काठमाडौ । ५ वर्षको अवधिमा नेपाल टेलिकमको प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशसम्म टेलिकमको ईपीएस ११९ रुपैयाँ ७५ पैसा पुगेको छ । आर्थिक वर्ष ०७१/०७२ मा ईपीएस ९७ रुपैयाँ थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशको वित्तीय विवरण आउन बाँकी छ ।
नाफा बढ्दै गएपछि ईपीएस पनि बढ्दै गएको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । आव ०७१/०७२ मा टेलिकमले १४ अर्ब ५५ करोड रुपैयाँ खुदनाफा गरेको थियो । गत आवमा बढाएर कम्पनीले १७ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा टेलिकमले ४ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा टेलिकले ४ अर्ब रुपैयाँ खुदनाफा गरेको थियो ।
गत आर्थिक वर्षमा गरेको नाफाबाट टेलिकमले सेयधनीलाई प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभाँश दिएको छ । साधारणसभाले लाभांश पारित गरिसकेको छ । गत वर्षको सोही अवधिका टेलिकमका सेयरधनीले प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश पाएका थिए ।
टेलिकमले गत वर्ष अग्रीम आयकर, मूल्य अभिवृद्धि कर, दुरसञ्चार सेवा शुल्क, स्वामित्व शुल्क, भन्सार शुल्क, रोयल्टी आरटीडीएस, फ्रिक्वेन्सी दस्तुर, लाभांश र सम्पत्ति तथा सवारी कर गरी राज्यलाई २६ अर्ब ६५ करोड रुपैयाँ बुझाएको छ । टेलिकममा ५ प्रतिशत सेयर कर्मचारी र ३.५ प्रतिशत सेयर सर्वसाधारणको छ । ९१.५ प्रतिशत स्वामित्व सरकारको छ ।