मूल्य समायोजन गर्ने गरेपनि सर्वसाधारण उपभोक्ताको हित तथा देशको आर्थिक वृद्धिलाई ध्यानमा राखी अघिल्लो पटक इन्धनको मूल्यवृद्धि गरेको थिएन । विगतमा करीब डेढ महीनाजति अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले पेट्रोलियम खरीद मूल्यमा कमी आउँदा विगतको महीनामा भएका नोक्सानी केही हदसम्म पूर्ति भएको निगमका प्रवक्ता गोइतले जानकारी दिए । यद्यपि, यही माघ २ गते प्राप्त मूल्यअनुसार समेत निगमको १ अर्ब ६ करोड सञ्चित नोक्सानी अझै पूर्ति हुन बाँकी रहेको उनले बताए ।