राष्ट्र बैङ्कले सञ्चालन स्वीकृति दिएको जानकारी प्राप्त भएको बैङ्कको सञ्चालक विनोद आत्रेयले क्यापिटल नेपाललाई बताए । बैङ्कबाट स्वीकृतिपत्र पाएपछि सञ्चालनमा आउने उनले जानकारी दिए ।
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले नेपाल पूर्वाधार बैङ्कलाई सञ्चालन अनुमति दिएको छ । केन्द्रीय बैङ्कको हालै बसेको सञ्चालक समिति बैठकले पूर्वाधार बैङ्कलाई सञ्चालन स्वीकृति दिएको हो । आवश्यक भौतिक पूर्वाधारको काम सकेपछि बैङ्कले सञ्चालन अनुमतिका लागि केन्द्रीय बैङ्कमा आवेदन दिएको थियो ।
राष्ट्र बैङ्कले सञ्चालन स्वीकृति दिएको जानकारी प्राप्त भएको बैङ्कको सञ्चालक विनोद आत्रेयले क्यापिटल नेपाललाई बताए । बैङ्कबाट स्वीकृतिपत्र पाएपछि सञ्चालनमा आउने उनले जानकारी दिए ।
जलविद्युत, सडक, उद्योगलगायत ठुला पूर्वाधारमा लगानी गर्न स्थापना भएको बैङ्कमा सरकारको १० र निजीक्षेत्रको ९० प्रतिशत स्वामित्व छ । बैङ्कमा सरकारका तर्फबाट १० प्रतिशत, संस्थापकका तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताका तर्फबाट ४० प्रतिशत सेयर छ ।
बैङ्क सञ्चालनका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल ज्ञवाली नियुक्त भइसकेका छन् । यस्तै डेपुटी सीईओमा भूपेन्द्र पाण्डेलाई नियुक्त गरिएको छ । कर्मचारी नियुक्तिको काम पनि सम्पन्न गरेको बैङ्कले जनाएको छ । बैङ्कको चुत्तापुँजी २० अर्ब रुपैयाँ छ । ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँबराबरको सर्वसाधारणलाई सेयर निष्कासन गर्ने योजना बैङ्कको छ । १२ अर्ब रुपैयाँ संस्थापक लगानीकर्ताको स्वामित्व रहनेछ । बैङ्कमा आईएमई ग्रुपका अतिरिक्त अन्य व्यावसायिक प्रतिष्ठानको लगानी छ ।
पूर्वाधार बैङ्कले वाणिज्य बैङ्कको जस्तो सर्वसाधारणबाट निक्षेप परिचालन गर्न पाउँदैन । उसले कर्मचारी सञ्चय कोष, बिमा कम्पनी, नागरिक लगानी कोषको बचत रकमका अतिरिक्त इक्विटी फन्ड विदेशबाट लगानी ल्याउने, ऋणपत्र जारी गरे ठूला पूर्वाधारमा लगानी गर्नेछ ।
राष्ट्र बैङ्कको स्वीकृति लिई पूर्वाधार विकाससम्बन्धी परियोजनामा लगानी गर्न आवश्यक पुँजी रकम जुटाउन विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने तथा लिजिङ कारोबार गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेन्चर जारी गरी स्रोत परिचालन गर्ने, विदेशी बैङ्क तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्नेछ ।