अरुण तेस्रो जलविद्युतमा स्टेट बैङ्क अफ इन्डियाले ८० अर्ब लगानी गर्दै, प्रसारणलाइनको लाइसेन्स जारी हुनासाथ ऋण सम्झौता हुने

आयोजनाको विद्युतगृह सङ्खुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म २६८ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन निर्माण अनुमतिपत्र (लाइसेन्स) पाउनेबित्तिकै ऋण सम्झौता हुने एसजेबीएनले जनाएको छ । हालसम्म आयोजनाको १५ प्रतिशत काम सकिएको छ ।

काठमाडौं । भारतको  एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बनाउन लागेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्टेट बैङ्क अफ इन्डिया (एसबीआई) ले करिब ८० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

अरुण तेस्रोमा ऋण लगानी गर्ने विषयमा बैङ्क र प्रवर्द्धक एसजेबीएनबीच सहमति भइसकेको छ । अब औपचारिक रुपमा सम्झौता हुन बाँकी छ । आयोजनाको विद्युतगृह सङ्खुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म २६८ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन निर्माण अनुमतिपत्र (लाइसेन्स) पाउनेबित्तिकै ऋण सम्झौता हुने एसजेबीएनले जनाएको छ ।

हालसम्म आयोजनाको १५ प्रतिशत काम सकिएको छ ।वर्षअघि लगानी बोर्ड र एसजेवीएनबीच भएको आयोजना विकास सम्झौता (पीटीए) मा विद्युत उत्पादन र प्रसारणलाइन निर्माणको लाइसेन्स पाएपछि मात्र लगानी सम्झौता हुने व्यवस्था रहेको छ ।

केही साताअघि पोखरामा भएको नेपाल र भारतका संयुक्त ऊर्जा सचिवस्तरीय बैठकमा प्रसारणलाइन बनाउन १५ दिनभित्र लाइसेन्स दिने सहमति भएको छ । सोही सहमतिअनुसार प्रसारणलाइनको लाइसेन्स दिने काम अन्तिम चरणमा पुगेको जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयका प्रवक्ता तथा सहसचिव प्रवीणराज अर्यालले बताए । केही दिनभित्रै प्रसारणलाइनको लाइसेन्स दिने उनले जानकारी दिए ।४

विद्युत् उत्पादन संरचना बनाउन स्टेट बैङ्कले ऋण लगानी गर्ने छ । प्रसारणलाइन बनाउन पञ्जाब नेसनल बैङ्कसँग ऋण सम्झौता भइसकेको छ । पञ्जाबको मुख्य लगानी रहेको एभरेष्ट बैङ्कले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात् २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । यो प्रसारणलाइनका लागि पञ्जाब नेसनल बैङ्कसँग पनि ८ अर्ब रुपैयाँ अर्थात् ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ ।

नेपाली बैङ्कबाट थप ४ अर्ब रुपैयाँ ब्रिजलोन लिने तयारी भएको छ । नेपाल एसबीआई बैङ्क र नबिल बैङ्कसँग छलफल भइरहेको एसजेबीएन स्रोतले बतायो । आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत् उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेबीएनले स्वपुँजीबापत् २५ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात् सन् २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम सुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम हुनेछ ।

लगानी बोर्डले एसजेबीएनलाई विद्युत् उत्पादन अनुमतिपत्र लाइसेन्स दिइसकेको छ । प्रसारणलाइनको लाइसेन्समा भएको ढिलाइले बैङ्कसँग ऋण सम्झौतामा लम्बिएको हो । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।

आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ ।आयोजना सङ्खुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युतगृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युतगृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।

आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश (जेपी) एसोसिएट्स लिमिटेडले पाएको छ । उसले काम सुरु गरिसकेको छ । प्याकेज १ अन्तर्गत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ ।

प्याकेज २ अन्तर्गत विद्युतगृह निर्माणका लागि भारतको पटेल इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । उसले पनि १८ अर्ब रुपैयाँमा दोस्रो प्याकेजको ठेक्का पाएको हो । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण गर्नेछ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो ।