एक बर्षभित्र ५० करोड लगानीका आधा दर्जन डेरी उद्योग

विगतमा किसानले उत्पादन गरेका दुधले बजार नपाउँदा ‘मिल्क हलिडे’ मनाउनुपर्ने बाध्यताका माझ अब खुल्ने डेरी उद्योगले दुधको माग बढाउने देखिएको हो ।

काठमाडौं । मुलुक दुधमा आत्मनिर्भर उन्मुख भएका बेला स्वदेशमै आगामी एक बर्षभित्र ५० करोड रुपैयाँ लगानीका आधा दर्जन डेरी उद्योग खुल्ने भएका छन् । विगतमा किसानले उत्पादन गरेका दुधले बजार नपाउँदा ‘मिल्क हलिडे’ मनाउनुपर्ने बाध्यताका माझ अब खुल्ने डेरी उद्योगले दुधको माग बढाउने देखिएको हो ।

पछिल्लो समय दुध उत्पादन र उद्योग सञ्चालनका लागि निजी लगानी बढ्दो देखिएको छ । फलस्वरुप, नयाँ डेरी उद्योगमा लगानी र भएका स—साना दुग्ध सहकारी संस्थाहरु एकआपस मर्ज भइ उद्योगका रुपमा स्थापना हुन थालेका हुन् ।

आगामी २/३ महिनाभित्र कर्णाली प्रदेशमै पहिलोपटक ठ्रूलो डेरी उद्योग खुल्ने तयारीमा छ । १० करोड रुपैयाँ लगानीमा सुर्खेत डेरी उद्योग सञ्चालनको तयारीमा छ । उक्त डेरी उद्योग सञ्चालनमा आएपछि दैनिक २० हजार लिटर खपत गरी विभिन्न दुग्धजन्य वस्तु उत्पादन हुनेछन्।

त्यस्तै, काभ्रेमा २२ करोड रुपैयाँ लगानीमा शुभारम्भ डेरी उद्योग आगामी ५/६ महिनामा आउने तयारीमा छ । दैनिक ४० हजार लिटर दुध खपत गर्ने उक्त डेरी उद्योगले काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा दुधको आपूर्ति गर्नेछ । काभ्रेमै ५ करोड रुपैयाँ लगानीमा हिमालयन डेरी एण्ड एग्रोभेट सेन्टर एक बर्षभित्रै खुल्ने तयारीमा रहेको नेपाल डेरी एसोसियसनले जनाएको छ ।

एक बर्षभित्र नै विराटनगर सुर्योदय डेरी उद्योग खुल्ने तयारीमा छ । करिव ५ करोड रुपैयाँको लगानी रहने उक्त उद्योगले १० हजार लिटर दुध दैनिक रुपमा खपत गर्नेछ । रुपन्देहीमा पनि सालझन्डी डेरी उद्योग खुल्दैछ । २ करोड रुपैयाँ लगानी रहने उक्त उद्योगले ५ हजार लिटर दुध खपत गर्नेछ । उक्त उद्योग पनि एक बर्षभित्रै सञ्चालनमा आउने तयारी रहेको एशोसियसनले जनाएको छ ।

नयाँ डेरी उद्योग खुल्ने क्रममा विभिन्न साना÷ठूला दुग्ध सहकारी तथा डेरी पसलहरु पनि एक आपसमा मर्ज भएर आउने थालेका छन् । जसकाकारण, ठूलो लगानी र परिमाणमा डेरी उद्योगका रुपमा विकास हुँदै गएको देखिन्छ ।

अहिले मुलुकभरका झन्डै दुई दर्जनभन्दा बढि साना/ठूला दुग्ध सहकारी तथा घरेलु डेरी पसल एक आपसमा मर्ज भएर बृह्त उद्योगका रुपमा स्तरोन्नती भएका छन् ।  नेपाल डेरी एशोसिएनका महासचिव प्रल्हाद दाहालले बताए ।

दुग्धजन्य वस्तुको उत्पादन बढाउन र समग्र डेरी उद्योगका विकासका लागि सहुलियत दिइ स—साना छरिएर रहेका दुध पसल तथा डेरीलाई एकआपस मर्जको प्रक्रियालाई अघि बढाउनुपर्ने नेपाल डेरी एशोसिएनका महासचिव प्रल्हाद दाहालले बताए । त्यसो हुन सकेमा मात्रै स्वदेशी डेरी उद्योगले विदेशी डेरी उद्योगका उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिने उनको धारणा छ ।

सरकारले स्वदेशी दुग्धजन्य उत्पादनलाई व्यवसायिकरण गर्नुपर्ने केन्द्रिय दुग्ध उत्पादक सहकारीका अध्यक्ष नारायणप्रसाद देवकोटाको भनाइ छ । उनले स्वदेशी डेरी उद्योगको विकासका लागि विदेशी दुग्धजन्य पदार्थको आयातमा रोक लगाउनुपर्ने बताए ।

गुणस्तरयुक्त रुपमा दुध संकलन, ढुवानी, लागत मुल्य कम गर्न सकेमा मात्र स्वदेशी डेरी उद्योग सफल हुने उनको भनाई छ । सरकारले पनि डेरी उद्योगलाई सहुलियत दिनुपर्ने व्यवसायीको माग छ ।

सरकारले उच्च प्रविधिको प्रयोग गर्न सक्ने गरी ‘मर्जर पोलिसी’ ल्याउनुपर्ने उपभोक्ता अधिकार मन्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । ‘डेरी उद्योगमा मर्जर पोलिसी आवश्यक छ’ उनले भने, ‘उच्च प्रविधिको प्रयोग गर्दै दुधको गुणस्तर कायम हुने वातावरण सरकारले नै बनाउनुपर्छ ।’

स्वदेशी डेरी तथा दुग्धजन्य उद्योग प्रतिष्पर्धी बनाउन विदेशी दुग्धजन्य आयातमा प्रतिवन्ध गर्ने नीति लिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । उनले स्वदेशी डेरी उद्योगको विकासमा सरकारले नीजि कम्पनीसँग सहकार्य गरेको बताए ।

सरकार स्वामित्वको दुग्ध विकास संस्थानका अतिरिक्त चितवन मिल्क लिमिटेड, हिमालयन डेरी, सुजल्क डेरीलगायत दुई दर्जन बढी डेरी उद्योग सञ्चालनमा छन् ।

                                                                                                      स्राेतः नेपाल डेरी एशाेसियसन