सर्वोत्तम सिमेन्टले मासिक २० करोड राजस्व तिर्ने

यसअघि मासिक करीब आठ करोड राजस्व तिर्दै आएको उद्योगले क्षमता विस्तारसँगै अब मासिक करीब रु २० करोड तिर्ने योजना रहेको उद्योग सञ्चालन एवं सौरभ गु्रपका अगुवा शशि न्यौपानेले जानकारी दिए ।

नवलपरासी : पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिक रूपमा करीब २० करोड राजस्व तिर्ने योजना बनाएको छ ।

यसअघि मासिक करीब आठ करोड राजस्व तिर्दै आएको उद्योगले क्षमता विस्तारसँगै अब मासिक करीब रु २० करोड तिर्ने योजना रहेको उद्योग सञ्चालन एवं सौरभ गु्रपका अगुवा शशि न्यौपानेले जानकारी दिए ।

नेपालमा सिमेन्ट उत्पादन गर्ने उद्योगमध्ये दोस्रो ठूलो सिमेन्ट उद्योगका रूपमा दाबी गरिएको यस उद्योगले आफ्नो क्षमता विस्तार गरेको जनाएको छ । क्षमता विस्तारसँगै अब उद्योगले प्रतिदिन एक लाख २० हजार बोरा सिमेन्ट र १२ लाख मेट्रिकटन क्लिङ्कर उत्पादन गर्नेछ । यसअघि उद्योगले प्रतिदिन ६० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

करीब ३० बिघा क्षेत्रफलमा फैलिएको उद्योगले हालसम्म जग्गा खरीददेखि उद्योगको प्रविधि विस्तार र भौतिक पूर्वाधारसम्म करीब रु १२ अर्ब बराबरको लगानी भएको उद्योगले बताएको छ । उद्योगले करीब रु १५ अर्ब बराबरको सिमेन्ट बिक्री वितरण गर्ने योजना बनाएको छ ।

उद्योगमा लिफ्टसहित प्रयोगशाला एक्स रे एनलाइजर प्रविधि रहेको छ । सेन्टर कन्ट्रोलअन्तर्गत कम्प्युटर प्रविधिमार्फत अटोमेटिक (पूर्णस्वचालित) रहेको उद्योगले गुणस्तरमा एकरुपता कायम राखेको उद्योगको जिकिर छ । चुन ढुङ्गा, रातो माटो उद्योगको आन्तरिक कच्चा पदार्थ हो । दैनिक करीब पाँच मेगावाट विद्युत् आफ्नै उद्योगबाट उत्पादन गर्दै आएको छ ।

युरोप भिआरएम प्रविधिमार्फत सिमेन्ट उत्पादन हुँदै आएको यस उद्योगले आइएसआइ नाइन ००१ र ४२०१ लगायतका प्रमाणपत्र प्राप्त गरिसकेको उद्योगका प्रबन्धक नेत्र घिमिरेले जानकारी दिए । रासस